☰ open Loading... 19 April 2024|  

चिकित्सकहरु अान्दाेलितहुँदा क्षेत्रीय अस्पतालकाे अाेपीडी सेवा बन्द
  | १७ भाद्र २०७५, आईतवार १५:५९

सुर्खेत । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघको आयोजनामा आइतबार ( आज ) सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा पनि ओपीडी सेवा बन्द गरिएको नेपाल चिकित्सक स‌ंघ सुर्खेतका अध्यक्ष डा‍‍. नवराज केसीले जानकारी दिए ।

अस्पतालमा संघको विज्ञप्ती टाँस गरेर ओपीडी सेवा दिन नसकिएको जनाइएको छ । जसका कारण उपचारको लागि आएका विरामीहरु प्रभावित बनेका छन् ।

आन्दोलनका कार्यक्रम अनुसार सोमबारदेखी स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम संघले तय गरेको केसीकाे भनार्इ छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिनाधरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छ्न ।