☰ open Loading... 19 April 2024|  

रारामा प्याराग्लाइडिङ्ग उडान अन्य क्षेत्रभन्दा सहज
  | ६ बैशाख २०७५, बिहीबार १७:०८

नन्द बहादुर रोकाया
मुगु । रारा ताल नजिकै रहेकाे मुर्माटपबाट शुरु गरिएको प्याराग्लाइडिङ्ग उडान सफल भएको छ । समुन्द्री सतहदेखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफल रुपमा प्याराग्लाइडिङ्ग उडान गरिएको हो ।

रारा तालको छेउमा रहेको मुर्माटपबाट प्याराग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्याराग्लाइडिङ्ग उडान गर्न अन्य क्षेत्रको भन्दा सहज भएको बताएका छन् ।

बैशख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कर्णाली–रारा पर्यटन वर्ष २०७५ को शुभारम्भसंगै प्याराग्लाईडिङ्गको सफल उडन सुनुवारले गरेका छन् ।

नेपालको ४६ जिल्लामा उडान गरेको अनुभवम सुनाउँदै उनले अन्य क्षेत्रको तुलानामा राराको मुर्माटपबाट प्याराग्लाइडिङ्ग उडान गर्दा फरक अनुभुति भएको जानकारी दिए ।

विदेशी मुलुकका २३ र नेपालका ४६ जिल्लामा प्यारा ग्लाइडिङ्ग उडान गरेको र अन्य क्षेत्रमा प्याराग्लाइडिङ्ग उडान गर्दा सीमिति क्षेत्र देखिने गरेपनी राराको मुर्माटपबाट चारै तिरका अग्ला अग्ला हिमाल तथा हिम शिखरको मनोरम दृश्य देख्न सकिने उल्लेख गरे ।

राराको मुर्माटपबाट प्याराग्लाइडिङ्गमार्फत ५० किलोमिटर दुरीमा रहेका जिल्लाहरुमा पुग्न सकिने उनले बताए । मुर्माटपबाटै यातायातको रुपमा पनि प्याराग्लाइडिङ्गको प्रगोग गर्न सकिने उनको दावी छ ।

मुर्मापबाट प्याराग्लाइडिङ्ग उडानबाट ४५ मिनेटमा हुम्ला र २५ मिनेटमा जुम्ला पुग्न सकिने उनले जानकारी दिए । रारा अवोलकन गर्न आउने पर्यटकहरुले राराको आन्नद लिँदै प्याराग्लाइडिङ्गमै उडेर चारै तिरका दृश्य अवोलकन सकिने भएकाले व्यवसायीक रुपमा लागे थप पर्यटक भित्रीने सम्भावना रहेको उनको भनाई छ ।

तर रारामा प्यारा ग्लाइडिङ्गउडान गर्दा भौगौलिक चुनौती हुने गरेको बताएका उनले भने,–‘राराको मुर्माटपमा बिहान, दिउँसो र बेलुका फरक फरक कोणबाट हावा चल्ने भएकाले चुनौति पनि छ, परिपक्क पाइलट बाहेक अन्यले प्याराग्लाइडिङ्ग उडान गर्दा खतरा पनि हुनसक्छ ।’

कर्णाली प्रदेशलाई समृद्ध बनाउन रारामा नियमित रुपमा प्याराग्लाइडिङ्ग उडान गर्ने व्यवस्था मिलाईनु पर्ने पर्यटन ब्याबसायी देविकृष्ण रोकायाले बताए । रारामा भौतिक पुर्वाधाराको व्यवस्था गरी प्याराग्लाइडिङ्ग उडान गरे पोखरा पछिको व्यस्त स्थान रारा हुने उनको बुझाई छ ।