☰ open Loading... 17 September 2024|  

गाउँपालिकाको ११ लाख खर्च गर्दै जनप्रतिनिधिको टोली भारत भ्रमणमा
  | ९ माघ २०७४, मंगलवार १८:३८

सागर परियार
जुम्ला ।
संघियता अवलोकन अध्ययन भ्रमणको नाममा गुठिचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमण गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै तत्कालीन आवाश्यकता विपरीत गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारी सहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण गएको खुलासा भएको छ ।

गाउँपालिकाको साढे ११ लाख रुपैया लिएर जम्बो टोली संघियता अवलोकन अध्ययन भ्रमणको नाममा भारतको सिक्किम र दार्जिलिङ्ग हिडेको हो । भ्रमणका लागि नेपालको लुम्बिनि, इलाम, काठमाण्डौँ हुँदै भारतको सिक्कीम र दार्जिलिङ्गसम्मको यात्रा शुरु भएको गाँउपालिका स्रोतले बताएको छ ।

सरकारी कर्मचारी सहित जनप्रतिनिधिको जम्बो टोली १० दिने भ्रमणमा हिडेपछि गाँउपालिकाको दैनिक महत्वपुर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानियले बताएका छन् । १० दिने संघियता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँकार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा ४ नं वडाध्यक्ष जग्गप्रसाद जैशीले जानकारी दिए । भ्रमण टोली सिक्किम र दार्जिलिङ्गमा मात्र करीब एकसाता घुम्ने छन् ।

गाउँपालिकाको सबै विकासे काम ठप्प पार्दै जम्बो टोली भ्रमणमा जानु उपयुक्त नभएको भन्दै स्थानियले आलोचना गरेका छन् । आफ्नो गाँउठाँउको आधारभुत विकासका लागी जम्बो टोलीको भ्रमण आवाश्यक नरहेकोले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानिय राम प्रसाद पाण्डेले बताए । संघियता भ्रमण अध्ययनका नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन् ।

यता भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाँउपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सिक्कीम र दार्जिलिङ्गको विकास निर्माणका कार्यहरु हेरेर त्यहाँ भएका राम्रो कुरालाई आफ्नो गाँउठाउँमा आएर कार्यान्वयन गर्ने तर्क गरेका छन् ।

भ्रमण टोलीमा अध्यक्ष भण्डारी, उपाध्यक्ष जानदेवि ऐडि, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाको ५ वटा वडाका सबै वडाध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्य लगाएतको टोली रहेको छ । यसैबिच केहिदिन अघि मात्र कनकासुन्दरी गाँउपालिकाको जम्बो टोली पनि ८ लाख रकम खर्च गर्दै भारत भ्रमण गरेर फर्किएको खुलासा भएको छ ।