☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
पुलले जाेड्याे जामुलार्इ, हट्याे जाेखिमकाे डुंगा यात्रा
  |

सुर्खेत । सुर्खेतको भेरी नदीमा २०७१ सालमा ठूलो बाढी आयो । बाढीले पञ्चपुरी नगरपालिका–१० जाने भेरी नदी माथिको झोलुङ्गे पुल बगायो । ९३ घरपरिवार विस्थापित बने ।

बर्खे भेलमा भेरी नदीमा डुंगा चढेर सुर्खेत आउनुपर्ने बाध्यता जामुबासीलाई भइरह्यो । डुंगामा भेरी तर्नुभन्दा पहिले कुलदेवतालाई सम्झेर तर्नुपर्ने बाध्यता थियो । तर, अहिले आएर उक्त बाध्यता सधैंका लागि समाप्त भएको छ । अहिले भेरी नदीमाथि पक्की पुल निर्माण सम्पन्न हुने चरणमा छ ।

‘उहिले हामीले ज्यान जोखिममा राखेर डुंगा चढ्ने र पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ पञ्चपुरी–१० जामुका स्थानीय सुरेन्द्र विष्टले भने, ‘अब त हामीलाई भेरी पारी जान केही समस्या भएन ।’ उनले राति पनि कहिलेकाहीँ भेरी नदी तर्नुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै पुल बनेपश्चात् जामुका स्थानीयलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिए ।

तिखाकुनामा आएको बाढीले घरबास नै बगाएका स्थानीय रेशम राजीले पुल बनेको देख्दा औधी खुशी लागेको बताए । ‘पुल बन्दा हामी विस्थापितको घाउमा केही भएपनि मल्हम लगाएको छ,’ उनले भने, ‘यसले हाम्रा परिवारलाई जोड्ने र भेरीको खतरा समाप्त पार्ने काम गरेको छ ।’

पक्की पुल निर्माण सम्पन्न नभएपनि त्यहाँका स्थानीयले निर्बाध रुपमा पैदल आवतजावत गर्न थालेका छन् । बाबियाचौरबाट तिखाकुनाको पुलसम्म अटो रिक्साको यात्रा गर्ने गरेका छन् भने त्यहाँबाट पुल पारी पनि अटो रिक्सा लाइन लाग्ने र सेवा दिने गरेका छन् ।

जामुस्थित भेरी नदीमा लुम्बिनी—हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको लम्बाइ ३ सय ५० मिटर रहेको छ । पुलको निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ भने सम्झौताअनुसार पुल बनाउने अवधि ५ वर्षको भएपनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण हुने निर्माण कम्पनीका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए ।

‘हामी लक्ष्यभन्दा पहिले नै पुल निर्माण कार्य सम्पन्न गरिसक्ने छौं,’ उनले भने, ‘अहिले पुलको बीच भागमा प्लास्टर गरिएको र अबको केही दिनमा नै पुल पूर्ण रुपमा तयार हुनेछ ।’ उनले स्थानीयबासी, राजनीतिक दल, काम गर्ने कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल निर्माण कार्यमा तीव्रता आएको प्रतिक्रिया दिए ।

‘अर्को असार मसान्तसम्म समय भएपनि हामीले यही भदौसम्म पुल निर्माण गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘पुललाई सुरक्षाका लागि हामीले ४ सय मिटरभन्दा बढी नदीको किनारामा ढुंगा भरेका छौं ।’ लाेकान्तरबाट




प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०७५     3:35:32 PM