☰ open Loading... 14 April 2021|   बुधबार, बैशाख १, २०७८

नारायण नगरपालिकाको विकासका लागि के भन्छन उम्मेदवारहरु ?
  |

मणिराम रेग्मी मेयर नारायण नगरपालिका दैलेख नेपाली काँग्रेस

पार्टीले उम्मेदवारी बनाएपछि नगरपालिकाको ब्यवस्थापन राम्रो गर्न, समृद्ध नगरपालिका बनाउनका लागि योजना सहित उम्मेदवारी दिएको हुँ । आफुले स्वास्थ, छिटो सरल प्रशासन र भ्रष्टाचारमुक्त र गुणस्तरिय विकासका लागि मेरो मेयरमा उम्मेदवारी हो । अस्पताल ५० शौयाको बनाउने, रिङ रोड बनाउने, नगरलाई पर्यटन हव बनाउने, जनताको माग अनुसार नै विकास गर्ने प्रमुख योजनाहरु रहेका छन् । पार्टीकै माहोल राम्रो छ । अनि मेरा योजना पनि राम्रो छ । सवै मतदाताहरुले मलाई राम्ररी चिन्नु भएको मेरो दुख बेदना आत्मसाथ गर्दै सद्भाव राख्नुभएकाले जित्नको लागि सहज भएको हो । पार्टीका सवै नेताहरु एकजुट हुनु नै मेरो जितको अर्को आधार हो । नगरको नगरपालिका बनाउने अठोर गरेको छु  ।

बासना थापा उपमयेर नारायण नगरपालिका दैलेख नेपाली काँग्रेस

यूवाहरुको प्रतिनिधित्व, महिलाका सवालमा काम गरेर देखाउन र उनीहरुको नेतृत्व विकास गर्न, नगर नगर बनाउन ब्यवस्थापनमा आर्मुल परिवर्तन ल्याउन र धुवा धुलो र सफा चिटिक्क नगरका लागि मैले उम्मेदवारी दिएकी हँु ।
सवै तह समुदायमा विकासको अनुभुती गराउने, आफुले पाएको पारिश्रमिकबाट ११ वटै वडामा दुई जनाका दरले २२ जनालाई सहज पढ्न छात्रवृती दिने, अस्पताललाई स्तरउन्नती गरि ५० शैयाको बनाउने पर्यटन प्रर्वधनमा जोड दिदै भौतिकपूर्वाधार सम्पन्न गराउने मुख्य उद्देश्य रहेको छ । नगरपालिकामा १४ वर्षदेखी निरन्तर सामाजिक काम गरेकाले सवैको माया, आर्शिवाद नै जित हो । यहाँ गरेको मेरो सेवा नै प्रतिफल हुनेछ ।

रत्नबहादुर खड्का
मेयर
नारायण नगरपालिका दैलेख
नेकपा एमाले

आर्थिक क्रान्तिमा रुपान्तरण र समृद्धि नगरका लागि मैले उम्मेदवारी दिएको हुँ । जिते लगत्तै परिवर्तनमुखी परिणम सहित र समृद्ध नगर बनाउँने छु । एमालेले केन्द्र, जिल्ला र आफुहरुले घोषणामा उल्लेख भएका योजनालाई प्राथमिकता दिएर योजना बनाउँने छु । आफुले नगरको विकास लागि पर्यटकिय क्षेत्रको विकास गरि पर्यटक भित्राउने, सवै वडा छुने गरि रिङ रोड बनाउने, जुम्ला जाने सडक जोड्ने प्रमुख योजना छन् । एमालेले निति तथा कार्यक्रमहरु, बजेट जनतामुखी ल्याएका कारण जनताहरु आकर्षित भएका छन् । २०६४ मा उपमेयर जितेर विकास गतिविधिहरु गरेकाले जनताले यसपालि विश्वास गर्नेछन् । जनताको समर्थन नै मेरो जित हो ।

सावित्री मल्ल
उपमेयर
नारायण नगरपालिका दैलेख
नेकपा एमाले

नगरपालिकालाई विकासयुक्त र सफल नगरपालिका बनाउनका लागि मैले उम्मेदवारी दिएकी छु । महिलाको हकहित, जनतालाई सेवा सुविधा दिनका लागि काम गर्न सक्ने भनेर पार्टीले मुल्याकन गरेर पठाएको हो । म सधै जनताकै लागि काम गरिरहने छु । विकास निर्माणमा सवै वडा पत्ती, सडक, खानेपानी लगायत समस्याहरु समाधान गर्ने छु । पिछडिएका वर्गको लागि आवाज उठाउनेछु । सार्वजनिक शौचालयदेखी भुमीहिनहरुलाई लालपुर्जा उपलब्ध गराउनेछु । २०५४ मा जिविस सदस्य, २०५४ मै वडा सदस्य भएर काम गरेले धेरै जनताहरुको माया गर्ने भएकाले जित सुनुश्चित छ ।

सुर्य महतारा मेयर नारायण नगरपालिका दैलेख नेकपा माओवादी केन्द्र

गणतन्त्रको रक्षा, संघियताको रक्षा, जनयुद्धको उपलब्धीको रक्षाको लागि आफुले उम्मेदवारी दिएको हुँ । छरिएर रहेका बस्ती एकिकृत रुपमा विकास गर्ने, जनताको चाहना र आवश्यकता अनुसार दिगो विकासमा जोड दिनेछु । रोजगारी मुलक विकासलाई पहिलो प्राथमिकता र विदेशमा भएको श्रमलाई विस्थापित गरि नगरमै गराउनेछु ।
गणतन्त्र, संघियता धर्म निरपेक्षता, समावेशी र समानुपतिक ब्यवस्था पार्टीको उपलब्धी भएकाले जित्ने आधार हो । जनयुद्धमा जनतासंग घुलमिल र उनीहरुसंगको हातेमालो अर्को जितको आधार हो ।

रत्नाकुमारी रेग्मी उपमेयर नारायण नगरपालिका दैलेख नेकपा माओवादी केन्द्र

१० वर्षको जनयुद्धमा श्रीमान गुमाएको, आफु जेल बसेको राजनितिमा सवै गुमाएकाले ब्यवस्था परिवर्तनका लागि आफुले उम्मेदवारी दिएको हुँ । मैले महिलाको अधिकार हितका लागि काम गर्नेछु । आफु पनि द्धन्द्धमा राज्यबाट पिडित हुन पुगेर निकै पिडा पाएकाले मेरो पिडा नै मतदाताहरुले मत हाल्ने आधार हो । सामान्य परिवारबाट म उपमेयरजस्तो पदका लागि उम्मेदा्वार हुनु सवै महिलाहरुको प्रतिनिधित्व भएकाले जित सुनुश्चित हो ।

गंगाराम बस्नेत मेयर नारायण नगरपालिका दैलेख राप्रपा

राज संस्था, हिन्दुधर्म, शुशासनका लागि मेरो उम्मेदवारी हो । सवै जनताले पार्टीको एजेण्डाबारे बुझेका छन् । राप्रपाले नगरमा गरेको विकास सवैका सामुन्ने छ । नगरलाई हरावरा, पर्यटकिय नगर बनाउने, रिग रोड लगायतका योजना छ । भष्ट्रचारमुक्त नगरको परिकल्पना, राजसंस्था र हिन्दु राष्ट्रका लागि सवैले भोट हाल्छन् यहि नै जित्ने आधार हो ।

कृष्णा कुमारी सिंह उपमयेर नारायण नगरपालिका दैलेख राप्रपा

पार्टीको निर्णय, सरल स्वभाव, हिन्दु राष्ट्रको माग, राजतन्त्र सहितको प्रजान्तन्त्र र विकासका लागि मेरो उम्मेदवारी हो । विकासमा महिला सहभागी, गरिवीको रेखामुनी रहेका समुदाय, महिला, बेसहारा तथा एकल महिलालाई विकासको मुलधारमा ल्याउने मुख्य योजना रहेको छ । जनताको चाहनाअनुसार पार्टीको योजना रहेकाले जितको आधार हो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     11:02:49 AM