☰ open Loading... 29 March 2024|  

बन्दमा पनि देउती नागरिकका गाडी सञ्चालन
  | ४ आश्विन २०७५, बिहीबार १०:००

सुर्खेत । सवारी चालकहरुको बन्दका कारण सुर्खेतमा आंशिक प्रभाव परेको छ । तर सुर्खेतबाट छुट्ने छोटो दुरीका सवारी भने सञ्चालनमा छन् ।

देउती नागरिक यातायात प्रा.लि.ले भने गाडीहरु छुटाइरहेको अध्यक्ष कमल खड्का जुनीले जानकारी दिए । उनले प्रा.लि.मा बन्दको आधिकारीक पत्र नआएका कारण सुर्खेतदेखी दैलेख, बावियाचौर, कालिकोट लगायतका स्थानहरुमा गाडी छुटाइरहेको बताए । ‘हल्लै हाल्लामा बन्द गरिएको छ’ अध्यक्ष खड्काले भने, ‘यात्रुहरुलाई दिनुपर्ने नियमित सेवा हामीले दिइरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्ड बसपार्कमा प्रहरी परिचालन गरेको छ । बसपार्कमा गाडीका चावी थुत्न खोज्ने एक जना बन्दकर्तालाई नियन्त्रणमा लिएको वीरेन्द्रनगर नगर प्रहरीका सहायक प्रहरी निरक्षक तेजबहादुर खड्काले जानकारी दिए ।

उनले बसपार्कमा अहिले छिटफुट रुपमा गाडीहरु सञ्चालन भइरहेको बताए । बसपार्कमा बन्द गराउँदै हिड्नेलाई प्रहरीले लखेटेको उनको भनाई छ ।

नाका प्रहरी तैनाथ
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर भित्रने प्रमुख नाका सुब्बाकुना, बांगेशीमल र कपासेमा प्रहरी परिचालन गरेको छ । बन्द कर्ताले नाकामा गएर गाडीलाई अवरोध गर्न लागेको सूचनाको आधारमा प्रहरी पठाएको सुर्खेत प्रहरीको भनाई छ ।

यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउन प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

तर एसपी रजौरले आतंक मच्याएर जवरजस्ती बन्द गर्न खोज्नेलाई तत्काल प्रकाउ गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको बताए । सञ्चालनमा रहेका गाडीहरुलाई प्रहरीले सुरक्षा दिएरै गन्तव्यसम्म पु¥याउने उनले बताए ।