☰ open Loading... 19 April 2024|  

नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयमा तालावन्दी
  | १३ बैशाख २०७४, बुधबार १९:२२

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका नेतृत्वपंक्तीले उम्मेदवार छनौटमा एकलौटी र मानोमानी गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालावन्दी गरेका छन् ।  स्थानीय तह निर्वाचनको लागि वीरेन्द्रनगरको वडा नम्बर १, ५ र ६ मा उम्मेदवार छनौटमा आफूखुसी व्यक्तिगत रुपमा पार्टी पदाधिकारीले टिकट दिएपछि असन्तुष्ट पक्षले कार्यालयमा तालावन्दी गरेका हुन् ।

वीरेन्द्रनगरको वडा नम्बर ६ को वडा अध्यक्षमा उपेन्द्र खड्काको नाम वडा कार्य समितिबाट सिफारिस गरिएको थियो । तर नेपाली कांग्रेसको बुधवार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले अध्यक्षमा मोति कंडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि आपत्ती जनाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

वडा कार्यसमितिका बहुसंख्यक कार्यकर्ताले उपेन्द्र खड्कालाई सिफारिस गरेकोमा पार्टीले मनोमानी गरेकाले तालावन्दी गर्न बाध्य भएका नेपाली कांग्रेसका सक्रिय सदस्य तुलसी दास श्रेष्ठले जानकारी दिए । ‘जवसम्म पार्टीका जिम्मेवार व्यक्तिले व्यक्तिगत स्वार्थ त्याग्दैनन् तवसम्म ताला खुल्दैन्’ श्रेष्ठले भने,–‘उम्मेदवार छनौट गर्दा वडाको सिफारिसलाई लत्याएर अगाडी बढ्दा आफूहरु चरणवद्ध आन्दोलन गर्न बाँध्य भएका हौं ।’

वीरेन्द्रनगर वडा नम्बर ५ का काँग्रेस कार्यकर्ताले क्षेत्रीय समन्वय समितिको वैठकले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले वडा नम्बर ५ को अध्यक्षमा लक्ष्मीबहादुर शाही, चन्द्रलाल सापकोटा, ललित भट्टराई र लिलाराम सुवेदीको नाम सिफारिस गरेको थियो । क्षेत्रीय समन्वय समितिले सदस्यमा सिफारिस भएका राजबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्नु आपत्तीजनक भएको वडा नम्बर ५ का अध्यक्षका आकाँक्षी ललित भट्टराई बताए ।

उनले वडा कार्यसमितिले गरेको निर्णय उल्टाएर सदस्यमा सिफारिस भएका व्यक्तिलाई ल्याउनु पार्टी साझा नभएर व्यक्तिगत स्वार्थ हावी भएको पनि टिप्पणि गरे । गुरुङ नेपाली कांग्रेसको क्षेत्र नम्बर २ का क्षेत्रीय कार्यसमितिका सचिव हुन् । यता, वीरेन्द्रनगरको वडा नम्बर १ बाट वडा अध्यक्षमा हरि विष्टको नाम सिफारिस भएको थियो ।

तर क्षेत्रीय समन्वय समितिले नवल गिरीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । लेकवेशी नगरपालिकाको मयेरमा उमेश पौडेल र उपमेयरमा लिलमित विक सिफारिस भएकोमा पनि आपत्ती जनाइएको छ । टोपबहादुर टंग्लामीलाई मेयर पदको उम्मेदवारमा उठाउने निर्णय गरेकोमा पार्टीले मनोमानी गरेको असन्तुष्ट पक्षको भनाई छ ।

गाउँ तहका जनताले चाहेको लोकप्रिय नेतालाई उम्मेदवार बनाउनुको सट्टा पार्टी पदाधिकारीहरुमा नातावाद, कृपावाद हावी भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गर्न बाध्य भएको असन्तुष्ट पक्षको धारणा छ । तत्काल पदाधिकारीहरुले निर्णय नसच्चाए आफूहरु थप कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।