☰ open Loading... 29 March 2024|  

प्रदेश ६ लाई डिजिटल प्रदेश बनाउन आन्तरिक मामिला मन्त्रालयको गृहकार्य शुरु
  | १० फाल्गुन २०७४, बिहीबार १६:३४

सुर्खेत । प्रदेश नम्बर ६ लाई डिजिटल प्रदेश निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहकार्य शुरु गरेको छ । प्रदेश भित्रका सवै घटनाहरु तत्काल एकैठाउँ संकलन गर्न र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने उदेश्यले मन्त्रालयले डिजिटल प्रदेशको अवधारणा अघि बढाएको हो ।

मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै समग्र प्रदेशको सुरक्षाको अवस्था र अव चाल्नु पर्ने कदम बारेमा पनि योजनाहरु सार्वजनिक गरेको छ । तत्काल प्रदेश ६ मा समृद्धिका लागि शान्ति सुरक्षा, डिजिटल प्रदेश निर्माण र कानून मस्यौदा सम्वन्धी कार्यदल गठन गरेर जिम्मेवारी सुम्पिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

कार्यदले समग्रको प्रदेशको शान्ति सुरक्षा र अन्य विविध समस्याका बारेमा प्रतिवेदन तयार गर्ने र सोही अनुसार मन्त्रालय अघि बढ्ने भण्डारीले बताए । जेजस्ता भएक समस्यालाई औल्याउने भन्दापनि प्रदेशको समग्र हितमा कसरी काम गर्न सकिन्छ भन्ने हेतुले मन्त्रालयले नयाँ अवधारण अघि सारेको उल्लेख गरे ।

मन्त्रालयले प्रमुख पर्यटनस्थलमा पर्यटन प्रहरी राख्ने गृहकार्य समेत थालेको छ । समग्र प्रदेशको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त पार्न प्रदेश प्रहरीलाई मन्त्रालयले निर्देशन समेत दिएको छ ।

६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दले प्रदेश भर खटिएको जनशक्ति र शान्ति सुरक्षाको पछिल्लो अवस्था बारे जानकारी गराएका थिए । कर्णाली राजमार्गमा रात्रीकालिन सवारी सञ्चालन प्रवेशमा खुकुलो पारिएको जानकारी दिँदै एआईजी चन्दले प्रदेशमा हुने घटनाक्रमलाई तत्काल थाहा पाउन सवारीहरुमा जिपिएस ट्याक जडान गर्न लागेको बताए ।

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारीहरुको समय तालिका २ घण्टा घटाएर राती १० देखी विहान ५ सम्म सञ्चालन हुन नपाउने भएका छन् । यसअघि राती ८ बजेदेखी विहान ५ बजेसम्म सञ्चालनमा प्रहरीले रोक लगाएको थियो ।

प्रदेश ६ मा ११ प्रतिशत घटना सडक दुर्घटना र ५६ प्रतिशत घटना आत्महत्याका घटना हुने गरेका छन् । १० जिल्लाका प्रहरी ईकाईहरुलाई प्रदेश सदरमुकामबाटै २४ सैं घण्टा सिधा सम्पर्कमा राख्न प्रदेशभरी प्रहरी सञ्चार नेटवर्कलाई प्रभावकारी बनाउन लागिएको एआईजी चन्दले उल्लेख गरे ।

मन्त्रालयले प्रदेशका ५४ गाउँपालिकामा प्रहरी निरीक्षक र २५ नगरपालिकामा डिएसपीकाे कमाण्डमा जनशक्ति खटाउन लागेकाे छ । यसका लागि प्रदेश प्रहरीमा हाल अपुग पाँचहजार ४ सय प्रहरी जनशक्ति थप गर्न लागेकाे एअाइजी चन्दले बताए ।