☰ open Loading... 29 March 2024|  

दशैँ खर्च जुटाउन भन्दै राउटे प्रधानमन्त्री भेटन् काठमाडाैं लागे
  | २२ आश्विन २०७५, सोमबार १७:५४

सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन् ।

सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन् । दशैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए। ‘चाडपर्व नजिकै आइपुग्यो । के गर्ने? केही मार छैन, के खान्या, के लाउन्या ।’ उनले भने,‘मन्त्रीलाई भेटर मार (बली), पहेला, सेता नयाँ लुगा, कपडा दिनुपर्‍यो भन्छु ।’

आफुलाई जनताले पनि मन्त्रीसँग खाने र लाउने माग्न पठाएको बताए । अहिले जङ्गलमा काठ पाउन छोडेको भन्दै काठका भाडा पनि बनाउन नपाएको उनी बताउँछन् ।

‘पहिले जङ्गलमा रुखहरु हुन्थ्यो, अहिले काठ पनि पाउँदैन के गर्ने ? नत्र आफुलाई गुजारा गर्न हामीले आफै बनाएको भाडा पनि हुन्थ्यो।’ मुखिया शाहीले,‘खान्या, लाउन्यायै समस्या भयो । सरकारले नदिएर कसले दिने मन्त्रीलाई भेटर यही भन्छु।’