☰ open Loading... 20 April 2024|  

पर्दामा फर्किइन् ‘प्रेमगीत २’ हिरोइन, बाँधियो शारुकसँग जोडी
  | ४ असार २०७५, सोमबार १८:२८

युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘मेरी मामु’ मा देखिन लागेकी हुन् ।

‘प्रेमगीत’ को दुई सिरिज निर्माता सेन आफैंले निर्माण गरेका थिए । यसको तेस्रो सिरिजको कामलाई केही महिना पोस्टपोन्ड गर्दै उनले एक पारिवारिक फिल्म निर्माण गर्न कसिएका हुन् । ‘मेरी मामु’ ले एक आमा र छोराको कथा बोल्छ । याम थापाले यो फिल्म निर्देशन गर्दैछन् ।

यसमा अश्लेषाको जोडी फिल्म ‘रानी’ फेम अभिनेता शारुक ताम्राकारसँग बाँधिएको छ । फ्लोरमा जानु अगावै यो फिल्मको रिलिज डेट भदौ १५ गतेलाई तय गरिएको छ ।

‘मेरी मामु’ मा निर्माता सेनका ६ वर्षे छोरा आयूब सेन लिड रोलमा रहनेछन् । आमाको भूमिकामा नव-नायिका कुसुम गुरुङ अनुबन्ध भएकी छन् ।

निर्देशक थापाको कथा रहेको फिल्मको छायांकन केही दिनबाट सुरु हुने निर्माता सेनले जानकारी दिए । भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्टलगायतका कलाकारहरु यस फिल्मका लागि फाइनल गरिएको छ ।