☰ open Loading... 17 September 2024|  

जहाजको भर पर्दा दुर्घटनाका घाइतेकाे मृत्यु
  | २८ पुष २०७४, शुक्रबार २२:३८

सागर परियार
जुम्ला । मोटरसाइकल दुर्घटनामा परी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराईरहेकी एक महिलाको मृत्यु भएको छ । बुधबार दिउसो जुम्लाबजारमा क १ प ४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी चन्दननाथ नगरपालिका ९ की ४० बर्षीाय नरकला गिरीको शुक्रबार मृत्यु भएको हो ।

दुर्घटनामा परी मृतकको खुट्टा, छाती र टाउकोमा चाेट लागेको थियो । उपचारका क्रममा मृतकको अन्य सबै समस्याको उपचार भैरहेपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिटि स्क्यान नहुदाँ टाउकोको समस्या पत्ता लगाउन नसकिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले रेफर गरिसकेपछि मृतक गिरीलाई उपचारका लागि जिल्ला बाहिर लैजान हवाइजहाजको पर्खाइमा बस्दा बस्दै बाटोमै मृत्यु भएको आफन्तहरुले बताएका छन् । मोटरसाईकल चालक चन्दननाथ नगरपालिका ६ का १९ बर्र्षी टेकेन्द्र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डाक्टर देउमान लिम्बुले भने, ‘बिरामीको लक्षण हेर्दा सिटि स्क्यान गर्नुपर्ने अवस्था थिएन, बिरामीले कतिखेर बोल्ने, कतिखेर चल्न खोच्ने गरी रहेकी थिइन्, औषधि पनि दिइरहेका थियौ, तर एक्कासी बिहान बिरामीको अवस्था जटिल देखिएपछि हामीले रेफर गरेका हौँ । प्रतिष्ठानमा सिटि स्क्यान नहुँदा टाउकोमा समस्या भएका बिरामी आएमा लक्षणका आधारमा उपचार गर्दा समस्या हुन्छ ।’

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा सिटि स्क्यान मेसिन जडानका लागि स्वास्थ्य मन्त्रालयदेखि विभागसम्म पहल भैरहेको छ । ‘सिटि स्क्यान मेसिन खरिदका लागि आवश्यक बजेट छैन । एउटा मेसिन झण्डै ३ करोड बढि रकम पर्छ, बारम्बार पहल गर्दा पनि मन्त्रालयमा सुनुवाई हुदैन, फेरी सिटि स्क्यान मेसिन संचालनका लागि विद्युतको पनि ठुलो समस्या छ’ उनले भने, प्रतिष्ठानमा भ्यान्टीलेर र आईसियु समेत नहुँदा बिरामीलाई ठुलो समस्या परेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागी प्रकरणपछि सेवा प्रवाहमा देखिएको समस्या अझै सुल्झिएको छैन । आगलागीले अन्तरंग भवन भित्र रहेको ल्याव, टेन्टल, रेडियोलोजी, एक्सरे, अल्ट्रासाउण्ड, लगायत करोडौ मुल्यका महत्वपूर्ण उपकरणहरु सबै जलेर नष्ट भएपछि अझैसम्म उपकरण ब्यवस्थापन नहुँदा समस्या जस्ताको त्यस्तै स्थानीय बताउँछन् ।