☰ open Loading... 18 April 2024|  

कर्णाली प्रदेश : ‘प्रदेश नीति संघीय सरकारसंग बाझियो’
  | ३० जेष्ठ २०७५, बुधबार १२:१९

सुर्खेत । कर्णाली सरकारले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम संघीय सरकारको नीतिसंग बाझिने गरी ल्याएको भन्दै सांसदहरुले आलोचना गरेका छन् । प्रदेशसभामा सोमबारदेखि जारी छलफलमा भाग लिएका अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गरे ।

सांसदहरुले संघीय सरकारको नीति तथा कार्यक्रम र, बजेटसंग बाझिने गरी आएको भन्दै प्रदेशको बजेटमार्फत् सच्याउन माग गरे । सरकारको तर्फबाट शनिबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशसभामा एक सय ७५ बु“दे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

विपक्षी दल कांगे्रसका नेता जीवनबहादुर शाहीले आर्थिक सर्भेक्षणलाई मध्यनजर नगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । ‘आर्थिक सर्भेक्षण नीति तथा कार्यक्रम र, बजेटका लागि मार्गदर्शक हो, तर सरकारले आर्थिक सर्भेक्षणका विविध पक्षलाई बेवास्ता गर्दै हचुवा, अव्यवहारिक र केवल कागजी पाना भर्ने किसिमले ल्याएको छ,’ उनले भने, ‘नीति तथा कार्यक्रमले प्रदेशको क्षमतालाई सम्बोधन गर्न सकेन ।’ संघीय सरकारको भन्दा बढी नीति ल्याएको, प्रमुख प्रँथमिकताका क्षेत्रहरु किटान नगरिएको र संघीय नीतिसंग बाझिने खालेको आएको टिप्पणी गरे ।

मनमोहन ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम, विमानस्थल निर्माण, विद्युत आयोजना, रेलमार्गको सम्भाव्यता अध्ययन लगायतका विषय केन्द्र सरकारको नीति तथा कार्यक्रमसंग बाझिने गरी ल्याएको उनको भनाई थियो । सरकारले यार्सागुम्बालाई प्राथमिकता दिनुको साटो प्रतिबन्धित जडीबुटीलाई प्रशोधन गर्ने नीति ल्याएको भन्दै शाहीले आपत्ति जनाए ।

उनीसहित बोल्ने अन्य सांसदले समेत प्रतिबन्धित ‘भाङ्गो’ को प्रसंग कसरी आयो भनी प्रश्न गरे । सरकारले आधिकारिक दस्तावेज ल्याउ“दा गहन अध्ययन, छलफल गरेरमात्र सार्वजनिक गर्न सासदहरुले आग्रह गरे ।

नेकपाका सांसद गुलाबजंग शाहले पनि संघीय सरकारको नीति तथा कार्यक्रम, बजेटसंग बाझिने गरी प्रदेशको नीति आएको टिप्पणी गरे । ‘संविधानको मर्म अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दा उपर्युक्त हुन्छ,’ उनले भने, ‘संघीय नीतिसंग मेल नखाने हो भने प्रदेशको नीति कागजमै सीमित हुन्छ ।’ उनले यसपटक पनि क्रमागत प्राथमिकता नतोकिएको बताए । प्रदेश सरकारको दोस्रो नीति तथा कार्यक्रमलाई ‘पहिलो’ उल्लेख गरेर सुरुमै शाब्दिक त्रुटी गरेको बताए ।

सांसद हिमबहादुर शाहीले भ्रष्टाचार नियन्त्रणबारे नीति तथा कार्यक्रममा उल्लेख नगरिनु रहस्यमय भएको औंल्याए । सांसद अम्मरबहादुर थापाले नीति तथा कार्यक्रमको स्वागत गरेपनि शब्द चयनमा धेरै गल्ती गरेको बताए । ‘सपना देख्नु राम्रो हो, सपनाले अलि विश्वसनीय र आम जनताले पत्याउने खाले हुनुप¥यो’ थापाले भने ।

उनले नीति तथा कार्यक्रम योजना समेट्दा सांसदहरुमा अविश्वास पैदा भएको बताए । सांसद कृष्णा शाहले सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता नराखिएको बताइन् ।

सांसद ठम्मर विष्टले सांसदको सुझाव नलिई विज्ञलाई जिम्मेवार बनाएर नीति तथा कार्यक्रम ल्याएको बताए । नीति तथा कार्यक्रमको छलफलमा दिनबन्धु श्रेष्ठ, देवी ओली, पद्मा खड्का, कौशिलावती खत्री, गणेशप्रसाद सिंह, पद्म रोकाया, बद्मीक्वारी बोहरा, राजु नेपाली, गोपाल शर्मा ले छलफलमा भाग लिए । सांसदहरुले नीति तथा कार्यक्रम धेरै अस्पष्ट, लामो र द्धिविधायुक्त रहेको भन्दै बजेट निर्माणमा विशेष ध्यान दिन सुझाव दिए ।