☰ open Loading... 17 September 2024|  

मुलुकको शिक्षाको यथार्थ तस्विर : शिक्षकको तलब मासिक रु एक हजार !
  | २१ पुष २०७४, शुक्रबार १२:३६

कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।

तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै अाएकी छिन ।   विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै अाएकी हुन ।

सुकुम्बासी दलित बस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो । विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनुपरेको शिक्षिका शाहीले बतार्इन ।

भारतमा मजदुरी गर्दै आएका बस्तीका बासिन्दाले केही रकम बचाइ चन्दा संकलन गरी विद्यालय सञ्चालन हुँदै आएको छ । न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा दुई जना अस्थायी दरबन्दीमा एकजना राहतमा र एकजना निजी गरी जम्मा चारजना शिक्षकशिक्षिकाबाट विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालले बताोए ।

विद्यालय सञ्चालन रहेको १० कट्ठा जग्गासमेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघ अध्यक्ष वीरे बुढाले बताए ।
नेपाल–भारत सीमादेखि करिब २०० मिटर भित्र रहेको नवदुर्गा आधारभूत विद्यालय गाउँलेहरुको पहलमा विसं २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन गरिएको र विसं २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले मान्यता दिएको थियो ।

विद्यालयमा पर्याप्त कक्षाकोठा छैनन्, तारबार छैन, गतिलो शौचालय छैन, तर पनि सुकुम्बासी बस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारले बताए ।

एक दशकअघि स्वीकृति पाएको नवदुर्गा विद्यालयले दुईजना अस्थायी दरबन्दी र एकजनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन । नत जिल्ला शिक्षा कार्यालयले नै हेर्ने गर्छ, नत नगरपालिकाको वार्षिक योजनामा नै पर्ने गर्छ, स्थानीय गुनासो गर्छन् ।