☰ open Loading... 25 April 2024|  

प्रदेश ६ को नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश हुँदै
  | १२ फाल्गुन २०७४, शनिबार ११:५५

सुर्खेत । प्रदेश नम्बर ६ को संसदको चौथो बैठक आज बस्दैछ । आजको बैठकमा मुख्यगरी प्रदेशको नामाकरण र राजधानी कहाँ बनाउने भन्ने प्रस्ताव पेश गरिने कार्यसूची तयार गरिएको छ ।


सरकारले यसअघि नै प्रदेश ६ को अस्थायी राजधानी सुर्खेत तोकेको थियो । तर प्रक्रियागत रुपमा प्रदेश राजधानी कहाँ बनाउने र नाम के राख्ने भन्ने प्रस्ताव आजको बैठकमा पेश हुन लागेको संसख सचिवायलले जानकारी दिएको छ । प्रदेश ६ को नाम ‘कर्णाली’ र राजधानी ‘सुर्खेत’ राख्ने विषयमा सांसदहरु एकमत देखिएका छन् ।

यद्यपी जुम्लाबाट निर्वाचित सांसद एवम् आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजधानी जुम्ला हुनुपर्ने धारणा जुम्लामा राखेका थिए । उनी बाहेक अन्य सांसदहरुले राजधानी र प्रदेशको नामका विषयमा कुनै विमति जनाएका छैनन् ।

प्रदेश नम्बर ६ को नाम कर्णाली राजधानी सुर्खेत सम्बन्धी प्रस्तावको प्रस्ताबक एमाले संसदीय दलका नेता यामलाल कँडेल छन भने प्रस्तावमा कांग्रेसका दिनबन्धु श्रेष्ठ, माओवादीकी सीता नेपाली र राप्रपाको सोसीला शाहीले समर्थन गर्ने मुख्य सचेतक गुलावजंग शाहले जानकारी दिए ।

त्यसैगरी, राजधानी सुर्खेतलाई बनाउने सम्बन्धी प्रस्ताव प्रदेसभामा कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्नेछन् । यो प्रस्तावमा एमालेका गुलावजंग शाह, माओवादीका गणेशबहादुर थिङ र राप्रपाकी सोसीला शाहीले समर्थन गर्नेछन् ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएकाले आज पेश हुने प्रस्तावमाथि छलफल शुरु हुनेछ । बैठक दिउसो १ बजे बस्दैछ । गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण संसद सचिवायले सूचना टाँस गरेर स्थगन गरेको थियो ।