☰ open Loading... 19 April 2024|  

ठुला चाडपर्वमा रक्सी र वियरकाे काराेवार बढ्दाे
  | १५ आश्विन २०७४, आईतवार १२:०८

काठमाडौं  । नेपालीहरुको महान पर्व दशैंलाई शक्तिकी देबी दुर्गाभगवतीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा लिइन्छ ।

जसका कारण दशैंका बेला बजार अत्यधिक चलायमान रहने गर्छ । नेपालमा कर्मचारीहरुले दशैंका लागि बोनस समेत पाउने हुँदा बढी खर्च गर्ने गर्छन् ।

बिकृति र रमझमको मिश्रण मदिरा

बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार पनि दशैंमा अत्यधिक हुने गर्छ ।

दशैं तिहारमा आम नेपाली गक्षअनुसारको पेय पदार्थ पिउने गर्छन् । पहिला पहिला निश्चित समुदायले पिउने मदिरा अहिले अधिकांशको घरमा पाइन्छ ।

मदिरा प्रेमीहरु पुराना ब्राण्डेड हृवीस्की तथा वाइनहरु जति महंगो भए पनि पिउन छाड्दैनन् । संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा लिने गरेकाले देशमा अर्बौंको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ । तर, नेपालीहरुको घरैमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मदिरा मानिन थालेकाे खवर लाेकान्तरमा छ ।
फेरिँदै संस्कृति

पहिला पहिला अत्यन्तै धनाड्य बर्ग र दलित तथा जनजातिको परिवारमा मात्रै पारिवारिकरुपमा मदिरा सेवन हुन्थ्यो । क्षेत्री बाहुनहरु भने आफन्त तथा परिवारका ज्येष्ठ व्यक्तिले थाहा नपाउने गरी रेक्सी पिउँथे । क्षेत्री बाहुनले रक्सी खाए जात जान्छ भन्ने परम्परा अनुसार उनीहरुले सार्वजनिक रुपमा रक्सी सेवन गर्दैनथे।

तर, अहिले अवस्था फेरिएको छ । अचेलका भोज भतेरहरु मदिराबिना अपूरो बन्न थालेका छन् । मध्यम वर्गीय क्षेत्री र बाहुनहरु पनि खुलेआम रक्सी पिउन थालेका छन् । पछिल्लो समय महिलाहरु समेत सासु, ससुरा, छोरा बुहारी, श्रीमान श्रीमतीसँगै बसेर रक्सी पिउन थालिसकेका छन् ।

खर्बौंको कारोबार, अर्बौं राजस्व

नेपालमा खासरी स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका देशबाट रक्सी आयात हुने गरेको छ । नेपालमा ठूलो मात्रामा मदिरा उत्पादन हुन्छ । कूल खपत हुने मदिराको ७५ प्रतिशत हिस्सा स्वेदशमै उत्पादन हुने मरिदाले ओगटेको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ ।

नेपालमा वार्षिक झण्डै २ खर्ब बराबरको मदिरा कारोबार हुने गरेको महासंघका महासचिव बिष्णु खड्काले बताए । उनका अनुसार नेपालको उत्पादित मदिराले मात्रै वार्षिक ४५ अर्ब राजस्व तिर्ने गरेको छ भने आयातित मदिराले साडे ९ अर्ब बराबर राजस्व तिर्ने गरेको छ । मदिरा व्यवसायले नेपालको कूल राजस्वमा झण्डै २० प्रतिशत हिस्सा ओगटेको छ ।

३५ रुपैंया देखि ५ लाखसम्मको रक्सी नेपालमा

नेपालका उद्योगी तथा सम्भ्रान्त परिवारका व्यक्तिले मंहगा रक्सीलाई आफ्नो इज्जतसँग जोडेका हुन्छन्, उनीहरुले महंगो रक्सी खोज्छन् । त्यही वर्गलाई लक्षित गरेर नेपालमा झण्डै प्रतिबोतल ५ लाखसम्मको रक्सी आयात समेत गरिएको छ । मदिराका सौखिनहरुका लागि नेपालमा ब्राण्डेड र महंगो रक्सी उत्पादन हुन थालेको नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेशप्रसाद श्रेष्ठ बताउँछन् । लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘मदिराको व्यापार बढ्दो छ, नेपालमा ५ लाखसम्मको रक्सी हामीलेले लन्च गरेका छौं, राजस्वको समेत ठूलो हिस्सा ओगटेका छौं ।’

नेपाली मदिरा व्यवसायी महासंघका महासचिव खड्काकाअनुसार ३५ रुपैंयादेखि ५ लाखसम्मको रक्सी नेपाली बजारमा उपलब्ध छ । नेपालमा चल्ने रक्सीका ब्राण्डहरुमध्ये कडाखालको रक्सीमा रुस्लान भोड्काको बढी माग रहेको खड्का बताउँछन् । यसैगरी निम्नबर्गाीय परिवारले सस्तो रक्सी खोज्ने र सम्भ्रान्त परिवारले महंगो रक्सी खोज्ने गरेको उनको भनाइ छ ।

महंगो रक्सी किन ?

नेपालमा महंगा रक्सी सौखकै लागि समेत प्रयोग गर्ने गरेको पाइन्छ । महंगा ह्वीस्की तथा ब्रान्डेड मदिराको उत्पादन पूर्णरुपमा प्राकृतिक तरिकाबाट हुने बताइन्छ । तसर्थ यस्ता प्रकृतिका खासगरी फ्रान्स र स्कटल्याण्डमा उत्दादित मदिरा विश्वभर नै लोकप्रिय मानिन्छन् ।

पछिल्लो समय वाइनको खपत पनि बढ्दै गएको मदिरा उत्पादक तथा वितरकहरु बताउँछन् ।

दशैंमा ३० प्रतिशत व्यापार बढी

नेपाल मदिरा व्यापार महासंघका महासचिव खड्काकाअनुसार दशैंको बेला मात्रै वार्षिक कारोवारको झण्डै ३० प्रतिशत मदिराको कारोवार हुन्छ । उनका अनुसार दशैंदेखि तिहारसम्म झण्डै ६० अर्ब रुपैयाँ बराबरको मदिरा बिक्री हुन्छ ।

नेपाली बजारमा बढी चल्ने मदिराजन्य पेय पदार्थमा भोड्का, ह्विस्की, जीन, रम, बियर, वाइन लगायत रहेका छन् । जसमध्ये दशैंमा सबैभन्दाबढी बियरको व्यापार बढी हुने गरेको व्यवसायी बताउँछन् । त्यसपछि भोड्काको माग धेरै हुन्छ ।

नेपालका उत्पादित महंगा रक्सी पनि दशैं तिहारमा अत्यधिक बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् ।

मदिरा उपहार !

पछिल्लो समय दशैं तिहारमा उपहार दिने चलन समेत बढेको छ । खासगरी वित्तीय क्षेत्रले आफ्ना ग्राहकहरुलाई खुशी पार्न समेत मदिरा उपहार दिने चलन बढेको छ । उपहार दिने मदिरामा अधिकांशले वाइन प्रयोग गर्ने गरेका छन् ।

मदिरा उद्योग र नेपाल सरकार

राज्यले मदिरा उद्योगलाई सुशासनयुक्त खुकुलो नीतिभित्र राख्नुपर्नेमा जोड दिँदै अबैध मदिरा उत्पादन गर्ने प्रवृत्ति रोक्न सरोकारवालाहरुको माग छ ।

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारी अन्तशुल्कको नीति असहज भएको बताउँछन् । उनले नेपालमा बन्ने ६ प्रकारका मदिराजन्य पेयपदार्थको अन्तशुल्क निकै फहंगो र असहज भएको बताए । उनका अनुसार सबैभन्दा बढी अल्कोहल (१५ युपि–४८ दशमलव ५ प्रतिशत) भएको एक बोतल मदिराको अन्तशुल्क १ हजार भन्दा बढी तिर्नुपर्ने हुन्छ भने सबैभन्दा कम अल्कोहल भएको (७० युपि– १७ दशमलव १२ प्रतिशत) भएको मदिरा एक बोतल बराबर २८ रुपैंया अन्तशुल्क तिर्नुपर्ने हुन्छ ।

अन्तशुल्कमा एकरुपता नभएकै कारण मदिरा उद्योगहरुले असहजता खेप्नुपरेको अधिकारी बताउँछन् । राजस्वको ठूलो हिस्सा ओगटेको मदिरा उद्योगले झण्डै साडे ३ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको उनको दाबी छ । नेपालमा हाल १ सय बढी मदिरा उद्योग सञ्चालनमा छन्