☰ open Loading... 17 June 2019|   सोमवार, असार २, २०७६

कर्णाली लोकसंस्कृति : पाँचै लेखकलाई मदन पुरस्कार

  |

सिद्धान्ततः पुरस्कार सानो र ठूलो हुँदैन । तर, नेपाली साहित्य क्षेत्रमा मदन पुरस्कारलाई महत्वका साथ लिइन्छ । मदन पुरस्कार गुठीले हरेक वर्ष एउटा पुस्तकलाई पुरस्कृत गर्दै आएको छ । यो क्रम करिब ६५ वर्षदेखि निरन्तर छ । स्व. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापित गरेको पुरस्कारको घोषणा १० असोज ०१२ मा भएको हो ।

०१३ मा पहिलो मदन पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’ पुस्तकले पाएकोे थियो । उनले ०१७ र ०२८ मा पनि मदन पुरस्कार पाए । हरेक वर्ष एक कृति पुरस्कृत हुने भए पनि ०२८ मा भने कर्णाली लोकसंस्कृतिमा आधारित भई पाँच खण्डमा लेखिएका ‘कर्णाली लोकसंस्कृति’ पुस्तकका लेखक जोशीसहित पाँचैजनाले मदन पुरस्कार पाएका थिए । यो कसरी सम्भव भयो ? पुस्तकका मुख्य अगुवा सत्यमोहन जोशीसँग नुनुता राईले गरेको कुराकानी :

प्रस्तावले हलचल ल्यायो
कर्णाली लोक संस्कृतिसम्बन्धी स्थलगत खोज अध्ययन गरेर महिनौँ लगाएर लेखिएको पुस्तक हो । त्यसवेला अर्थात्, ०२६ मा म नेपाल प्रज्ञा प्रतिष्ठानको सह–प्राज्ञमा मनोनीत भएको थिएँ । कुलपति हुनुहुन्थ्यो– केदारमान व्यथित । संस्कृतिबारे नयाँ काम गरौँ भन्ने सोचले प्राज्ञ, सह—प्राज्ञहरूसँग कुरा चलाइरहनुभएको थियो । कुलपतिले सबैलाई ‘तपाईं आफ्नो तर्फबाट कसरी गर्न सक्नुहुन्छ ?’ भनेर राय लिने क्रममा मैले ‘कर्णाली लोक संस्कृतिमा स्थलगत अध्ययन गरेर लेख तयार पार्छु’ भनेँ ।

मेरो प्रस्ताव सुनेपछि असम्भव ठानेर पटक–पटक फेरि सोच्न भनियो । तर, मैले ‘गरे यही विषयमा गर्ने, नभए अरू विषयमा नगर्ने’ भनेर अड्डी कसेँ । पाटनमा जन्मे पनि जागिरको सिलसिलामा गाउँ–गाउँमा काम गरेको अनुभव मसँग थियो । त्यही अनुभवका आधारमा गर्न सक्छु भन्ने आत्मविश्वास ममा थियो । केही समयपछि मेरो आत्मविश्वासलाई कदर गर्दै ‘गर्नुहोस्’ भनेपछि मैले केही साथीहरू जुटाएर गएँ ।

स्थलगत अध्ययन र अनुसन्धानपछि पुस्तक तयार भयो । त्यो पुस्तक लेख्नेवेला धेरैले ‘दुःख नगर्नुहोस् जोशीजी’ भनेका थिए । त्यो उनीहरूको मप्रतिको सहानुभूति थियो । कतिले हाँसोको रूपमा समेत लिए । सिन्जा उपत्यकामा गएर अध्ययन गर्न असम्भवप्रायः ठानिएकाले साथीहरूले त्यस्तो सुझाब दिए पनि मैले जसरी भए पनि काम गर्छु भनेको थिएँ ।

सिन्जा उपत्यकासम्म गएर लेख्न खोज्नु आफैँमा साहसिक र चुनौतीपूर्ण काम थियो । मेरो इच्छा सुनेपछि प्रतिष्ठानमा एक किसिमको हलचल भयो । धेरैजनाले ‘त्यस्तो विकटमा गएर अध्ययन गर्ने ?’ भनेर मेरो मजाक पनि उडाए । ‘त्यहाँ त नेपाल वायुसेवा निगमको जहाज पनि जाँदैन’सम्म भन्थे । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजसरी त्यो काम सम्भव भयो । त्यो प्रज्ञा प्रतिष्ठानको ऐतिहासिक कार्यमध्येको एक हो ।
साथीहरूको साथ
सिन्जा उपत्यका नेपाली भाषा, संस्कृतिको उद्गमस्थल हो । म पाटनमा जन्मिएको नेवारको छोरो, मेरो पहिलो भाषा नेवारी हो । दोस्रो भाषा राष्ट्रिय (देवनागरी) हो । मैले धेरै पछि मात्रै राष्ट्रिय (देवनागरी) भाषा बोल्न सिकेको हुँ । यसको व्युत्पत्तिस्थल कर्णाली अञ्चलको जुम्ला जिल्लास्थित ऐतिहासिक सिन्जा उपत्यकामा गएर त्यहाँको लोक जनजीवनबारे सर्वेक्षण गर्ने रुचि थियो । यहाँको बारेमा कता–कता सुनेको मात्रै थिएँ । मलाई त्यहीँ गएर अध्ययन गर्ने इच्छा थियो ।

मेरो इच्छा सुनेपछि ‘सक्दैन’ भन्ने नै धेरै थिए । कतिले त त्यहाँ नगएर यहीँ नै काव्य, उपन्यास लेख्न मलाई सुझाब दिए । तर, मलाई भाषाको व्युत्पत्ति थलो प्रत्यक्ष अनुभूत गर्नु थियो । त्यहाँका बासिन्दाको जनजीवनलाई सबैसामु ल्याउनु थियो । मेरो प्रस्ताव पास भएपछि पनि पुस्तक आउँछ भनेर कसैले सोचेका थिएनन् । पत्याएका थिएनन् । तर, अन्य साथीले मेरो आत्मबलमा साथ दिए र म सफल भएँ । जसको फलस्वरूप एकै वर्ष पाँचैजना मदन पुरस्कार पाउन सफल भयौँ ।

संयोगले भेटिएका सहकर्मी
त्यसवेला कन्या मन्दिरको हेडमास्टर डोरबहादुर विष्ट थिए । मलाई दाइ भन्थे र मकहाँ आइरहन्थे । विभिन्न विषयमा कुराकानी भइरहन्थ्यो । त्यसवेला एकजना थिए, हायमन ड्रफ नामका । हायमन बेलायती नागरिकता भएका तर जर्मनका बासिन्दा थिए । उनी बेलायतबाट काभ्रे क्षेत्रको जनजीवन अध्ययन गर्न आएका वेला दोभासेको रूपमा डोरबहादुर हिँडेका थिए ।

उनले नेपाल तथा बेलायतमा काम गरे । पछि उनी मानवशास्त्रीका रूपमा चर्चित भए । त्यही अनुभवले उनी दुर्गम क्षेत्रका बस्तीको अध्ययन गर्ने अफिसरका रूपमा सिंहदरबारमा काम गर्न थाले । उनैले मेरो काममा उचित सहकर्मी हुन सक्छ भन्दै बिहारीकृष्ण श्रेष्ठको नाम दिएका थिए । उनी अमेरिकाबाट कल्चरल एन्थ्रोपोलोजी पढेर आएका रहेछन् । डोरबहादुरले नै बिहारीकृष्ण गृह मन्त्रालयअन्र्तगत झापाको बिर्तामोडमा पञ्चायती प्रशिक्षण केन्द्रमा प्रशिक्षक भएर काम गरिरहेको र हाल काठमाडौं आएको बताए । म उनलाई खोज्दै पुगेँ । उनी मेरो प्रपोजल सुनेपछि काजमा आउन राजी भए ।

त्यसपछि विश्वविद्यालयको नेपाली विभागमा गएर मैले ‘सिन्जा खोलामा गएर लोकसंस्कृतिको सर्वेक्षण गर्न खोजेको छु, त्यसका लागि मुख्य कुरा भाषा हो, भाषाको उद्गमस्थलमा गएर स्थलगत काम गर्नका लागि एकजना भाषाविज्ञ काजमा पठाइदिनुहोस्’ भनेपछि उहाँहरूले हामीले गर्नुपर्ने काम तपाईंले गर्न लाग्नुभएछ भनेर खुसीसाथ प्रा.डा. चूडामणि बन्धुलाई पठाए ।

त्यसपछि योजना विभागमा गएँ । त्यहाँ गएर ‘तपाईंहरू पञ्चवर्षीय योजना बनाउनुहुन्छ, योजनामा भाषा पनि चाहिन्छ, भाषा नभए केही काम हुँदैन, विकासमा भाषाको पनि महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले मेरो यो कामका लागि भूगोलविद् दिनुप-यो’ भनेँ । उहाँहरूले विभागको शाखा अधिकृत स्थिरजंगबहादुर सिंहलाई पठाए । मसहित चारजनाको टोली बन्यो ।

पाँचौँ प्रदीप रिमाल, गीत, लोकगीत गाउने, निर्देशन गर्ने गर्थे । उनी कला क्षेत्रमा जे पनि गर्न सक्ने किसिमका थिए । एकेडेमीमा पनि आइरहन्थे । अस्थायी रूपमा एकेडेमीका काम गरिरहन्थे । उनलाई मैले मेरो योजनाबारे सुनाएँ र काजमा काम गर्न अनुरोध गरेँ । उनले खुसीसाथ मेरो प्रस्ताव स्विकारे ।

पाँचजनाको टोली भएपछि योजना, प्रश्नावली तयार गरेँ । जानुअघि सम्बन्धित विज्ञको सल्लाह–सुझाब संकलन गरेँ । उहाँहरूकै सहयोगमा पाँच दिन अभिमुखीकरण पनि गरेँ । त्यसवेला सोसियोलोजीमा एमए गरेर आएका तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष वसिम आलमजस्ता विज्ञहरूको सल्लाह–सुझाब संकलन गरेर चार सहकर्मीका साथ स्थलगत अध्ययनका लागि सिन्जा उपत्यका गएँ ।
६ महिनामा पुस्तक
हामी त्यहाँ बसेर करिब ३ महिना काम ग-यौँ । सबै साथीहरू मिहिनेती थिए । मेरो नेतृत्वमा भएकाले मलाई डर थियो । मन मिलेन अथवा स्वास्थ्यले साथ दिएन भने काम अपूरो हुन्छ भन्ने चिन्ता थियो । तर, त्यस्तो केही भएन । पाँचैजनाले आ–आफ्नो क्षेत्रको जानकारी, तथ्यांक, सूचना संकलन गरेर ल्यायौँ । मुख्य शीर्षक एकै र विषयगत शीर्षक छुट्टाछुट्टै राखेर खण्ड एक, खण्ड दुई गरेर पाँच पुस्तक तयार भए ।

कर्णाली लोक संस्कृति खण्ड एक ‘इतिहास’ लेखक सत्यमोहन जोशी, कर्णाली लोक संस्कृति खण्ड दुई ‘भौगोलिक दृष्टिकोण’ लेखक स्थिरजंगबहादुर सिंह, कर्णाली लोक संस्कृति खण्ड तीन ‘जनजीवन’ लेखक बिहारीकृष्ण श्रेष्ठ, कर्णाली लोक संस्कृति खण्ड चार ‘भाषा’ लेखक प्रा.डा. चूडामणि बन्धु, कर्णाली लोक संस्कृति खण्ड पाँच ‘साहित्य, संगीत, कला’ लेखक प्रदीप रिमाल । सिन्जा उपत्यकाबाट ल्याइएका जानकारी, तथ्यांक, सूचनालाई पुस्तकको रूप दिन ६ महिना लागेको थियो । पुस्तकको महत्वलाई बुझेर पाँचवटै पुस्तकलाई मदन पुरस्कार दिइएको थियो, जुन ऐतिहासिक कार्य थियो ।

बजारमा पाइँदैन
यो नेपाली राष्ट्रिय भाषा, संस्कृतिका लागि ऐतिहासिक पुस्तक हो । राष्ट्रिय भाषाको उद्गमस्थलमा गएर तयार पारिएको स्थलगत अध्ययनमा आधारित दस्ताबेज हो । अहिलेको पुस्ताले पनि राष्ट्रिय भाषाको व्युत्पत्ति, इतिहास, त्यहाँको भौगोलिक अवस्था, जनजीवन, त्यहाँको साहित्यक कलाबारे जानकारी राख्न यी पुस्तक पढ्न जरुरी छ । यो पुस्तक अहिले बजारमा पाइँदैन ।

पुरस्कारका लागि लेख्दिनँ
मैले आजसम्म कुनै पनि काम पुरस्कार पाउँछु भनेर गर्ने गरेको छैन । मेरो चाहना, मैैले गरेको कामले समाजलाई केही नयाँ दिन सकूँ, भावी पुस्ताका लागि दस्ताबेज बन्न सकोस् भन्ने हुन्छ । त्यहीअनुसार काम गर्दै आएको छु । आफूले सक्ने काम गर्नुपर्छ । यत्ति सम्झेर देश, समाजको हितका लागि काम गर्दाको आनन्दानुभूति अरूमा मिल्दैन । भोलि आउने पुस्ताले हाम्रो भाषा, संस्कार, समाजबारे ऐतिहासिक पुस्तकबाट ज्ञान लिन सकोस् भन्नका लागि तयार गरिएको दस्ताबेज पनि हो, यो । र, हामीले गरेको कामप्रति गर्व गरोस् । भाषा, संस्कार, समाज, भूगोल, साहित्यको उद्गमबारे खोजमूलक पुस्तक हो ‘कर्णाली लोक संस्कृति’ ।

पुरस्कारपछि पुस्तकको महत्व
पुरस्कार पाउनु गर्वको विषय हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउँदा लेखक तथा विषयलाई धेरै किसिमबाट न्याय हुन्छ । लेखकको कामको मूल्यांकन हुँदा लेखनमा हौसला बढ्छ नै । कतिपय पुस्तक पुरस्कार पाउनुअघि सीमित मानिसमा मात्रै परिचित भएको हुन्छ, जुन पढ्न चाहने पाठकसम्म पुगेको समेत हुँदैन । तर, कुनै पुरस्कारबाट पुरस्कृत भएसँगै पुस्तकको चर्चा चुलिएर जान्छ ।

कर्णाली लोक संस्कृतिका लागि एकैचोटि पाँचजनाले पुरस्कार नपाएको भए उतिसारो चर्चा हुँदैन थियो । अहिलेको पुस्ताले यो किताबका विषयमा जानकारी पाएको छैन । यो पुस्तक हरेककिसिमले ऐतिहासिक छ । सबैले पढ्नुपर्छ । तर, पुस्तक मसँग मात्रै छ । दोस्रो संस्करण छापिएनन् । स्राेत नयाँ पत्रिका दैनिक

प्रकाशित मितिः सोमवार, अशोज ८, २०७५     12:30:24 PM
error: Content is protected !!