☰ open Loading... 19 April 2024|  

बुद्ध सरोवर निमार्णार्थ सुर्खेतमा वृहत महोत्सव शुरु
  | ९ कार्तिक २०७५, शुक्रबार १८:५७

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानीवीरेन्द्रनगरको बुद्धपथमा बुद्ध सरोवर निमार्णार्थ महोत्सव शुरु भएको छ । नेपाल आदिवादी जनजाति महासंघ सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको खुलामञ्चमा शुक्रबारदेखि ‘कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव’ शुरु भएको हो ।

 महोत्सवको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री बुढाले पर्यटन क्षेत्रको विकासबाट नै कर्णालीको समृद्धि सम्भव रहेको बताए । ‘पर्यटक क्षेत्रको विकासबाट नै कर्णालीको विकास र समृद्धि सम्भव छ’ मन्त्री बुढाले भने ‘पर्यटन प्रवद्र्धनका लागि हुने महोत्सवले प्रदेशको समृद्धिलाई सहयोग पु¥याउनेमा प्रदेश सरकार विश्वास लिएको छ ।’

जातिय विभेद अन्त्य हुनुपर्ने बताएका बुढाले भने ‘यो कुनै जातविशेषको महोत्सव होइन् । अब जाजजाति र धर्मको कुरा नगर्न सबैमा अपिल गर्दछु ।’ नेपाल विभिन्न जातजाति र धर्मको साझा फूलबारी भएको बताउँदै हरेक समूदायले आ–आफ्नो जातिअनुसार धर्मसंस्कार मनाउन पाउनु पर्ने उल्लेख गरे । जनजाति एकताको प्रशंसा गर्दै उनले बुद्धसरोबर निर्माणका लागि आयोजना गरिएको महोत्सवको पूर्ण सहयोग मिल्ने बताए ।

‘नेपाल बुद्ध जन्मेको देश हो’ मन्त्री बुढाले भने ‘सुर्खेतमा बुद्धसरोबर बनाउनु आफैमा नेपाल र नेपालीको पहिचानको विषय हो ।’ जातजाति भन्दा पनि बुद्धजस्तै शान्तिको प्रतिक बन्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, दिनविन्दु श्रेष्ठ, ठम्मर विष्ट, राजु नेपाली, जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल लगायतले भनाई राखेका थिए ।

 

पछिल्लो समय लोप हुँदै गएको विभिन्न जातिका कला संस्कृतिको संरक्षण र सम्र्बधनमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

साविकको मध्यपश्चिम र हालको कर्णाली प्रदेशका आदिवासी जनजातिहरुको बाहुल्यता रहेको भन्दै महोत्सवमै आदिवासी जनजाती/सुन्दरी प्रतियोगिता समेत हुनेछ । प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने सुन्दरीहरुमध्ये उत्कृष्टलाई सम्मान र पुरस्कार समेत दिइने छ ।

प्रतियोगिताले जनजातिहरुको पहिचान, कला र संस्कृतिलाई जोगाउने सहयोग मिल्ने आयोजकले अपेक्षा गरेको छ । सहभागीहरुले जातिय भेषभुषामा उपस्थित हुनेपर्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर कोही कसैलाई स्वास्थ्य समस्या नओस भने दैनिक स्वास्थ्य परिक्षणदेखि एम्बुलेन्ससम्मको सुविधा रहने छ ।

तर यही १९ गतेसम्म हुने भनीको महोत्सव सुर्खेतका केही व्यापारीहरुले रोक्न खोजेपनि केही दिन छोट्याइएको छ । महोत्सवका आज रामजी खाण लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने प्रचार–प्रसार समितिका संयोजक मिल्न श्रेष्ठले जानकारी दिए ।

उद्घाटन सत्रको समापन गर्दै नेपाल आदिवाजी जनजाति जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष एवम् मेला आयोजक मूल समारोह समितिका अध्यक्ष पञ्चसिंह रोकाया (खाम्पा) ले अवरोधका कारण मञ्च व्यवस्थापन र स्टलहरुको व्यवस्थापनमा समस्या भएको बताए ।