☰ open Loading... 19 April 2024|  

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता
  | २८ भाद्र २०७५, बिहीबार १८:३६

काठमाडौं । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो ।

यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ ।

आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ ।

यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

आईफोन एस एक्स म्याक्स र एक्स एस

आइफोन एक्स एस म्याक्सको स्क्रिन डिस्प्ले ६.५ इन्चको छ । यसलाई सबैभन्दा ठूलो डिस्प्ले भएको फोन भनिएको छ ।

यसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । यो फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ । यो फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ ।

यसमा ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमता छ । आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ ।

आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता छ ।

आइओएस १२ सफ्ट्वेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दावी गरिएको छ ।

दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन एक्स एसको स्क्रिन डिस्प्ले भने ५.८ इन्चको छ । अरु फिचर्स भने एक्स एस म्याक्सको जस्तै छन् ।

यसको बजार मूल्य १०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।

होम बटन नभएको आइफोन एक्स आर

आईफोन एक्स आरमा ३२६ पीपीआई (रेटिना डिस्प्ले)युक्त ६.१ इन्चको स्क्रिन छ । यसमा वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामरा छ ।

६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज अप्सन भएको यो आइफोनमा एक्स एसमा फेस डिटेक्सनको सुविधा छ । यसमा पनि ए १२ बायोनिक चिप जडान गरिएको छ ।

यसको ब्याट्री अरु आइफोनको भन्दा बढी टिकाउ छ । व्याट्री लाइफ आइफोन एट प्लसभन्दा डेढ घण्टा बढी रहेको एप्पलले दाबी गरेको छ ।

डस्ट र लिक्विडबाट सुरक्षित रहेको यो आइफोनमा आइओएस १२ सफ्वेयर जडान गरिएको छ । यसमा होम बटन छैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर्स छ । यो निलो, गुलाबी, पहेँलो, सेतो, कालो र रातो रंगमा उपलब्ध छ ।

यसको बजार मूल्य ७४९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर मूल्य राखिएको छ ।