☰ open Loading... 19 April 2024|  

संगठन विस्तारमा जुट्याे राप्रपा प्रजातान्त्रिक
  | २९ भाद्र २०७५, शुक्रबार १७:०४

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संगठन विस्तारमा जुटेको छ । पार्टीको केन्द्रको निर्देशन अनुसार देशका प्रत्येक वडातहदेखि गाउँ/नगर हुँदै क्षेत्र र प्रदेशमा समेत पार्टीका कार्यकर्ताहरुलाई संगठित गर्दै विभिन्न कार्य समितिहरु गठन गर्ने र प्रशिक्षण दिने कार्यको शुरुवात गरेको हो ।

पार्टीको विधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मका कार्य समितिहरुमा हेरफेर, पुर्नगठन, जनजागरण अभियान चलाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा पार्टीका कर्णाली प्रदेश इञ्चार्ज दीपबहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्ला कार्य समितिको बैठक समेत शुक्रबार सम्पन्न भएको सहसंयोजक एवम् सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष कविराम पुरीले जानकारी दिए ।

हिन्दु राष्ट्र पुनर्स्थापनादेखि संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाका लागि सम्बृद्धवादको आवश्यकतालाई पूरा गर्ने कार्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अब जनताका घरदैलोमा पुग्ने अध्यक्ष पुरीले बताए ।

करिब एक वर्ष अगाडि भएका विभिन्न निर्वाचनमा विभिन्न कारणले पार्टीले हार व्यहोर्नु परेतापनि त्यसबाट नेता तथा कार्यकर्ता विचलित नभएको र अझ कटिबद्ध भएर संगठन विस्तारमा लागेकोमा बैठकमा आमन्त्रित दिपबहादुर शाहीले खुसी व्यक्त गरे ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य बसन्त कुमार थापाले बाह्य शक्तिका कारण एकिकृत भएको पार्टीमा फेरि फुटको सिर्जना गरेर कसैले स्वार्थपूर्ति गरे पनि अब फेरि पार्टी एकताको लागि जोड दिइने र राष्ट्रवादलाई बलियो बनाउने अभिभारा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को काँधमा आएकोले जनताले साथ दिनेमा विश्वास व्यक्त गरे ।

‘बिपीको सिद्धान्तबाट विचलित भएको काँग्रेस थला परिसकेकोले देशमा प्रजातान्त्रिक शक्तिको रुपमा जनताले विकल्प खोजेका छन् त्यो हामी पूरा गर्छौ’ उनले भने ।

कार्यक्रममा सुर्खेतका सबै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा पार्टीलाई स्थानीय तहमा व्यापक रुपमा संगठित गरेर लैजान उपस्थित नेता तथा कार्यकर्ताहरुले सुझाव प्रस्तुत गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सुर्खेतका नौ वटै स्थानीय तहमा संगठन विस्तारका लागि समितिहरु समेत गठन गरेको छ भने प्रदेश इन्चार्जको संयोजकत्वमा अनुगमन तथा व्यवस्थापन समिति समेत गठन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पछिल्लो समयमा प्रत्येक जिल्लाहरुमा संगठन विस्तार कार्यमा जुटेको छ । प्रत्येक प्रदेशहरुमा व्यापक जनसहभागीता सहितको कार्यक्रम गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ । बैठकले पार्टीका जिल्ला कार्य समितिका पूर्व उपाध्यक्ष प्रेम बहादुर थापाको निधन प्रति दुःख व्यक्त गर्दै राप्रपाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।