☰ open Loading... 19 April 2024|  

प्रदेश ६ काे पिरलाे नाममा एकमत, राजधानीबारे मतभेद
  | २१ पुष २०७४, शुक्रबार २१:१७

विनोद शाही
सुर्खेत । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा प्रदेश नम्बर ६ मा प्रदेशको नाम र राजधानीको विषयमा बहस सुरु भएको छ । प्रदेशको नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा यहाँका विभिन्न जिल्लामा छलफल हुन थालेका छन् ।

प्रदेशको नामबारे एकमत देखिए पनि राजधानी कहाँ बनाउने भन्ने विषयमा भने फरक–फरक धारणा आएका छन्। प्रदेशको नाम कर्णाली राख्ने विषयमा हालसम्म विवाद देखिएको छैन । विभिन्न जिल्लाहरुमा भइरहेका छलफलमा पनि कर्णाली प्रदेश नाम राख्न एकमत देखिएको छ । तर, राजधानीका विषयमा सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक मत देखिएको छ ।

जुम्लाका नागरिकले प्रदेशको राजधानी जुम्ला हुनुपर्ने माग गर्दै आएका छन् । कालिकोटसहित कर्णालीका अन्य जिल्लाका राजनीतिक दलका कतिपय नेतादेखि नागरिकसम्मले पनि जुम्लालाई राजधानी बनाउन माग गरेका छन् । तर, जुम्लालाई राजधानी बनाउने विषयमा भने कर्णालीमै पनि एकमत छैन । सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक–फरक धारणा आइरहेका छन् ।

जुम्लामा सर्वपक्षीय छलफल गरी जुम्लालाई राजधानी नबनाइए आन्दोलन गर्ने चेतावनी दिइएको छ। त्यहाँका नागरिक अगुवाहरुको पहलमा जुम्लालाई प्रदेशको राजधानी बनाउन माग भइरहेको छ।

जुम्लाबाट प्रदेशसभामा निर्वाचित सांसद नरेश भण्डारी कर्णालीको सन्तुलित विकासका लागि जुम्लालाई राजधानी बनाउनुपर्ने बताउँछन्। उनले विशेषगरी जुम्लालाई मौसमी राजधानी बनाउनुपर्नेमा जोड दिएका छन्। यो प्रदेशको भौगोलिक अवस्था अनुसार ग्रीष्मकालीन र शीतकालीन राजधानी बेग्लाबेग्लै बनाउनुपर्ने उनको धारणा छ।

उनी भन्छन्, ‘जुम्लालाई ग्रीष्मकालीन र सुर्खेतलाई शीतकालीन राजधानी बनाउनु जरुरी छ ।’ कालिकोटमा भएको सर्वपक्षीय छलफलका सहभागीहरुबीच प्रदेशको नामबारे एकमत भए पनि राजधानीका विषयमा मतभेद देखिएको छ ।

समुन्नत समाजका लागि सामूहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कुर्मराज शाहीले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए ।

शाहीले आफूले र आफ्नो पार्टी नेकपा एमालेले निर्वाचनअघि घोषणापत्रमार्फत पनि यही एजेन्डा उठाएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको दाबी गरे ।

उनले नाम र राजधानीका विषयमा थप विवाद गर्नुनपर्ने भन्दै यो प्रदेशको ठूलो भूभाग ओगटेको कर्णाली क्षेत्रको पहिचान अनुसार प्रदेशको नाम पनि कर्णाली नै राखिनुपर्ने जनाए । तर, राजधानीका लागि भने सुर्खेत नै उपयुक्त रहेको उनको भनाइ थियो ।

जिल्ला बार इकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर विष्टले प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश हुनुपर्ने तर राजधानी भने मौसमी हुनुपर्ने धारणा राखे । उनले स्थायी राजधानी सुर्खेत भए पनि कर्णालीलाई सम्बोधनका लागि मौसमी राजधानी भने कर्णालीमा राख्न सकिनेमा जोड दिए।

नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले राजधानी बनाउँदा प्राविधिक पक्षहरु पनि हेरिनुपर्ने भन्दै सुर्खेत नै उपयुक्त भएको बताए। नाम भने कर्णाली नै हुनुपर्ने उनको तर्क थियो। नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश शाहीले राजधानीका आवश्यक पूर्वाधारहरु सुर्खेतमा बनिसकेको र कर्णालीका लागि पनि सुर्खेत नै राजधानीका लागि उपयुक्त हुने धारणा राखे।

तर, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नामसँगै राजधानी पनि कर्णालीमा नै हुनुपर्नेमा जोड दिए। उनले कर्णाली बाहेक अन्यत्र राजधानी बनाए कर्णालीको विकास हुन नसक्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लालबहादुर शाहीले कर्णालीको समृद्धिका लागि राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखे।

यस्तै, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने बताए । from Nepallive