☰ open Loading... 16 April 2024|  

संविधान दिवसमा कर्णालीका मुख्यमन्त्री शाहीले यस्ताे दिए शुभकामना
  | ३ आश्विन २०७५, बुधबार ०८:४३

सुर्खेत । संविधान दिवसकाे अवसरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिएका छन् । जनताकाे बलिदानीबाट प्राप्त भएकाे संविधान कार्यान्वयनमा अाफूहरू कटिवद्ध रहेकाे बताएका छन् ।

कर्णाली प्रदेशमा रहेको प्रचुर प्राकृतिक श्रोत, कडा परिश्रम गर्न सक्ने जनता र नेतृत्वको तीव्र ईच्छा शक्तिको प्रयोगबाट हामीले छोटो अवधिमै कर्णाली प्रदेशको समृद्धि प्राप्त गर्न सकिने विश्वास लिएको मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे शुभकामना सन्देश

संविधान दिवश–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका वलीदानीपुर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त गरेको ऐतिहासीक दिनको सम्झनास्वरुप हरेक वर्ष असोज ३ लाई हामी सवै नेपालीले संविधान दिवसका रुपमा व्यापक हर्षउल्लासका साथ विविध कार्यक्रम गरि मनाउदै आएकोमा यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउदैछौं ।

यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सवैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु । स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनवाट स्थानीय तह र प्रदेश तहका सरकारको गठन नयाँ संविधान कार्यान्वयनका महत्वपूर्ण खुड्किला हुन ।

जनताको घर आँगनमा जनताको आफ्नै सरकार बनेको विद्यमान अवस्थामा संविधान बमोजिम आवश्यक कानुन निर्माण गरी जनताको अपेक्षा वमोजिम सार्वजनिक सेवा तथा विकास निर्माण कार्यलाई अगाडि वढाउनु अहिलेको प्रमुख दायित्व हो ।

यही दायित्व पूरा गर्न कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानुन निर्माण र योजना निर्माणको वर्ष घोषणा गरेर अगाडि बढिरहेको छ । यसका साथै संविधान प्रद्धत्त अधिकारको प्रयोग गर्दै तीव्र गतिमा आर्थिक, समाजिक तथा भौतिक विकास गरी समाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्नु हाम्रो महत्वपुर्ण अभिभारा हो ।

कर्णाली प्रदेशमा रहेको प्रचुर प्राकृतिक श्रोत, कडा परिश्रम गर्न सक्ने जनता र नेतृत्वको तीव्र ईच्छा शक्तिको प्रयोगबाट हामीले छोटो अवधिमै कर्णाली प्रदेशको समृद्धि प्राप्त गर्न सकिने विश्वास लिएको छु ।

अन्तमा, आजको दिनले राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकास सहित समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि वढने प्रेरणा पैदा गरोस भन्ने कामना गर्दछु ।