☰ open Loading... 18 April 2024|  

वीरेन्द्रनगरकाे बेलघारीका घर घरमा बल्याे पाइपबाट ग्याँस
  | ९ भाद्र २०७५, शनिबार १४:०५

सुर्खेत । बधशालाको फोहोरबाट वीरेन्द्रनगर–१० बेलघारीमा बायोग्यास प्लान्ट निर्माण भएको छ । यहाँको मुश्लिम बस्तीका झण्डै एक दर्जन घरमा एकसय घनमिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।


उनीहरुले गत वर्ष पुसदेखी ग्यास प्रयोग गर्दै आएका छन् । केपी व्यवसायिक सेवा प्रा.लि.का प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले १०० घनमिटरको बायोग्यासबाट अहिले करिव एक दर्जन परिवारले ग्यास उपभोग गरेको जानकारी दिए ।

उनले त्यसको क्षमता अझ बढाइने बताएका । बधशालामा बध गरिएका राँगाको मलमूत्रबाट उत्पादन भएको ग्यासका कारण बजारका एलपी ग्याँस सिलिण्डर विस्थापित उल्लेख गरे ।

घरघरमा ग्याँस प्रयोग गरेवापत प्रति परिवार पाँचसय शुल्क लिने गरिएको छ । एकसय घनमिटरको बायोग्यास प्लान्टको क्षमता २५ घरपरिवारसम्मलाई खाना पकाउन मिल्छ ।

बधशालाको फोहोरबाट उत्पादन भएको ग्याँस एकातिर खाना पकाउन प्रयोग गरिएको छ भने अर्कोतिर कम्पोष्ट मल विक्री गर्ने तयारी पनि भइरहेको प्रा.लि.का प्रवन्ध निर्देशक ढकालले जानकारी दिए ।

ग्याँस प्रयोग गरेवापत मुश्लिम परिवारले बेलघारी सामुदायिक बायोग्यास उपभोक्ता समितिलाई शुल्क तिर्ने गरेका छन् । मासिक उठाएको शुल्क कोषमा राखेर मर्मत सम्भारमा खर्च गर्ने गरिएको समितिका अध्यक्ष धर्मराज विकले बताए ।

बधशालाको फोहोरबाट ग्याँस उत्पादन भएपछि त्यहाँका उपभोक्ताहरुले बजारको एलपी ग्याँस सिलिण्डर विस्थापित गरेको उनले जनाए । उनका अनुसार ती नौ घरपरिवारले एलपी ग्याँस सिलिण्डर फिर्ता गरिसकेका छन् ।

बधशालाको फोहोरबाट उत्पादन गरिएको ग्याँसबाट चौवीसै घन्टा खाना खाजा र कुँडो पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरिएको अध्यक्ष विकले जनाए ।

दैनिक पाँच वटा राँगा काटिने सो वधशालामा दैनिक एक क्वीन्टल फोहोर संकलन हुने गरेको छ । सो वधशालाबाट उत्पादन गरिएको ग्याँसले बजारिया ग्याँसलाई विस्थापित गर्न सफल भएको भन्दै अध्यक्ष विकले त्यसको मल पनि विक्री गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अहिलेसम्म सो बधशालाबाट करिव २०० सिलिण्डर ग्यास उत्पादन भइसकेको छ ।

वधशाला निर्माणमा अहिलेसम्म २८ लाख खर्च भइसकेको र सरकारी अनुदान अहिलेसम्म प्राप्त नभएको गुनासो अध्यक्ष विकले गरे । बधशालामा २५ जनाले रोजगारी पाएका छन् ।

बधशालामा रहेको बायोग्यास प्लान नेपालकै पहिलो सामुदायिक बायोग्यास प्लान्ट भएकोले कर्णाली प्रदेशमा बनाउन चाहेमा उत्पादनको मात्रा हेरी २० हजारदेखि २७ हजारसम्म अनुदानको व्यवस्था छ ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्याँस पु¥याउने नीति सुर्खेतको बेलघारीको बायोग्यास प्लान्टले पनि पूरा गरेको उल्लेख गरे ।

६ घनमिटरको प्लान्टमा २७ हजार, चार घनमिटरकोमा २५ हजार, दुई घनमिटरकोमा २० हजार र १२.५ घनमिटरभन्दा माथिकोमा उत्पादन मात्राको आधारमा २० हजारदेखि माथिसम्म अनुदान पाइने ढकालले बताए ।