☰ open Loading... 19 April 2024|  

‘बयलकोटे हमालले चम्काएको फिटनेस’
  | १५ भाद्र २०७५, शुक्रबार ०५:४८

प्रमोद हमाल साविकको गाविस मालिका–४ बयलकोट दैलेखमा जन्मिएका हुन् । एक कक्षा बयलकोटमै पढेका उनी हजुरबुवाको काँधमा बसेर २०३५ सालमा सुर्खेत झरे । मध्यम वर्गिय परिवारका हमाल सुर्खेतको रोजल्याण्ड बोर्डिङ स्कुलमा बाँकी पढाइको आरम्भ गरे । ६ कक्षासम्म त्यहीँ स्कुलमा पढेका उनले बाँकी पढाई जनमावि सुर्खेतबाट एसएलसीसम्म पढे । स्कुले जीवनबाटै खेलकुदमा रुची राखेका हमालले जिन्दगीमा थुप्रै संघर्ष गरे । ‘स्कुले जीवनमै बक्सीङ्ग खेल्थे । ऊ बेलाको मध्यपश्चिम स्तरिय बक्सीङ्ग प्रतियोगितामा तेस्रो भए’ हमालले विगत कोट्याउदै भने, ‘खेलप्रति यति क्रेजी थिए थिए तर शरिरीरलाई पनि कसरी फिटनेश बनाउने भन्नेमै ध्यान दिएकै हुन्थे ।’


एसएलसीसम्मको पढाई सकिएपछि मुवासंगै पसलमा काम गर्न हौसिन्थे हमाल । फुटबलप्रति रुची भएपनि शरिरीलाई तन्दुरुस्त बनाउन संघर्षशील भएका हमाल ०५५ सालमा नगरपालिकामा जागिरे खाए ।

जागिर यात्रा शुरु भएपनि हमालको रुची भने खेलकुदैमा थियो । पछि उनले जागिर छाडे बस किनेर मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिमा ईन्चार्जको भूमिका निर्वाह गरे ।

जिन्दगीको यात्रा जता मोडिएपनि खेलप्रतिको लगाव भने छुटाएनन् । समितिमै हुँदा खेलकुद विकास समितिको हलमा जिम स्थापना भएपछि उनले औपचारिक रुपमा त्यहीँ जिम सिक्ने अवसर पाए । झण्डै ६ वर्षसम्म उनले त्यहीँ शरिरलाई स्वस्थ र फिटनेस बनाउन दैनिक सिकिरहे ।

‘यो बेलाजस्तो प्रविधिको विकास थिएन्’ हमालले थपे, ‘जानी नजानी आफै शरिरलाई फिटनेस बनाउन जिम गरियो । त्यो प्रयाप्त थियो वा थिएन् पत्तै भएन् ।’

छोरीले प्रश्न सोधेपछि…
भारतको सिमलामा अध्ययन गरिरहेकी छोरी विदामा घर फर्किईन् । सुखसयलको देशमा कक्षामासंगै पढ्ने दौंतरीले तिम्रो बुवा के गर्नुहुन्छ भन्ने प्रश्न ठोक्याइरन्थे । साथीहरुका यी वचनले आजित भएकी छोरीले भारतबाट नेपाल आएको बेला बुवा (प्रमोद) लाई सोधीन्, ‘बाबा हजूरले के गर्नुहुन्छ ? मेरा साथीहरुका बुवा कोही सरकारी जागिरे, कोही शिक्षक, कोही व्यापारी हुनुहुन्छ ? मलाई साथीहरुले सोध्दा के जवाफ दिऊ भन्नुहोस् त ?’

छोरीले एकै पटक यस्ता अनेकौं प्रश्न तेर्साउँदा हमाल झस्किए । नझस्किउन पनि कसरी छोरीले सोधेको प्रश्नको ठोस उत्तर दिने हिम्मत बुवा (हमाल) मा थिएन् । हमालले मनमनै गुनगुनाए स्थायी व्यवसाय वा जागिर नहुँदा छोरीलाई पनि अप्ठेरो भएछ । आफू आवद्ध सबै काम छाडेर विदेश हानिने योजना बुने ।

व्यवसाय छोडे र गाडी बेचेर अन्तत २०६४ सालको अन्त्यतिर हमाल परिवारलाई काठमाडौं राखेर अफगानस्तान हानिए । उनले त्यहाँ सुरक्षाको जिम्मेवारी पाएपनि शरिरलाई फिटनेश बनाउने खास तरिकाहरु त्यहीँ सिके ।

कामको समयमा बाहेक अन्य समयमा इन्टरनेटको माध्यमबाट जिम अफगानस्तानमै सिकेको बताएका हमालले शारिरको फिटनेस अफगानस्तान पुगेपछि बनाएको सुनाए । ‘शरिरको फिटनेश बनेपछि थप केही गर्ने इच्छा जाग्यो ।’ हमालले थपे, ‘थप ज्ञान लिएर सिक्ने अवसर जुराइरहे ।’

चार वर्ष अफगानस्तानमै विताएका हमालले उनी काम गर्ने सपिङ्ग महलमा वम विस्फोट भयो । त्यो घटनाले उनलाई त्यहाँ बस्न मनले मानेन् । अन्तत उनले अफगानस्तान छाडेर नेपाल फर्किए । केही महिना नेपाल विताएका हमालले फेरी विदेश नै हानिने योजना बुने ।

उनी अन्तत दुवै गए । त्यहाँ पुगेपछि अमेरीकन सेनाहरुसंगै काम गर्ने अवसर पाए । खाइलाग्दो ज्यान देखेर होला अमेरीकन सेनाहरु उनको काम प्रति विश्वास राख्थे । कामसंगै अमेरिकन सेनासंगै जिम गर्थे हमाल । तीन वर्ष उनले उतै विताए र तीन महिनाका विदा लिएर नेपाल फर्किए ।

मिडवेर्ष्टन फिटनेस सेन्टरको जन्म
दुवैबाट नेपाल आइसकेपछि उनको शरिरीक बनावट पूर्ण फिट भएको थियो । काठमाडौंमै उनले केही गर्ने योजना बुने । परिवारका सल्लाहकारजस्तै साथी भुवन थापा र महेन्द्र शाहीसंग फिटनेस सेन्टर खेल्ने योजना हमालले सुनाए । साथीहरुबाट पनि हौसलाका वाणिहरु मुखरित भए । ‘कति विदेश धाउछस् ।

आफ्नै भूमिमा केही गर । बरु सक्दो सहयोग हामी गर्छौं’ साथीहरुले सुझाएको बाक्य पश्चिम नेपालकर्मीसंग हमालले भने, ‘काठमाडौंमै फिटनेस सेन्टर खोल्नुभन्दा हुर्किएको ठाउँ सुर्खेतमै खोल्ने निधो गरेर सुर्खेत फर्किए ।’ फिटनेसका लागि सामान खरिद गरेर हमालले वीरेन्द्रनगरको वीरेन्द्रचौक नजिकैको घरमा ‘मिडवेर्ष्टन फिटनेश सेन्टर’ सञ्चालनमा ल्याए ।

१ करोड १२ लाख लगानीमा खोलेको फिटनेस सेन्टर चिर्चित बन्न थालेको छ । दैनिक व्यस्त हुनेहरुका लागि विहान, दिउसो र साँझमा अनुकुलता अनुसार शारिरिक व्याम गर्ने थलो मिडवेर्ष्टन फिटनेश सेन्टर बनेको छ । सुर्खेतमा नीजिस्तरबाट फरकशैलीको व्यवासय गर्दा कतै चल्दैनकी भन्ने डर पनि थियो ।

तर हमालले जिन्दगीमा सिकीरहेको सिप र अनुभवलाई सुर्खेतमा स्थापित गर्नै पर्ने भएकाले पनि फिटनेस सेन्टर स्थापित गराएरै छाडे । दैनिक फिटनेसकै लागि १८० जना मिडवेर्ष्टन फिटनेसमा पुग्ने गरेका छन् । ‘व्यस्त हुनेका लागि एक डेढ घण्टा समय मिलाएर दैनिक व्याम गरे शरिर पनि स्वस्थ हुन्छ’ हमाल भन्छन्, ‘स्वस्थ जीवन जिउनकै लागि व्याम अनिवार्य छ । व्यामसंगै शारिरीक फिटनेसको थलोको रुपमा विकास गरिरहेको छु ।’

व्यवसायसंगै खेलाडी उत्पादन
वीरेन्द्रनगरमै फिटनेस सेन्टर स्थापना गरेको झण्डै दुई वर्ष पुगेको छ । यसैलाई अझै थप व्यवसायिक बनाउन ईत्राममा अत्याधुनिक (महिला र पुरुषका लागि छुट्टा छुट्टै तथा स्वीमिङ पुल, इन्डोर र व्याटमिन्टन) फिटनेस सेन्टर सञ्चालन गर्ने तयारीमा हमाल छन् ।

व्यवसायसंगै हमालले १५ औं धर्मश्री टुनामेन्टमा नविननाथ योगीले भाग लिइ सकेका छन् । आगामी असोजमा १९ र २० गते हुने सोही खेलमा सहभागी हुन् विष्णु विसीलाई प्रशिक्षण दिइरहेको हमाल बताउँछन् । शारिरीक फूर्ति, मानसिक रुपमा स्वस्थ र स्मार्ट देखिन जिम गर्नु अनिवार्य बनेको हमालको कथन छ ।

परिवारको साथ र समर्थकै कारण मिडवेर्ष्टन फिटनेसबाट पूर्ण सन्तुष्ट रहेको बताएका हमालले भने, ‘जिन्दगीको दौडाइमा अनेकौं संघर्ष गर्नुपर्छ । तर जिन्दगीले जहाँ पु¥याउन खोजेपनि लक्ष्यको बाटोमा विचलित नभए संघर्षले सार्थकता पाउँदो रहेछ ।’