☰ open Loading... 29 March 2024|  

ह्याकरको सबैभन्दा ठूलो सेना कुन देशसँग छ ?
  | २४ भाद्र २०७५, आईतवार १९:३५

गत महिना अगष्टमा हरेक वर्षझैँ अमेरिकाको लस भेगासमा एक विशेष मेला लाग्यो । त्यो मेला ह्याकरहरुको थियो । जसमा साइबर विज्ञहरुदेखि लिएर बच्चासम्म, हरेक उमेरका मानिसहरुले आफ्नो ह्याकिंग क्षमता देखाए ।

लस भेगासमा हरेक वर्ष ह्याकरहरु भेला हुन्छन् । उनीहरुको रुचीको निगरानी गरी अमेरिकाका साइबर विज्ञहरुले यो बुझ्ने कोसिस गर्दछन् कि आखिर ह्याकरहरुको दिमागले कसरी काम गर्दछ र कसरी ठूलो अपरेसन चलाउँदछन् ।

रोचक त के भने जतिबेला अमेरिकाको लस भेगासमा ह्याकरहरुको मेला लागिरहेको थियो, त्यति नै बेला एक भारतीय बैंकमा साइबर हमला गरी ह्याकरहरुले झण्डै ३ करोड डलर बराबरको रकम चोरी गरेका थिए ।

विश्वमा हरेक समय सरकारी वेबसाइट देखि लिएर ठूला निजी कम्पनीहरु तथा आम मानिसहरुमाथि साइबर आक्रमणको खतरा मडारिइरहेको हुन्छ ।

कसरी चल्दछ ह्याकिङ्गको साम्राज्य ?

सन् १९९० को दशकमा सोभियत संघको विघठन पश्चात् रुसमा धेरै विज्ञहरु अचानक बेरोजगार बने ।

ती मध्ये धेरै इलेक्ट्रोनिक्स इन्जिनियर तथा गणितज्ञहरु थिए । गुजारा चलाउने कमाई गर्नका लागि उनीहरुले अन्ततः इन्टरनेटको दुनियामा धावा बोल्न सुरु गरे । त्यस समयमा साइबर सुरक्षाका विषयमा विश्वमा खासै संवेदनशीलता तथा जानकारी पनि थिएन ।

तिनै रुसी विज्ञहरुले ह्याकिङको साम्राज्य खडा गरे । उनीहरुले बैंक, वित्तिय संस्थाहरु, विभिन्न देशका सरकारी वेबसाइटलाई निसाना बनाउन सुरु गरे । उनीहरु आफ्नो क्षमताका कथाहरु अखबार तथा पत्रिकाहरुलाई बताउँदथे ।

रुसमा त्यस समय ह्याकरहरुले आफुलाई आफै हिरो ठान्दथे । त्यस समयमा रुसमा ह्याकर्स नामको पत्रिका पनि प्रकाशित हुन्थ्यो ।

रुसको जासूसी एजेन्सीलाई ती सबै ह्याकर्सको बारेमा जानकारी थियो ।

तर अनौठो त के भने ह्याकरहरुले गर्ने करतूतका सम्बन्धमा सरकारलाई कुनै आपत्ति हुँदैनथ्यो । किनकी सरकार आफैले ह्याकरहरुबाट फाइदा उठाउन चाहन्थ्यो ।

सन् २००७ मा रुसी ह्याकर्सले छिमेकी देश इस्टोनियामाथि ठूलो साइबर हमला गरे । ती ह्याकरहरुले इस्टोनियाका सयौँ वेबसाइट ह्याक गरी नियन्त्रणमा लिए । रुसी सरकारकै इशारामा उनीहरुले त्यसो गरेको बताइन्छ ।

अर्को वर्ष नै रुसी ह्याकरहरुले छिमेकी देश जर्जियाका कैयन् सरकारी वेबसाइटमा साइबर हमला गरी डाटा नष्ट गरिदिए ।

रुसका सरकारी ह्याकर

रुसी पत्रकार आन्द्रेइका अनुसार सन् २००८ मा जर्जियामा भएको साइबर हमला रुसका सरकारी ह्याकरहरुले गरेका थिए । ती रुसका जासूसी एजेन्सीका कर्मचारी थिए ।

रुसी सरकारलाई सित्तैमा काम गराउने फ्रिलान्स ह्याकरहरुसँग खासै विश्वास थिएन । त्यसैले सरकारले आफ्नै ह्याकर सेना तयार गर्ने सोँच्यो । सोही मुताविक ह्याकर सेनाले जर्जियामा आक्रमण गरेको थियो ।

अहिले रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ ।

अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ । रुसी ह्याकरहरुले ह्वाइट हाउसमै साइबर हमला गरे । नेटो तथा पश्चिमी देशका मिडिया नेटवर्कहरु पनि रुसी ह्याकरको निशानामा परे ।

रुसमा भएको साइबर हमलामा एक खास समूहको नाम धेरै चोटि आयो । त्यसको नाम हो फेन्सी बियर ।

समाचार अनुसार ह्याकरको यस समूहले रुसको सैन्य इन्टेलिजेन्स चलाउँदछ । सोही ग्रुपले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सफल भएको बताइन्छ ।

यी साइबर आक्रमणहरुबाट रुसले बताउन चाहन्छ कि ऊ विश्वको साइबर साम्राज्यको बादशाह हो ।

९० को दशकमा हलिउड फिल्म मेट्रिक्सबाट प्रभावित भएर जो रुसी साइबर इन्जिनियरहरुले ह्याकिङको साम्राज्य खडा गरेका थिए, तिनीहरु आज खुब फुलिरहेका छन् । आज धेरै ह्याकरहरु रुसको सरकारका लागि काम गर्दछन् ।

तर ह्याकिङको मामिलामा रुस मात्र एकलो छैन ।

इरानसँग पनि छ ह्याकर सेना

इरान पनि ह्याकिङको दुनियामा ठूलो खेलाडि हो । इरानजस्ता देशमा सोसल मिडिया सरकारका विरुद्ध आवाज उठाउने ससक्त प्लाटफर्मको रुपमा रहने गरेका छन् । आफ्नो विरुद्ध बोल्नेहरुको मुख बन्द गर्नका लागि सरकारले नै ह्याकरहरुको प्रयोग गरी सोसल मिडिया प्रयोगकर्तामाथि समेत आक्रमण गर्दछ ।

सन् २००९ मा जब इरानमा सरकार विरोधी प्रदर्शन तिव्र बनिरहेको थियो । त्यसबेला सरकारी ह्याकरहरुले धेरै सोसल मिडिया अकाउन्ट ह्याक गरी आन्दोलनको पछाडि को को मानिस छन् भन्ने कुरा पत्ता लगाउन सफल भए । त्यसबाट धेरै मानिसहरुलाई पक्राउ गरी सरकारले आन्दोलन निस्तेज पार्न सफल भयो ।

विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो ।

अमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा ।

जहाँ साइबर ह्याकिङ पूर्णरुपमा सरकारी छ

यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ साइबर ह्याकिङ सेना पूर्णरुपमा सरकारी छ । त्यो देश हो, उत्तर कोरिया ।

जासूसी एजेन्सी आरजिबी मातहत त्यहाँको ह्याकर सेना पनि रहेको छ । १३/१४ वर्षको उमेरदेखि नै बच्चाहरुलाई ह्याकरको तालीम दिइन्छ ।स्कुलबाटै प्रतिभाशाली विद्यार्थीहरुलाई छनोट गरी ह्याकर सेनामा भर्ती गराइन्छ ।

बीबीसी