☰ open Loading... 25 April 2024|  

तीन जिल्ला हेर्नेगरी सुर्खेतमा स्वास्थ्य कार्यालय स्थापना
  | ७ कार्तिक २०७५, बुधबार १५:३७

सुर्खेत ।  कर्णाली प्रदेशका तीन जिल्ला हेर्नेगरी सुर्खेतमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित साविकको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको एक भवनमा स्थापना गरिएको स्वास्थ्य कार्यालयको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बुधबार उद्घाटन गरेका हुन् ।

उक्त कार्यालयले सुर्खेतसहित जाजरकोट र दैलेख जिल्ला हेर्ने छ । स्वास्थ्य कार्यालय उद्घाटनका क्रममा बोल्दै मन्त्री रावलले जनताको नैसर्गिक अधिकार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य कार्यालयले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘स्वास्थ्य शिक्षा जस्ता नागरिकका नैसर्गिक अधिकारप्रति हामी गम्भिर छौँ’ कार्यालय उद्घाटनपछि बोल्दै मन्त्री रावलले भने,‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले सहयोग पुग्ने छ ।’ मन्त्री रावलले कर्मचारीहरु स्थायी सरकारले भएको औँल्याउँदै प्रभावकारी सेवाका लागि तत्पर भएर लाग्न सुझाव दिए ।

कार्यालयले तीनवटै जिल्लाको आधारभूत स्वास्थ्य सेवा, प्राविधिक सहयोग र व्यवस्थापकीय काम हेर्ने कार्यालय प्रमुख धिरजंग शाहाले बताए । उनका अनुसार कार्यालयमा प्रशासकसहित १४ जनाको दरबन्दी छ ।

कर्णाली प्रदेशका दश जिल्लामा छ वटा स्वास्थ्य कार्यालय स्थापना हुनेछन् । यसअघि पश्चिम रुकुम र सल्यान हेर्नेगरी सल्यानमा, जुम्ला र कालिकोट हेर्नेगरी जुम्लामा कार्यालय स्थापना भैसकेको छ ।

डोल्पा, हुम्ला र मुगुमा हरेक जिल्लामा छुट्टा–छुटै कार्यालय स्थापना हुनुपर्नेमा स्थापना हुन बाँकी रहेको प्रदेश स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिए ।