सुर्खेतः सुस्त श्रवण भएका बालबालिकाहरु उच्च शिक्षाबाट बञ्चित भइरहेका छन् । आधारभुत तहसम्मको शिक्षा प्राप्त गरे पनि उनीहरुले उच्च शिक्षा पाउन सकेका छैनन् । मध्य सुदुरपपश्चिम क्षेत्रमा रहेका सुस्त श्रवण (कान नसुन्ने) बालबालिकाहरु उच्च शिक्षाको पर्खाइमा छन् । कान नसुन्ने समस्या भएका बालबालिकाका लागि यस क्षेत्रमा पर्याप्त विद्यालय छैनन् । प्रदेश नम्बर ६ को सुर्खेतमा एउटा मात्र विद्यालय छ । जहाँ आधारभुत तहसम्म सुस्त श्रवण भएका बालबालिकाहरुले अध्ययन गर्न पाउँछन् । दक्ष जनशक्ति र उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्था नहुँदा यस्तो समस्या भएका बालबालिकाहरुले उच्च शिक्षा अध्ययन गर्न सक्ने अवस्था छैन ।
आधारभुत तहको शिक्षा अध्ययनपछि बालबालिकाहरु पहिलेकै अवस्थामा फर्कनुपर्ने बाध्यता रहेको छ ।यस क्षेत्रमा सुस्त श्रवण भएका थुप्रै बालबालिका छन् । जो अहिले पनि शिक्षाको अवसरबाट टाढा छन् । त्यस्ता केही बालबालिकाले मात्र शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् । तर उनीहरुले पनि केवल ८ कक्षासम्म मात्र अध्ययन गर्ने गरेका छन् ।
हालसम्म पनि राज्यले चासो नदिदां आठ कक्षा भन्दा माथिको शिक्षा प्राप्त गर्ने अवसरबाट उनीहरु बञ्चित छन् । राज्यले आधारभुत तहको शिक्षा निःशुल्क र अनिवार्य भनेको छ । संविधानमै स्पष्ट रुपमा लेखिएको पनि छ । तर व्यवहारमा त्यसको ठिक विपरित बालबालिकाहरु शिक्षाबाट टाढा हुन पुगेका छन् ।
प्रदेश ६ मा एउटा मात्र विद्यालय
प्रदेश नम्बर ६ मा सुस्त श्रवण भएका बालबालिका थुप्रै छन् । यस्ता बालबालिकाका लागि अध्ययन गर्न एउटा मात्र आधारभुत तहको विद्यालय छ । २०३६ सालमा वीरेन्द्रनगरमा स्थापना भएको सिद्धबहिरा बाल विद्यालय अहिले आधारभुत तहसम्मको पढाइ हुन्छ । हाल केही बालबालिकाले यो विद्यालयमा कक्षा आठसम्मको शिक्षा प्राप्त गर्दछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोमन बुढाले भन्छन्,‘यहाँ आठ कक्षासम्म मात्र पठाइ हुन्छ, त्यो माथि माथिल्ला कक्षाहरु संचालनमा छैनन् । आठ कक्षा उतिर्ण गरेर बालबालिका घर जान्छन्, उच्च शिक्षा पाउने सम्भावना नै छैन ।’ आर्थिक अवस्था राम्रो भएका परिवारले भने बालबालिकालाई बाहिर लगेर उच्च शिक्षाका लागि भर्ना गर्दछन् ।
यो प्रदेशका अन्य जिल्लामा अरु विद्यालय नै नभएका कारण अधिकांश बालकालिकाहरु आधारभुत शिक्षाबाट पनि बञ्चित रहेको बुढाको भनाइ छ ।उनी भन्छन्,‘आयस्रोत राम्रो भएका पविारका बालबालिका उच्च शिक्षा लिन भैरवा, बाग्लुङ, पोखरा र काठमाडौसम्म जान्छन्, कमजोर परिवारका बालबालिकाहरु भने पढाइ छोडेर जान्छन् ।’ सिद्धबहिरा विद्यालयमा हाल मध्यपश्चिम र सुदपश्चिमाञ्चल विकास क्षेत्रका कैलाली र कञ्चनपुरका विद्यार्थी गरी हाल ९५ जना बालबालिकाहरु अध्ययनरत छन् । तर आधारभुत तहको पढाइ सकिएपछि उनीहरुको उच्च तहको शिक्षा भने अन्यौलमै छ ।
उपयुक्त पाठ्यक्रम छैन
सुस्त श्रवण भएका बालबालिकाहरुलाई सांकेतिक भाषमा पढाउनुपर्ने हुन्छ । हाल उपलब्ध पाठ्यक्रममा कतिपय सांकेतिक शब्दहरु पनि छैनन् । सामुदायिक विद्यालय सरहको पाठ्यक्रम हुदाँ बालबालिकाहरु सिकाउन निकै कठिनाई भइरहेको यो विद्यालयले जनाएको छ । अन्य सामुदायिक विद्यालयको पाठ्क्रमकै आधारमा सिकाउनुपर्ने बाध्यताका कारण निकै अप्ठरो भइरहेको शिक्षकहरु बताउँछन् ।‘यहाँ विद्यार्थीलाई सांकेतिक भाषाबाट पढाउनुपर्ने हुन्छ’ विद्यालयका अध्यक्ष बुढा भन्छन्,‘ अहिले उपलब्ध पाठुयक्रममा कतिपय शब्दहरुको सांकेतिक शब्द नै छैनन्, विज्ञानका अणु र परमाणुका सांकेतिक भाषामा शब्दहरु नै भेटिदैन ।’
लामो समयदेखि पाठ्यक्रम नहुँदा बालबालिकालाई सहज रुपमा गुणस्तरीय शिक्षा दिन नसकिएको भन्दै विद्यालयले चुनौती रहेको जनाएको छ । अब सरकारले यस्ता बालबालिकाका लागि छुट्टै पाठ्क्रम बनाउनुपर्ने माग विद्यालयका शिक्षकहरुले गरेका छन् । कक्षा तीनसम्म चित्रसहितको पाठ्यक्रम भयो भने अध्ययन गराउन र सिकाउन सजिलो हुने अध्यक्ष बुढाले बताए ।
दक्ष जनशक्तिको अभावय
सैबीच दक्ष जनशक्तिको अभावका कारण पठनपाठनमा पनि समस्या छ । प्रदेश ६ को एउटा मात्र यो विद्यालयमा आवश्यकता र दरवन्दी अनुसारको जनशक्ति छैनन् । हाल निजी स्रोतमा शिक्षक राखेर काम चलाइएको छ । विद्यालयमा दुइ जना नीजि स्रोतबाट शिक्षक राखिएको छ । जनशक्ति आपुत्र्ति गर्ने जिम्मेवारी राज्यको भए पनि हरेक अभिभावकहरुबाट पैसा उठाएर नीजि स्रोतका शिक्षकलाई तलव खुवाउने गरिएको विद्यालयले जानकारी दियो ।
राज्यले बहिरा बाल विद्यालयलाई विशेष विद्यालय भनेको छ । तर सोही अनुसारको सेवासुविधा भने पाउन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।
एउटै कोठामा दुई वटा कक्षा
सुस्त श्रवण भएका बालबालिकालाई शिक्षा प्राप्त गर्न विभिन्न अवरोधहरु छन् । वीरेन्द्रगरमा रहेको सिद्धबहिरा बाल विद्यालयमा भौतिक पूर्वाधारको अभाव छ । पर्याप्त पूर्वाधार नहुँदा फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा कोच्नुपर्ने बाध्यता रहेको शिक्षकहरुले गुनासो गरे ।
पर्याप्त कोठा र भवन नहुँदा एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीहरुलाई राखेर पढाउने गरिएको छ । यो विद्यालयमा २०४० सालमा आठ कोठे भवन बनेको थियो ।
त्यो हाल जीण्र्चा भइसकेको छ । त्यही आठ कोठे भवनका दुई वटा कोठामा कार्यालय राखिएको छ । बाँकी ६ वटा कोठामा आठ कक्षासम्मका विद्यार्थीलाई समायोजन गरेर पढाउने गरिएको छ । भौतिक संरचना नहुदाँ माध्यमिक तहसम्म संचालन गर्न नसकिएको विद्यालयका अध्यक्ष बुढाले बताए । छात्र–छात्राका लागि पनि एउटै होस्टेल एउटै मात्र छ । अकोतर्फ विद्यालय र होस्टेलको वरिपरि घेरबारसमेत छैन । घेराबार नहुदाँ होस्टेलमा बस्ने छात्राहरु असुरक्षीत छन् । हाल विद्यालयको नाममा १७ कट्ठा जग्गा भए पनि आयस्रोत नहुँदा समस्या भएको हो । विद्यालय भवनका लागि पटकपटक आग्रह गर्दा पनि कसैले सहयोग नगरेको विद्यालयले गुनासो गरेको छ ।
माध्यमिक कक्षा संचालनको तयारी
आधारभुत तहसम्म मात्र पढाइ हुने यो विद्यालयमा अब माध्यमिक तहसम्मको कक्षा संचालन गर्ने तयारी भइरहेको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले सिद्धबहिरा विद्यालयमा निकट भविस्यमै माध्यमिक तहका कक्षाहरु पनि संचालन गर्ने तयारी भइरहेको जनाएको छ । विषेश क्षमता भएका बालबालिकाको उच्च शिक्षामा आफूहरु गम्भिर रहेको भन्दै कार्यालयले यसका लागि तयारी भइरहेको उल्लेख गरेको छ ।हाल जिल्लामा सुस्त श्रवण भएका बालबालिकाहरुको एकिन तथ्याकं भने शिक्षा कार्यालयसँग पनि छैन । तर कार्यालयले उनीहरुको उच्च शिक्षाका लागि जिल्लामा नै अध्ययन गर्ने व्यवस्था हुने जनाएको छ ।
शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले भने,‘हामी यो विषयमा गम्भिर छौं, अब भौतिक सुधार पनि हुन्छ । प्रविधिमैत्री विद्यालय बनाउँदै, अब माध्यमिक तहका कक्षा संचालनका लागि योजना बनाएका छौं ।’ जिल्लामा हाल स्रोत कक्षाहरुमार्फत विशेष प्रकृतिकका सबै बालबालिकाहरुलाई शिक्षाको पुहँचमा पु¥याइएको कार्यालयले दाबी गरेको छ ।
यस्ता बालबालिकाको सिकाइमा सुधार ल्याउन तालिम प्राप्त शिक्षकहरुको व्यवस्था गरिएकोसमेत लम्सालले जानकारी दिए । हाल फरक क्षमता भएका बालबालिकाका लागि जीवनज्योती मावि गुटु, नेरा आधारभुत विद्यालय नयाँगाउँ र जनज्योति माध्यमिक बड्डीचौरबाट अध्यापन हुदै आएको कार्यालयको भनाइ छ । यस्ता विद्यालयलाई सामुदायिक विद्यालय सरहको सुविधासमेत उपलब्ध गराएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
(क्रियाशिल पत्रकार मञ्चकाल लागि)