☰ open Loading... 29 March 2024|  

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा अाेलीले गर्ने
  | १७ चैत्र २०७४, शनिबार १५:१२

रारा तालबाटै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । वर्षभरी नै पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गर्न लागेको हो । उद्घाटन स्थल रारा तालबाटै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोन्धन गर्ने कार्यतालिका छ ।

प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्षलाई पर्यटन वर्षका रुपमा मनाउन लागेको छ । कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न प्रदेश सरकारले रारातालमा कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भ गर्दैछ ।

भौतिक पूर्वाधारका कामहरु सम्पन्न भएपछि मात्रै पर्यटन विकास गर्न नसकिने भएकाले आगामी वर्षलाई पर्यटन वर्षको रुपमा मनाउन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘यहाँको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो’ शाहीले भने,–‘प्रदेश भित्रका सवै पर्यटन क्षेत्रमा पर्यटकहरुलाई सहज रुपमा पु¥याउन हामी कटिवद्ध छौं ।’

कर्णालीको विकासमा पर्यटन दरिलो आधार भएकाले शुभारम्भ रारा तालबाट गर्न लागेको मुख्यमन्त्री शाहीले जानकारी दिए । उनले सुर्खेतदेखी हुम्ला र कालिकोटदेखी पश्चिम रुकुमका पर्यटन क्षेत्रहरुको विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । पर्यटनको खानी रहेको कर्णाली प्रदेशले आन्तरिक र बाह्य पर्यटक भित्राउनमा सरकारले प्याकेज नै घोषाण गर्न लागेको उल्लेख गरे ।

२०७५ सालमा कर्णाली प्रदेशलाई पर्यटन हवको रुपमा मनाउन लागेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले २०७५ सालमा आन्तरिक र बाह्य गरी करिव पाँच लाख पर्यटक भित्राउने लक्ष्य सरकारको रहेको बताए । पर्यटन वर्षले रोजगारीका अवसर सिर्जना गर्ने र गरिवीको दर घटाउने अपेक्षा समेत प्रदेश सरकारले लिएको उनको भनाई छ ।

पर्यटन वर्षको उद्घाटन गरिएपनि प्रदेश भित्रका अन्य जिल्लाका पर्यटन क्षेत्रहुँदै रारासम्म पुग्ने योजना बनाउने गृहकार्यमा रहेको उनले उल्लेख गरे । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनको लागि तयारीमा तिव्रता दिएको जानकारी दिएका पर्यटन वर्षका प्रचारप्रसार संयोजक रावलले सातै प्रदेशका मुख्यमन्त्रीदेखी कुटनीतिक नियोगका प्रमुखहरु रारा पुग्ने जानकारी दिए ।

उनले मानसरोवर जाने पर्यटकहरुलाई प्रदेश भित्रका अन्य पर्यटकिय क्षेत्रमा कसरी पु¥याउने भन्ने विषयमा रुट निर्माण गर्न लागेको रावलको भनाई छ । स्थलगत र हवाई मार्गबाट रारा ताल पुग्न सकिन्छ । तर शुरुवात रारातालबाट गरिएपनि पर्यटन वर्षले प्रदेश भित्रका अन्य पर्यटन क्षेत्रहरुको विकासमा टेवा पुग्ने अपेक्षा सरकारको छ ।

बैशाख १ गते रारामा उद्घाटन हुने पर्यटन वर्षमा पुग्ने कर्णाली राजमार्गमा सडक निर्माणमा तिव्रता दिएको भौतिक पूर्वाधार मन्त्री खड्का खत्रीले जानकारी दिए । उनले नाग्माघाट–गमगढी पुग्ने सडकलाई स्तरोन्नती गर्ने काम भइरहेको बताए । प्रदेश भित्रका अन्य जिल्लाका पर्यटन क्षेत्रहरुसम्म पर्यटकहरुलाई सहज रुपमा पु¥याउन सडकलाई प्रभावकारी बनाउने विषयगत कार्यालयलाई निर्देशन दिएको उनको भनाई छ ।