☰ open Loading... 19 April 2024|  

कर्णाली प्रदेश सरकारले ल्याउन लागेकाे नीति तथा कार्यक्रम प्रभावित हुन सक्ने
  | २४ जेष्ठ २०७५, बिहीबार १८:५९

सुर्खेत । भाेली बस्ने संसद बैठकमा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५।०७६ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेको छ । दिउसो ३ बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

बिहिबारकाे बैठकमा प्रतिपक्ष दलका सांसदहरुले सरकारले मनलाग्दी काम गरेको भन्दै जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेर स्थगन भएकाे छ । छलफलमार्फत समाधानको निष्कर्ष निकाल्न सभामुख राजबहादुर शाहीले स‌सद सुचारु गर्न बिहिबार नै छलफल बाेलाएका थिए । आधा घण्टा संसद बैठक स्थगन गरेर छलफल बोलाइए पनि विना निष्कर्ष बैठक सकिएको छ । छलफल नै निष्कर्षविहिन बनेपछि सरकारले भाेली ल्याउने नीति तथा कार्यक्रम समेत प्रभावित हुने देखिएको छ ।

नेपाली कांग्रेसका प्रतिपक्ष दलका सांसदहरुले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणको रातो किताव विनै प्रदेश सरकार मन्त्रीहरूले खर्च गरेको आरोप लगाउँदै संसद बैठक अवरूद्ध गरेका छन् ।

‘स्पष्ट र पारदर्शी रुपमा हामीले उठाएका मागहरु सरकारले सम्बोधन गरे शुक्रबार ल्याउन लागिएको नीति कार्यक्रम ल्याउन दिन्छौं’ प्रतिपक्ष दलका सांसद दिनवन्दु श्रेष्ठले भने,–‘लामो समयदेखी स्पष्ट सरकारसंग जवाफ माग गर्दापनि प्रतिपक्षलाई पेल्ने सरकारको परिपाटीले बिहिबारको संसद बैठक अवरुद्ध गरिएको हो ।’

कार्य व्यवस्था समितिको बैठक बिहिबार नबसेको जानकारी दिएका श्रेष्ठले शुक्रबार दिउसो बस्ने संसद बैठकभन्दा अघि प्रयाप्त समय भएकाले सरकारले स्पष्ट र पारदर्शी रुपमा जवाफ दिए संसद अवरुद्ध नगर्ने बताए ।

शुक्रबार ल्याउन लागिएको नीति तथा कार्यक्रमभन्दा अघि स्पष्ट जवाफ नदिए संसद बैठक अवरुद्ध हुने श्रेष्ठको भनाई छ । ‘भोलीको संसद बैठक अघि प्रयाप्त समय छ, सरकारले स्पष्ट जवाफ दिन्छ भन्नेमा हामी विश्वस्त छौं’ श्रेष्ठले भने ।