☰ open Loading... 19 April 2024|  

बाल विवाह मुक्त वडामै २० वर्षमुनीका ६० किशाेरी अामा
  | २३ श्रावण २०७५, बुधबार ११:२०

मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालिका–५ मा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । कापी किताब बोकेर विद्यालय जाने बेलामा विहे गरेर शारीरिक रुपमा अपरिपक्क अवस्थामै काखमा बच्चा बोक्न बाध्य छिन् खत्याड ५ लमेरा गाउँकी कल्पना बुढा । उनी १७ वर्षकी भइन्, उनको नौ महिनाको छोरा छ । विहे गरेको एक वर्षमै छोरा जन्मेको उनले बताइन् ।

‘गत वर्ष एसइइ दिएँ, २ बिषयमा फेल भएँ, यो वर्ष घरको काम र सानो छोरा हुँदा परीक्षा दिन पाईनँ ।’ बुढाले भनिन्, ‘दुःख त लाग्छ पढाई छुट्यो, केही थाहा नभएर विहे गरियो, बच्चा जन्मियो, विद्यालय जाने मन लाग्छ तर मिल्दैन ।’

कल्पना उदाहरणमात्रै हुन उनी जस्तै अर्की २१ वर्षीया वडा नं ५ कै कोटील्ला गाउँकी इन्दीरा बुढाले पनि ६ वर्ष अगाडि भागेर विहे गरिन् । उनका एक छोरा र एक छोरी छन् । ३ वर्षकी छोरी र ९ महिनाको छोरा जन्माएकी उनी यति बेला घरको काम र छोरा छोरीको स्यहारमा जुटेकी छिन् । उनले भनिन् ‘१३ वर्षको कलिलो उमेरमा भागेर विहे गरियो, जतिबेला आमा बुवाको काखमा रमाउने बेला अर्काको घरको झमेलामा परियो ।’

वडा कार्यालयको लामो पहलमा पनि रोकिएन
बाल विहे र २० वर्ष नपुगेरै बच्चा जन्माउने प्रवृत्तिलाई रोक्न वडा कार्यालयबाट अनेक पहल गरिँदा पनि रोक्न नसकेको ५ नं वडा कार्यालयले जनाएको छ ।

३ वर्ष यता खत्याड गाउँपालिका वडा नं ५ अन्तरगतका कवाँ, कोटील्ला, भागोटी, खमाले, लमेरा, चागपान्डे लगायतका गाउँमा २० वर्ष मुनिका ६० बढी किशोरीहरु आमा बनेको पाइएको वडा नं ५ का कम्प्युटर तथा लेखा सहायक भक्तबहादुर रोकायाले जानकारी दिए ।

एसइई परीक्षा पछि बिहे तिर
खत्याड गाउँपालिका ५ नं वडा लमेरा गाउँमा धेरैजसो कलिला अनुहारहरु एसइई परीक्षा दिएर विहे गरेका भेटिन्छन् । ‘पढाइ बीचमै छोडेर बिचैमा विहे गर्ने अनि बच्चाले बच्चा जन्माएको देखेर साह्रै दुख लाग्छ ।’ खमाले गाउँकी महिला स्वास्थ्य स्वयंसेविका मसरी बुढाले भनिन् । आफुले लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र कम उमेरमा आमा नबन्न अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न सबैमा सल्लाह दिने गरेको उनी बताउँछिन् ।

२० वर्ष नपुगेका सुत्केरी ५० बढी
खमाले बर्थिङ्ग सेन्टरको तथ्यांक अनुसार ३ वर्षमा ५० भन्दा बढी २० वर्ष नपुगेका किशोरीहरुले बच्चा जन्माएका छन् । २० वर्ष नपुग्दै आमा बन्ने समस्याले बच्चाहरु कम तौलको जन्मिने, आमा र बच्चामा कुपोषण हुने, रक्तअल्पता हुने, इक्लाम्सिया हुने लगाएत समस्या देखिन सक्ने तथा आमा र बच्चाको ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

बाल विवाह मुक्त घोषणा वडा
साबिकको खमाले गाबिस हालको खत्याड गाउँपालिका वडा नं. ५ २०७२ मंसिर १० गते बालबिवाह मुक्त वडा घोषणा भइसकेको थियो । जिल्लाकै पहिलो र कर्णाली अञ्चलको तेस्रो बाल बिवाह मुक्त घोषण गरिएको वडा भएपनि बालबिवाहको संख्या थपिँदै गएको त्यस क्षेत्रका जानकारहरु बताउँछन् ।

नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको खवर नयाँ पत्रिकामा छ ।