सुर्खेत जिल्ला कांग्रेस र एमालेको बरावरी पकड भएको जिल्ला रुपमा चिनिदै आएको छ । ०४८ सालको प्रतिनीधि सभाको निर्वाचनमा दुवै क्षेत्र कांग्रेसले जितेको थियो । ०५२ मा तीन क्षेत्र बनेको सुर्खेतमा दुई क्षेत्र कांग्रेस र एक क्षेत्रमा एमाले विजयी बन्यो । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा प्रचण्ड बहूमतसहित विजयी एमाले ०५६ सालको संसदीय निर्वाचनमा पार्टी विभाजनको चपेटामा पर्दै तिनवटै क्षेत्र गुमाउन पुग्यो । एकबाट पूर्णबहादुर खड्का, दुईबाट हृदयराम थानी र तीनबाट शिवराज जोशीले बाजी मारे । त्यसपछि ०६४ को पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेस एक क्षेत्रमै खुम्चियो भने २ मा एमाले र तीनमा नेकपा माओवादी विजयी बन्यो ।
०७० सालको संविधान सभाको निर्वाचन पनि एमालेका लागि सुखद् रहेन् । तीनवटै क्षेत्र गुमाएको एमाले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ९ तह मध्य तीनमा बहूमतसहित विजयी भयो । तर राजनैतिक महत्व राख्ने वीरेन्द्रनगर नगरपालिकामा उप–मेयरसहित बहूमतले विजयी बन्यो । तापनि जिल्ला समन्वय समिति आफ्नो बनाउन सकेन् ।
कहाँ चुक्यो एमाले ?
खासगरी एमालेको वीरेन्द्रनगर नगरपालिकामा राम्रो संगठन भएको ठाउँ मानिन्छ । उम्मेदवार छनौटमा केही ठाउँमा गल्ति महसुस स्वंयम् छनौट समितिका सदस्यहरुले समेत गरेका छन् । खासगरी एमालेले वीरेन्द्रनगर वडा नम्बर ३, ५, ९ मा प्रतिस्पर्धी उम्मेदवार उठाउन सकेन् । वडा नम्बर ३ मा पुरानो वस्ती मध्यबाट उम्मेदवार बनाउन नसक्दा ठुलो अन्तरको हार बेहोर्नु प¥यो । त्यस वडामा कांग्रेसले युवा, जुझारु, यूवा परिचालनमा दक्ष कांग्रेस जिल्ला उप–सचिव भुपेन्द्र खत्रीको तुलनामा ‘लो प्रोफायल’को व्यक्ति उठाउँदा हार निश्चित बन्यो । डिलाराम गिरी र महेश तिवारी मध्य एकलाई निर्वाचनमा वडाध्यक्षको रुपमा अघि सार्दा हार भएपनि यो तहको हार हुने थिएन । मेयर पदमा यो वडामा भएको अत्यधिक मतान्तर कम हुने थियो । यसैगरी वडा नम्बर ५ मा प्रतिस्पर्धि उम्मेदवार केशर तारामी र कृष्णबहादुर हमाल मध्य एकलाई उठाएको भए निश्चित विजय सम्भव थियो । वडा नम्बर ९ मा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा चौतर्फि आक्रमणको निशानामा परेका गणेशबहादुर वलीको ठाउँमा कृष्णबहादुर चौधरी वा ऋषि गिरी मध्य एकलाई वडा अध्यक्षको टिकट दिँदा जित सम्भव हुन सक्थ्यो ।
स्पष्ट दुई गुटमा रहेको नेकपा एमाले सुर्खेतमा विभिन्न कालखण्डमा मिल्दा विजय प्राप्त गर्ने र नमिल्दा निर्वाचन हार्ने विगतको इतिहास रहेको देखिन्छ । यसपटक पनि परम्परागत गुटहरु विचमा एक हदसम्म एकता जस्तो देखिएता पनि पार्टी भित्र विभिन्न उपगुटहरुको समेतको उदय स्थानीय तहको यस निर्वाचनमा देखियो । यसको सहि व्यवस्थापन तत्कालै नगरे आगामी निर्वाचनहरुमा समेत यसले ठुलो धक्का दिने एक जना जिल्ला स्तरीय नेता बताउँछन । नेकपा एमाले सुर्खेतको जिल्ला कमिटी कमिटीको रुपमा मात्रै रह्यो तर परिचालित भएन् । न कसैलाई परिभाषित जिम्मेवारी तोकियो, न त सिङ्गो कमिटीले जिल्लाभर निर्वाचन कसरी जित्न सकिन्छ भन्ने ठोस योजना नै ल्याउन सक्यो । जिल्लाका नेता निर्वाचन अवद्यिभर निस्क्रिय नभएपनि सक्रिय समेत बन्न सकेनन् ।
प्रदेश ६ को सम्भावित सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा मेयर पदमा विजयी हुँदा जति राप र ताप एमालेले पाउथ्यो त्यो सबै गुमायो । प्रतिद्घन्दी कांग्रेसले एमाले उम्मेदवार बुढो भनेर प्रचार गर्नु परेन्, एमालेका मेयरका लागि टिकटका प्रतिस्पर्धिहरुले नै आफै प्रचार गरिदिए । बरिष्ठ एमालेहरु आफ्नो उम्मेदवारको बचाउमा लाग्नु भन्दा कसरी खुइल्याउन सकिन्छ, त्यसैको ताना–बाना बुन्दै रहे ।
कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र रुपमा लडेका गेहेन्द्रप्रसाद दाहालले कांग्रेसको मेयरको भोटमा धावा बोल्दछन् भन्ने एमालेको अनुमान गलत सावित भयो । उनले प्राप्त गरेको मत मध्य ६० प्रतिशतको हाराहारीको मत एमाले निकटको रहेको गणनापश्चात प्राप्त नतिजाहरुले पुष्टी गरेको छ । सवैभन्दा बढी उनले एमाले निकटका मत वडा नम्बर १० मा र त्यसपछि वडा नम्बर ९, ११, १२, १३ मा काटेको प्राप्त परिणामले देखायो । आफ्नै पार्टी भित्रबाट वडा नम्बर ४ मा विजय निश्चित हुने एमालेको मत कांग्रेसले आफ्नो खातामा जम्मा ग¥यो ।
राप्रपाले गतिलो उम्मेदवार नबनाउँदा पनि एमालेले मेयर पद गुमाउन पुग्यो । केही दशनामी समाजका हर्ताकर्ताहरुले सुरुदेखि नै राप्रपाका सह–महामन्त्री मुकुन्द श्याम गिरीलाई प्रभावमा पारी मेयर पदमा उपयुक्त उम्मेदवार दिन नलाएको राप्रपाका एक जिल्ला नेताले बताए । उनले भने,–‘कांग्रेस मेयरका उम्मेदवारको ससुराली दशनामी समाजको सदस्य भएकाले आफ्नो पार्टी भन्दा कांग्रेस जिताउने अभियानमा सक्रिय भई मेयर पदमा प्रभावशाली व्यक्ति नउठाएका हुन् ।’
जे जस्तो भनिएपनि कांग्रेस भित्रका लक्की नेताको रुपमा चिनिने देवकुमार सुवेदीलाई एमालेको बलियो क्षेत्रका रुपमा चिनिने वीरेन्द्रनगरमा विजय प्राप्त गर्न त्यति सहज थिएन् । कांग्रेस भित्र सधैभरी सताईरहने ‘अन्तरघात’ भन्ने शव्दले यस पटक ठाउँ पाएन् । विगत एक दशकदेखि वीरेन्द्रनगर नगरपालिकाको सर्वदलिय समितिमा कांग्रेसको तर्फबाट निरन्तर सहभागि भै नगरका जनतासंग प्रत्यक्ष घुलमिल भइरहनु र निरन्तर यस क्षेत्रमा सक्रिय रहिरहनु पनि उनले जित्ने आधार बन्यो ।
उनको तुलनामा बालाराम शर्माको इतिहास कैयौ गुणा मजवुत भएपनि जनतासंगको निरन्तर सम्पर्कमा शर्मा कमजोर देखिए । ‘जितिहालिन्छ नि’ भन्ने पछि लाग्ने कार्यकर्ताहरुको आधारहिन विश्लेषण, आवश्यक ठाउँमा खर्च व्यवस्थापन गर्न नसक्नु र स्वयम उम्मेदवारको अति दृढ महत्वाकांक्षाले थप परिश्रम गर्न आवश्यक ठानिएन । अन्ततोगत्वा सुर्खेतको राजनीतिमा सधै ‘लक्की म्यान’ को रुपमा देखा परेका सुवेदीले मेयर पदको साथ–साथै सुर्खेतको राजनीतिमा आफुलाई पुनः अब्बल दर्जाको रुपमा सावित गर्दै, भविष्यमा कांग्रेस भित्रको राजनीतिमा दख्खल पु¥याउन सक्ने गरी स्वर्णिम इतिहासको रचना गर्न पुगे ।