☰ open Loading... 20 April 2024|  

लायन्सको दोस्रो क्याविनेट सुर्खेतमा हुने
  | १५ भाद्र २०७५, शुक्रबार १७:०४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु नेपालको दोस्रो क्याबिनेट बैठक हुने भएको छ । आगामी कात्तिक १० गते हुने क्याबिनेटमा स्वदेश तथा विदेशका गरी दुईहजार पाँचसय जना सहभागी हुनेछन् ।

‘हामी सेवा गर्छाैं’ भन्ने भावना भएका उद्योगी, ब्यापारी, राष्ट्रसेवक कर्मचारी, शिक्षक प्राध्यापक तथा बुद्धिजिविहरु सहभागी हुन लागेको मुल आयोजक समितिका सदस्य एवं रिजन चियर पर्सन हरिहर बस्नेतले जानकारी दिए ।

क्याबिनेट सञ्चालनका लागि ७० लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । आयतर्फ रजिस्टेशनबाट १५ लाख, विभिन्न मन्त्रालयबाट १० लाख, वीरेन्द्रनगर नगरपालिकाबाट ३ लाख, ६ नम्बर वडा कार्यालयबाट १ लाख तथा अन्य गरी ६ लाख रकम संकलन गरिनेछ बस्नेतले बताए ।

खर्चतर्फ खाना/खाजामा १५ लाख, स्टेज निर्माणमा ५ लाख, सचिवालय व्यवस्थापन २ लाख, पर्यटन १० लाख, छपाई÷ मायाको चिनो तथा विविध गरी ३ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

कर्णाली प्रदेशको पर्यटन, स्थानीय उत्पादनको बजारीकरण रितिरिवाज तथा संस्कृतिको आदान–प्रदान गर्न क्याबिनेट बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको पर्यटन ब्यवस्थापन उप– समितिका संयोजक तिलकराम अधिकारीले बताए ।

‘सिंगो कर्णाली प्रदेशलाई नेपाल तथा विश्वभर चिनाउन सहयोग पुग्नेछ,’ संयोजक अधिकारीले भने, ‘होटल व्यवसाय, पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा मानवीय सेवाको भावनालाई बढाउन क्याबिनेट बैठक कोशेढुंगा सावित हुनेछ ।’ सुर्खेतस्थित १५ वटा लायन्स क्लबको समन्वयमा क्याबिनेट स्थलमा कर्णालीका उत्पादनहरुको स्टलसमेत राखिने छ ।

क्याबिनेट बैठकको ब्यवस्थापन गर्न धनबहादुर रावतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने विभिन्न १९ वटा अन्य उप– समितिहरु बनाइएको छ ।