☰ open Loading... 14 April 2021|   बिहिबार, बैशाख २, २०७८

सुर्खेतमा दुई हजार ५६ जनाको उम्मेदवारी दर्ता
  |

सुर्खेत । स्थानीय तह निर्वाचनको लागि सुर्खेतमा उम्मेदवारी दर्ता भएको अन्तिम विवरण आएको छ । पहिलो चरणमा हुने लागेको स्थानीय तह निर्वाचन अन्तरगत सुर्खेतका ९ वटै स्थानीय तहहरुमा दुई हजार ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । यो मध्य वीरेन्द्रनगर नगरपालिकामा भने तीन जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको पुष्टि जिल्ला निर्वाचन कार्यालयले गरेको छ ।

तर ८ वटा स्थानीय तहहरुमा कति जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरे भन्ने विवरण आई नसकेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत सुनिता थापाले जानकारी दिईन् । गुर्भाकोट नगरपालिकामा समेत २ जनाले स्वतन्त्र उम्मेदवारी दिएको खवर आएपनि पुष्टी नभएको थापाको भनाई छ ।

वीरेन्द्रनगरको मेयर पदमा तीन जनाको स्वतन्त्र उम्मेदवारीसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट गेहेन्द्रप्रसाद दाहाल, खडानन्द लामिछाने र मिलन थापामगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिए ।

वीरेन्द्रनगरको उप–मेयरमा दलको तर्फबाट १० जना, स्वतन्त्रमा भोजप्रसाद चपाईँको उम्मेदवारी दर्ता भएको छ । यस्तै, वडा अध्यक्षमा ९३, स्वतन्त्र ३, खुला सदस्य १४५, स्वतन्त्र १, महिला सदस्यमा ७६ र दलित सदस्यमा ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपलिकामा २३० र पूर्वी क्षेत्रको भेरीगंगामा २५६ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौकुने र भेरीगंगामा कुन पदमा कतिको उम्मेदवारी प¥यो भन्ने अन्तिम विवरण नआएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै, गुर्भाकोट नगरपालिकामा मेयरमा ६, उप–मेयरमा ४, वडा अध्यक्षमा ५१, सदस्यतर्फ महिलामा ५०, दलित महिलामा ४५ र खुला सदस्यमा ९५ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

पञ्चपुरी नगरपालिकाको मेयरमा १३, उप–मेयरमा ९, वडा अध्यक्षमा ५८, महिला सदस्यमा ४६, दलित महिला सदस्यमा ३९ र खुला सदस्यमा ९४ गरी २५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सिम्ता गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ५, वडा अध्यक्षमा २९, महिला सदस्यमा २५, दलित सदस्यमा २५ र खुला सदस्यमा ५१ जना गरी १४० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

तर चिंगाड गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १८ र खुला सदस्यमा ३८ गरी १०३ जनाको उम्मेदवारी परेको छ । यता, लेकवेशी नगरपालिकाको मेयरमा ६, उपमेयरमा ६, वडा अध्यक्षमा ४१, महिला सदस्यमा ३९, दलित महिला सदस्यमा ३५ र खुला सदस्यमा ७२ जनागरी १९९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

बराहताल गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४७, महिला सदस्यमा ४०, दलित महिला सदस्यमा ३४ र खुला सदस्यमा ७५ जना गरेर २१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजूरी दिने कार्यतालिका रहेको थियो । जिल्ला भर कुनै पनि उम्मेदवार माथि उजूरी नपरेको निर्वाचन कार्यालयले जानकारी दियो । निर्वाचन अधिकृतले मंगलवार नै मनोनयन पत्र जाँच गरेका छन् ।

बिहिबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने कार्यतालिका छ । उम्मेदवारहको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान भोली गर्ने निर्वाचन कार्यतालिका छ ।

जिल्लाका १३८ ठाउँमा मतदान स्थल र २४० मतदान केन्द्र छन् । ८९ हजार २६८ जना महिला र ९५ हजार १३१ जना पुरुषगरी जिल्लामा कुल १ लाख ८४ हजार ३९९ मतदाता ३१ गते हुने मतदानमा सहभागी हुँदैछन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४     10:19:55 PM