☰ open Loading... 19 April 2024|  

एनजिओको जागिर छाडेर व्यापारमा चम्किएका ‘भण्डारी’
  | २१ श्रावण २०७५, सोमबार १६:४६

सुशील खड्का
सुर्खेत । पढाईमा स्नातक (डिप्लोमा) पूरा गरेर एनजिअाेमा होमिएका जनक भण्डारी सिभिल ओभरसियर हुन् । समयमै पढाई सकिएपछि अाइडिएस नेपालमा उनले भनेजस्तै काम पाए । रुकुम कार्यक्षेत्र भएपछि उनले तलव पनि राम्रै थियो । तैपनि उनले जेनतेन एक वर्ष अाइडिएसमै विताए । यति मात्रै हैन अाइडिएस नेपालपछि उनले एन्फो संस्थामा आवद्ध भए ।

उनले सरसफाईका क्षेत्रमा काम गर्दै तीन वर्ष बिताए । तलवदेखी फिल्ड भत्तासम्मको राम्रो सुविधा पाइरहेकै थिए । तर उनलाई पैसाले भरिपूर्ण गराउँदै लगेपनि परिवारदेखी अलगै बस्दाको पीडा अनुभूत गरायो । जागिर छाडौं विकल्प थिएन तैपनि भण्डारीले तीन वर्ष एन्फोमै बिताएर अन्तत रेडक्रसमा होमिए । उनले जति संस्थामा काम गरेपनि सरसफाईको क्षेत्रमा नागरिकलाई जागरुक गराउने जिम्मेवारी पाए ।

केही सिके केही जाने र वीरेन्द्रनगरमै पृथक व्यवसाय गर्ने अाँट मनमा जगाउन थालेकाे थिए भण्डारी भन्छन्, ‘संस्थामा आवद्धहुँदा नागरिकलाई सरसफाई र शुद्ध खानेपानी कसरी पिउने सकिन्छ भन्ने विधि नै सिकाउन त्यो अवधिमा तल्लिन भइरहे । तर सन्तुष्टी हुन नसक्दा अन्तत जागिरै छाडे ।’
व्यवसाय प्रवेश
अरुका लागि मात्रै कति गर्ने परिवार र आफ्ना लागि पनि केही गर्ने सोच लिएर एनजिओको जागिर छाडे । जागिर छाडेपछि उनले विदेश जाने सपना पनि बुनेका थिए । यतिसम्म हैन भिसा प्रक्रियामा समेत गइसकेको थियो । तर अन्तत उनले बाटो मोडे दृढ अठोटका साथ विदेश जाने प्रक्रिया छाडेर व्यवसायमा होमिए ।

‘अरुलेभन्दा पृथक व्यवसाय गर्ने सोचका साथ वीरेन्द्रनगरमा व्यवसायको शुभारम्भ गरे’ भण्डारी भन्छन् ‘५० हजारबाट शुरु गरेको व्यवसाय अहिले ५० लाखको पुगेको छ । अहिले यसैमा सन्तुष्ट छु ।’ वीरेन्द्रनगरको हटिया लाइनमा भण्डारी फिल्टर घर सञ्चालन गरिरहेका भण्डारी अहिले अब्बल व्यवसायी बनेका छन् ।

‘शुरुमा व्यवसाय गर्दा डर लाग्यो, खासै कारोवार भएन्’ भण्डारी विगत सम्झदै भन्छन्, ‘अहिले वीरेन्द्रनगरमै नमुना व्यवसायबाट सफलता पाउँदा सन्तुष्ट बनाएको छ ।’ व्यपारबाटै राम्राे अाम्दानी गरिरहेकाे उनले बताए ।

अरुले नगरेको व्यवसायलाई स्थापित गर्न फिल्टर घर सञ्चालन ल्याएका भण्डारीले केही वर्ष निकै दुख झेले । एनजिओमाहुँदा पनि पानीकै क्षेत्रमा काम गरेकाले वीरेन्द्रनगरमा स्थापित हुन समय नलागेको उनको कथन छ । ‘छिटै स्थापित हुने व्यवसाय हाेइन याे पानी शुद्धिकरण गर्ने नयाँ नयाँ प्रविधि भित्र्याएर विस्तारै सवैकाे मन जित्न सफल भएकाे छु’ भण्डारी थप्छन् ।

‘पानी शुद्धिकरणदेखी किचन सामग्री समेत विक्री गर्दै आएका भण्डारी नयाँ सोचका साथ जसरी नयाँ व्यवसाय स्थापित गरे । त्यसरी नै हरेक नागरिकलाई पानी शुद्धिकरण गरेर पिउनुपर्छ भन्दै एक घर एक फिल्टर पु¥याउने योजनामा छन् ।

सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोटसम्म फिल्टरका सामग्री बिक्री गर्दै आएको भण्डारीले जानकारी दिए । प्रदेशभरी नै फिल्टरका सामग्री पु¥याउने लक्ष्य लिएको उनी बताउँछन् । परिवारको सहयोगले व्यवसायले यो उचाईँ लिएको भण्डारी भने सन्तुष्ट छन् ।

भण्डारी फिल्टर घरमा ९ सयदेखी ५० हजार मुल्यसम्मका फिल्टर सामग्रीहरु भण्डारीले राखेका छन् । न्युन आम्दानी भएको परिवारदेखी उच्च आम्दानी गर्ने परिवारलाई आवश्यक सामग्री सुर्खेतबाट उपलब्ध गराउँदै आएका छन् ।

‘व्यवसाय छोटो समयमै अर्बपति बन्ने हेतुले गरेको हैन’ भण्डारीले भने, ‘नागरिकलाई फिल्टरसम्वन्धिका सामग्री खरिद गर्न बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्दै एउटै छानोमुनी सबै खाले सामग्री राखेको छु ।’

योजना
एक कोठामा सिमित व्यापारलाई कम्पनीमा रुपान्तरण गर्ने सोचमा भण्डारी छन् । उनले हाल दुई जनालाई रोजगारी दिएका छन् । तर निकट भविष्यमै ५० जनालाई रोजगारी दिने गरी अघि बढेका छन् ।

भण्डारी भन्छन्, ‘अवसरहरु स्वेदशमै छन् । सदुपयोग गर्दै परिश्रम गर्ने हो राम्रो आम्दानी आफ्नै भूमिमा लिन सकिन्छ । विदेश मात्रै हाेमिनु राम्रो हैन् ।’