☰ open Loading... 19 April 2024|  

तरकारीले बजार नपाएपछि किसानहरु चिन्तित
  | १७ भाद्र २०७५, आईतवार ०६:५४

बुद्धिमान पुन
सल्यान । मौषमी तथा बेमौषमी ताजा तरकारीका लागी प्रख्यात जिल्ला सल्यान हो । तर पछिल्लो समय सल्यानको पश्चिमी क्षेत्रमा उत्पादित तरकारीले बजार नपाएपछि तरकारीखेती बाट नै जीवन निर्बाह गर्दै आएका किसानहरु चिन्तित बनेका छन् ।

किसानले उत्पादन गरेको तरकारीले बजार नपाउदा बन्गाड कुपिण्डे नगरपालिका ४ गर्चेका ३ वटा कृषक समुहमा आबद्ध किसानहरुले तरकारीखेती गर्न नै छोडेका छन् । यहाँका हिमालय ताजा तरकारी बीउ उत्पादन समुह, बन्गाडी कृषक समुह र सिस्ने कृषक समुहमा आबद्ध ८५ घरधुरी मध्ये अहिले आधा जतीले तरकारीखेती गर्न नै छोडेका छन् ।

हिमालय ताजा तरकारी बीउ उत्पादन समुहमा आबद्ध कृषक देबबहादुर राणाले यसक्षेत्रमा तरकारी धेरै उत्पादन हुने भएपनि बजार नपाउदा किसानहरुले तरकारीखेती गर्न नै छोडेको बताए ।

‘२०७० सालमा कृषक समुह गठन गरेर तरकारीखेतीको लागी हामीले शुरवात गरेका हौँ’— उनले भने । उनले आफुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि अहिले ३ रोपनी जग्गामा मात्रै तरकारी खेती गर्दै आएको बताए ।

‘हामीले उत्पादन गरेको तरकारीले बजार पाएन, पहिले ५÷६ रोपनी जग्गामा तरकारी खेती गर्दै आएको थिए, तर बजार नपाएपछि ३ रोपनी जग्गामा मात्रै तरकारी लगाउछु’— उनले भने ।

यहाँका किसानले टमाटर, आलु, बन्दा, काउली, बोडी, करेला लगाएतका तरकारी उत्पादन गर्छन् । किसानले उत्पादन गरेको तरकारी बिक्री नहुदा यहाँका धेरै किसानले तरकारी उत्पादन गर्न नै छोडेका छन् ।

अहिले यहाँका रमेश बुढा, देवबहादुर राणा लगाएतकाले तरकारीखेती गर्न नै छोडेका छन् । यहाँका किसानले बार्षिक ८० हजार देखी १ लाख सम्म तरकारी बिक्री गरेर नै आम्दानी गर्ने गरेका थिए ।

यहाँ उत्पादित तरकारी बिक्रीको लागी बजारसम्म लैजान कुनै निकायले सहयोग गरेमा तरकारी उत्पादन गर्न तर्फ लाग्ने किसानहरुको भनाई छ ।