☰ open Loading... 15 July 2020|   बुधबार, असार ३१, २०७७

श्रीमानको सम्झनामा प्रहरी चौकीलाई २२ लाखको जग्गादान

  |

सागर परियार,
जुम्ला । जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले आफ्ना स्वर्गीय श्रीमानको सम्झनामा प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गरेकी छन् । कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा उनले जग्गादान गरेकी हुन् ।

नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्ग्मिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला छोरा मच्छिन्द्रप्रसाद उपाध्यायले बताए । देवीकन्याले छोरा पृथ्वीनारायण, मच्छिन्द्र र धनन्जय उपाध्यायसहितको सहमतिमा जग्गा उपलब्ध गराएको बताए ।

छोरा मच्छिन्द्रले बुबाको सम्झना इतिहासका थुप्रै कालखण्डमा रहिरहोस् भनेर बिनास्वार्थ आफूहरुले जग्गादान गरेको यद्यपि स्मृतिस्वरुप सानो सालिक निर्माण गर्न जिल्ला प्रहरी कार्यालय, जुम्लालाई अनुरोध गरिएको पनि बताए । लामो समयदेखि भाडाको भरमा काम गर्दै आएको गुठिज्यूला स्थायी प्रहरी चौकीलाई उपाध्याय परिवारले ६४५ वर्ग्मिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

उपाध्याय परिवारप्रति कृतज्ञता प्रकट गर्दै प्रनाउ दाहालले भने, “उपाध्याय परिवारले दिल खोलेर करिब रु २२ लाखको जग्गा चौकीलाई निःशुल्क प्रदान गरेको छ, यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नै भवन नहुँदा विभिन्न सास्ती खेप्दै आएको राजमार्ग छेउको यो प्रहरी चौकीको लागि अब भने आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको उनले बताए । उपाध्याय परिवारको यो सहयोगको उच्च कदर गरिने उनको भनाइ छ ।

दर्जनभन्दा बढी प्रहरी चौकी भाडाकै घरमा

इलाका प्रहरी कार्यालय, हाडसिंजा, जुम्लासहित यहाँका १४ वटा प्रहरी चौकी भाडाकै भरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

विभिन्न झञ्झटबाट मुक्त हुन अहिले आफ्नै जग्गाका लागि जिप्रका जुम्लाले अभियान थालेको छ । १४ प्रहरी चौकीमध्ये कनकासुन्दरी–५ स्थित गुठिज्यूला प्रहरी चौकीले भवन बनाउने अवसर मिलेको बताएको छ ।

प्रहरी नायब उपरीक्षक डा दाहालका अनुसार गुठीचौर गाउँपालिकाको मणिसाँघु र तातोपानी गाउँपालिकाको ताम्ती प्रहरी चौकीका लागि जग्गाको पहल भइरहेको छ । हाल निःशुल्क जग्गा प्राप्त गरेको गुठिज्यूला प्रहरी चौकी सिंजाको सिरान र रारातालको बेसक्याम्पका रुपमा मानिन्छ ।

प्रकाशित मितिः शनिबार, पुस १, २०७४     6:36:00 PM
error: Content is protected !!