☰ open Loading... 19 April 2024|  

कर्णालीमा राष्ट्रिय नाट्य महोत्सवको तयारी तिव्र
  | १४ आश्विन २०७५, आईतवार ११:५७

सुर्खेत । वीरेन्द्रनगरमा आगामी मंसिरको दोस्रो साता राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिने भएको छ । देशका सातवटा प्रदेशका चौध र सुर्खेतको थप एक नाट्य समूहले पाँच दिनमा आफ्नो प्रस्तुति दिने गरी तयारी शुरू भएको सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापाले जानकारी दिए ।

उनले कर्णाली प्रदेश खस भाषाको उद्गम स्थल हुनुका साथै वि.सं. १९९४ देखि नै रंगकर्मीको उद्गमस्थलको रूपमा स्थापना भएका कारण नाट्य महोत्सवको आयोजना गर्न लागिएको बताए ।

जीएम थापाका अनुसार कर्णाली सरकारले चालू आर्थिक वर्षलाई रारा कर्णाली पर्यटन वर्ष घोषणा गरेका कारण पनि उक्त अभियानलाई थप सफल पार्न सुर्खेतमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

हरेक दिन हामीले तीनवटा नाटक प्रदर्शन गर्ने योजना बनाएका छौं । महाप्रबन्धक थापाले भने, सुर्खेतका लागि एक थप नाटक प्रदर्शन गर्ने जिम्मा दिएका छौं । उनले सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई समेत टेवा पुग्ने गरी नाटक प्रदर्शन गरिने बताए ।

‘हामीले कूल लागतको आधा रकम बेहोर्ने भएका छौं,’ वीरेन्द्रनगरमा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, ‘अन्य खर्च स्थानीय सहआयोजकहरू, सरकारले बेहोर्ने गरी महोत्सवको आयोजना गरिएको हो । हामीले सुर्खेतमा पनि एक राम्रो नाटकघर बनाउने बारे सोच बनाइरहेका छौं ।’

आरंग नेपाल सह-आयोजक रहेको उक्त महोत्सवमा सामान्य टिकट शुल्क लिइने आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले जानकारी दिए ।

‘हामी रंगकर्मीहरूको एक मात्रै उद्देश्य सुर्खेतमा नाटक घर बनाउने रहेको छ,’ उनले भने, ‘यसका लागि हामीले सहयोग जुटाउने योजना बनाएका छौं र महोत्सवले राहत मिल्ने कुरामा हामी ढुक्क छौं ।’ पाँच दिनसम्म चल्ने उक्त महोत्सव जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको छ ।

‘अन्यत्र हामीलाई सहज रूपमा हल उपलब्ध हुन सकेनन्,’ अध्यक्ष गौतमले भने, यो वर्ष जिल्ला समन्वय समितिको हलमा महोत्सव आयोजना गर्ने तयारी गरेका छौं ।’

उनले सुर्खेतमा पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको बताउँदै सबै क्षेत्रबाट सकारात्मक सहयोग पाउने र महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।