☰ open Loading... 25 April 2024|  

राउटे बालबालिकालाई कपडा र भत्ता वितरण
  | २९ भाद्र २०७५, शुक्रबार १७:४५

दैलेख । जिल्ला बाल कल्याण समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले राउटे समुदायका बालबालिका र उनीहरुका अभिभावकहरुलाई कपडा वितरण गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा अहिले राउटे समुदाय बस्तै आएको गुराँस गाउँपालिका–८ पाखापानीमा पुगेर सामाजिक सेवा केन्द्र (सोसेक)ले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट दिइएको हो ।


गुराँस गाउँपालिकाले शुक्रबार नै राउटे समुदायका १ सय ५३ जनालाई प्रति व्यक्ति २ हजारका दरले भदौ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

राउटे समुदायका बालबालिकाकालाई कपडा वितरण गरेपछि प्रमुख जिल्ला अधिकारी बासकोटाले राउटे समुदायको स्वास्थ्य अवस्था सुधार गर्दै आवश्यक सहयोग गरेर जंगली जीवनबाट सामान्य जीवनयापनमा फर्काउनुपर्ने बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले दुई महिना अघि मात्र राउटे समुदायलाई हरेक व्यक्तिको फोटो सहित परिचयपत्र दिएर उनीहरुको तथ्यांक व्यवस्थापनबाट राउटेहरुको जीवनस्तर सुधारको काम सुरु भएको प्रष्ट्याए ।

गुराँस गाउँपालिकाले नागरिक रहने गरी परिचयपत्र दिएको र उनीहरु जहाँ गए पनि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा दिने जनाएको छ ।