☰ open Loading... 19 April 2024|  

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो
  | १० भाद्र २०७५, आईतवार १७:११

सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । ६ सय रुपैयाँ प्रति किलो खसीबोकाको मासु विक्री हुँदै आएकोमा मासु विक्रेता आफुखुशी मूल्य बढाएर ७ सयदेखि साढे ७ सय रुपैयाँमा विक्री वितरण गईरहेका छन् ।

मूल्य समायोजन गर्ने निकायले मौन सहमति दिएका कारण व्यापारीले आफुखुशी खसीको मासुको मूल्य बढाएका हुन् । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढाउनु परेको सुर्खेत मासु व्यवसाय संघका अध्यक्ष जनकबहादुर थापाले बताए ।

‘सिधै किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य बढाउनु परेको छ,’ अध्यक्ष थापाले भने, ‘तीन महिना अघि प्रतिकिलो ३५० रुपैयाँमा खरिदविक्री भएको जिउँदो खसी अहिले बढेर तीन सय ८० प्रतिकिलो खरिद गर्नु पर्दा मूल्य बढाउन बाध्य हुनु परेको हो ।’

उनले मूल्य समायोजनका लागि भदौ १ गतेदेखि खसीबोकाको मासु प्रतिकिलो ७ सयदेखि ७ सय ५० रुपैयाँमा विक्री वितरण भईरहेको जनाए । उनका अनुसार खसी मासु व्यवसायीहरुको साउन २२ गते बसेको भेलाले मूल्य बृद्धि गर्ने निर्णय अनुसार मासुको मूल्य बढेको हो ।

जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर खसीको मासुको मूल्य बृद्धि गरिएको उनका भनाइ छ । सदरमुकाम वीरेन्द्रनगरमा खसीबोकाको मासुको मूल्य बृद्धि भएपछि जिल्लाभरी नै मासुको मूल्य बढेको हो ।

यता खसी मासु व्यवसायीले खशीबोकाको मासुको मूल्य बृद्धि गरेपछि उपभोक्तामा यसको प्रत्यक्ष असर परेको उपभोक्तावादीहरु बताउँछन् । किसानले खसीको मूल्य बढाएका छैनन् ।

व्यवसायीले कसैको वास्तै नगरी मासुको मूल्य एक्कासि बढाउँदा नियामक निकायले मासुको अव्यवस्थित कारोबारलाई रोक्न कुनै चासो नदिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्मा बताउँछन् ।

उपभोक्ताले यसको नियमन गर्न सरकारलाई आग्रह गरेका छन् । खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि व्यहोरिरहेका उपभोक्तालाई पछिल्लो समयमा देखिएको मासुको मूल्य बृद्धिले थप मर्का पर्ने उनको भनाइ छ ।