☰ open Loading... 19 April 2024|  

भारतीय फोनबाट नेपाल प्रहरीको सञ्चार
  | १६ फाल्गुन २०७४, बुधबार १०:४५

खंग्रा (दाङ) । भारतीय फोनबाट दाङमा प्रहरीले सञ्चार प्रवाह गरिरहेको छ। जिल्लामा भारतीय सीमा जोडिएका प्रहरी युनिट अहिले पनि भारतीय फोनको भरमा सञ्चार प्रवाह गरिरहेका छन्। नेपाल–भारत नाका क्षेत्रका अधिकांश प्रहरी चौकीले भारतीय सिम प्रयोग गर्दै आएका छन्। नाका क्षेत्रमा नेपालका कुनै पनि सञ्चार सञ्जालले काम नगरेपछि त्यहाँका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गर्दै आफ्नो सञ्चार प्रवाह गर्नुपरेको हो।

सीमा प्रहरी चौकी खङ्ग्र्रा, सीमा प्रहरी चौकी भैसाही, अतिरिक्त प्रहरी पोस्ट सिरिया नाका, अतिरिक्त प्रहरी पोस्ट डगमारा नाका, मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै नेपाल प्रहरीमा सञ्चार प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी कन्ट्रोलले जानकारी दिएको छ। देशको सुरक्षा निकायले अर्को देशको सञ्चार प्रयोग गर्दा सुरक्षा रणनीतिमा समेत प्रभाव पर्ने अवस्था आउन सक्ने विज्ञको भनाइ छ।

सञ्चारको सुविधा सम्पन्न मानिने यो समयमा पनि नेपाल सरकारले सीमा क्षेत्रमा सञ्चार सेवा सहज रूपमा उपलब्ध गराउन सकेको छैन। नेपाली फोन सेवा उपलब्ध हुन नसक्दा सूचना प्रवाहमा समस्या भोग्नुपरेको प्रहरीको भनाइ छ। दाङको नेपाल–भारत सीमामा खटिएका नेपाल प्रहरीले नेपाली फोन र सीम प्रयोग गर्न सकेका छैनन्। सीमा क्षेत्रमा नेपाल सञ्चार सम्पर्कविहीन हुँदा सुरक्षामा खटिएका प्रहरीले भारतीय फोन प्रयोग गरी राज्यलाई सूचना दिनुपरेको उनीहरूको गुनासो छ।

नाका क्षेत्रमा नेपालका कुनै पनि सिम कार्डको पहुँच नपुग्दा स्थानीय प्रशासन भारतीय नम्बर प्रयोग गर्न बाध्य भएको हो। सञ्चार अभावकै कारण जिल्ला प्रहरी कार्यालय दाङले नाकाको सूचना संकलनमा समस्या भएको जनाएको छ। भारतीय नम्बरले सञ्चार गर्नुपर्दा गोप्य सूचना चुहिने र शान्ति सुरक्षामा समेत खलबल पुग्ने स्थानीय अमृत खड्काले बताए। ‘आवश्यक परेका बेला प्रहरीलाई फोन गर्दा लाग्दैन। लागे पनि आवाज राम्रोसँग सुनिँदैन’, उनले भने, ‘भारतीय नम्बरमा फोन गर्नुपर्छ। खर्च पनि बढी हुन्छ। प्रहरी र नागरिकबीच फोन सेवा प्रभावकारी नहुँदा प्रहरी र नागरिकबीचको दूरी बढेको छ।’

सीमा क्षेत्रका प्रहरीलाई नागरिकले फोन गर्नुपरे भारत जानुपर्ने बाध्यता छ। ‘नाका क्षेत्रमा गर्मी समयमा बढी आगलागी र बर्सातमा पहिरोको जोखिम हुन्छ। त्यस्तो समयमा फोन गर्दा समयमा फोन लाग्दैन’, अर्का स्थानीय केशव खड्काले भने, ‘प्रहरी नै सञ्चारविहीन छ। भारतीय फोन प्रयोग गर्नुपर्ने बाध्यताले आजिद भएका छौं।’

टेलिफोन सम्पर्क नहँदा नागरिकलाई सुरक्षा दिन कठिन भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ। नाका क्षेत्रमा केही घटना भयो भने जिल्लामा खबर गर्न समस्या हुने गरेको अतिरिक्त प्रहरी पोस्ट सिरिया नाकाका एक प्रहरीले बताए। उनले भने, ‘प्रहरी चौकी भएको स्थानमा नेपाली फोनले काम गर्दैन। भारतीय फोन प्रयोग गर्नुपर्छ। अहिले जिल्लाले सुरु गरेको रेडियो प्रविधिले केही राहत भएको छ।’

नाका क्षेत्रमा रहेका सबै सीमा प्रहरी चौकी तथा अतिरिक्त प्रहरी पोस्टमा सञ्चारको समस्या छ। टेलिफोन समस्या हुँदा प्रहरीलाई सञ्चार आदान प्रदानमा समस्या भएको दाङ प्रहरी प्रमुख दुर्गा सिंहले बताइन्। सीमाका प्रहरीले भारतीय फोन प्रयोग गरिरहेको उनले स्विकारेकी छन्। ‘अहिले जिल्लामा लागू भएको रेडियो प्रविधिले फोन सेवामा राहत मिलेको उनले बताइन्। ‘पछिल्लो समय सबै सम्पर्क सेटबाटै हुन थालेको छ’, उनले भनिन्।

प्रहरी कार्यालयले उपलब्ध गराएका सञ्चार सेट पनि सोलारबाट चार्ज गर्नुपरेको र टिकाउ नहुने प्रहरीको गुनासो छ। नाका क्षेत्रमा प्रहरीका कुनै पनि फोन नम्बरमा चाहेको बेला फोन सम्पर्क नहुने जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ। स्थानीयले पटक–पटक फोनको समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।

स्थानीय बासिन्दाले पटक–पटक नेपाल टेलिकम कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म चासो नदिएको स्थानीय अगुवा अमृत खड्काले गुनासो गरे। नाका क्षेत्रमा टेलिफोन समस्या समाधानका लागि काम भइरहेको नेपाल टेलिकमले जनाएको छ।

अन्नपुर्ण पाेस्ट