☰ open Loading... 19 April 2024|  

लेट्स प्ले होली ! होलीमा स्वास्थय सुरक्षा
  | १६ फाल्गुन २०७४, बुधबार १०:२५

होलीमा हेल्थ 

– होली रङहरूको पर्व हो । यो पर्वमा एक–अर्कालाई रङ छ्यापेर खुसी साटासाट गरिन्छ । होलीको एक दिनअघि होलिका दहन गरिन्छ । र, अर्को दिन बिहान पानीमा रङ घोलेर एक–अर्कामाथि फाल्ने प्रचलन छ । स–साना नानीहरूदेखि प्रौढ–वृद्धहरूसम्म यो चाड लोकप्रिय छ । यो प्रेमको पर्व पनि हो । फागुन महिनामा मनाइने भएकाले यसलाई फागु भन्ने प्रचलन पनि छ । तर, होलीमा प्रयोग गर्ने रङबारे भने सचेत हुन आवश्यक छ । पछिल्लो समय होलीमा केही विकृति पनि भित्रिएका छन् ।

– होलीका वेला सामान्य कुरामा ख्याल नगरे ठूलो स्वास्थ्य दुर्घटना पनि निम्तिन सक्छ । जथाभावी रङ खेल्दा आँखाको दृष्टि नै गुम्न सक्छ । कानको जाली फुट्न सक्छ । एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ ।

– होलीमा उपयोग गरिने प्रायः रङ, अबिरमा खतरनाक रसायनको मिश्रण हुन्छ । त्यसैले पनि यस्ता रङ वा अबिर मुख, आँखा र कानमा पर्न दिनुहुँदैन ।
– होली खेलेपछि कतिपय मानिसमा छाला पोल्ने, छालाको रङ परिवर्तन हुने र छाला सुक्खा हुने समस्या देखिन्छ । रङमा मिश्रण गरिएका विभिन्न रसायनले छालाको भित्री सतहलाई समेत क्षति पुर्याउँछ । त्यसैले होली खेल्दा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ भएका रङबारे ध्यान दिनुपर्छ । यस्ता रसायन मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् ।
– त्यस्तै, प्रायः रङमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ । रङले आँखामा एलर्जी हुनुका साथै अस्थायी अन्धोपनको समस्यासमेत निम्त्याउन सक्छ । छालाको रोग लाग्ने सम्भावना पनि हुन्छ । चम्किलो रङले क्यान्सरसमेत बनाउन सक्छ ।
– अबिरमा एसबेस्टस र अभ्रख मिसाइन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसैले अबिरमा बढी खेल्दा दम, छालाको रोग, आँखामा जलन र संक्रमण हुन सक्छ । अझ डन्डिफोर भएकाहरूलाई त रासायनिक रङले बढी समस्यामा पार्छ ।
– रङले आँखाको कर्निया वा आँखाको सेतो भागमा कन्जेक्टाइवालाई नोक्सान पु¥याउँछ । जसले आँखाको सेतो भाग रातो हुने, घाउ लाग्ने समस्या हुन्छ ।
– प्रहार गरेको लोलाले लागेमा आँखा, कानमा समस्या पर्न सक्छ । होली खेल्दा आँखामा रङ पर्ने अधिक सम्भावना हुन्छ । आँखामा रङ पर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । कतिपयले फोहोर पानीले पनि छेप्न सक्छन् । त्यस्ता पदार्थबाट पनि उत्तिकै सचेत हुन आवश्यक हुन्छ ।

सवधानी

– होली खेल्नुअघि शरीरका अधिकांश भाग छोपिने गरी लुगा लगाउनुपर्छ । ताकि, रङ र अबिरको दुस्प्रभावबाट जोगिन सकियोस् । होली खेल्दा टोपीको प्रयोग गर्दा उपयुक्त हुन्छ ।
– होली खेल्नुअघि शरीरभरि तेल वा मोस्चराइजर लगाउनु राम्रो हुन्छ । यसो गर्दा रङ छालाभित्र जान पाउँदैन । त्यस्तै, कपालमा तेल दल्नुका साथै नङ काटेर पालिस गर्दा राम्रो हुन्छ ।
– आँखामा रङ वा कुनै रसायन परेको २० देखि ३० मिनेटसम्ममा पानीले सफा गरिहाल्नुपर्छ । यसरी आँखा सफा गर्न उमालेको पानी प्रयोग गर्दा राम्रो हुन्छ ।
– कहिल्यै पनि जोडले पानी छ्याप्नेजस्ता गतिविधि गर्नु हुँदैन । होलीको रङले समस्या निम्त्याएमा चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

स्रोत ः नयाँ पत्रिका