☰ open Loading... 19 April 2024|  

बिरामीलार्इ सेवा दिने दुल्लु अस्पताल अाफै थलियाे
  | १५ भाद्र २०७५, शुक्रबार ०८:५३

दुल्लु (दैलेख) । दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । कहिले चिकित्सक नहुनु, कहिले अस्पतालमा औषधि नहुनु र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो ।

फायल तस्वीर

एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा बिरामी उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् ।

विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश पद अहिले पनि रिक्त छन् । दुई नगरपालिका र दुई गाउँपालिकालाई सेवा दिइरहेको अस्पतालमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन् । अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिश गर्नुपर्ने बाध्यता छ ।

अहिले उक्त अस्पतालमा कार्यरत डा लीला देवकोटा अध्ययन बिदामा काठमाडौँ जानु भएको र निमित्त प्रमुख डा लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा जानु भएको अस्पतालका अहेव खड्गबहादुर शाहीले बताए । अस्पतालमा चिकित्सक नहुँदा शव परीक्षणका लागि जिल्ला अस्पतालबाट चिकित्सक बोलाउनु परेको उनको भनाइ थियो ।

चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको सो अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुन्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मात्रिकाप्रसाद रिजालले चिकित्सकले विभिन्न बहाना बनाउँदै अस्पताल छाड्ने गरेकाले बिरामीको उपचारमा समस्या भएको बताए  । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नियमित चिकित्सक बस्ने वातावरण मिलाउन आफूले पहल गरिरहको बताए ।

अहेव शाहीले दुई चिकित्सक एक साताभित्र आइपुग्ने जानकारी आएको छ भन्दै चिकित्सकको अभाबमा पनि जेनतेन सेवा दिइरहेको बताए । अस्पतालमा सबै औषधि उपलब्ध भए पनि भिडियो एक्सरे गर्ने उपकरण पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

स्वास्थ्यखवर