☰ open Loading... 19 April 2024|  

टोल टोलमा पुगेर सचेतना जगाउँदै सुर्खेत प्रहरी
  | ११ मंसिर २०७५, मंगलवार १३:१९

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ग्रामिण क्षेत्रका नागरिकलाई समाज शान्ति सुरक्षा कायम गर्न अपनाउनु पर्ने रणनीतिका बारेमा सचेतना जगाउने कार्यलाई तिव्रता दिएको छ । समाजमा हुने सामाजिक विकृतीको अन्त्य गर्न प्रहरीले जिल्लाव्यापी रुपमा सचेतना कार्यक्रमलाई तिव्रता दिइएको हो ।


चालु आर्थिक वर्षको चार महिनामा प्रहरीले लगामदेखि घोरेटासम्मका विभिन्न टोल–टोलमा पुगेर सचेतनामुलक कार्यक्रम गरिसकेको छ । यो अभियान अझै जारी रहेन जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरे बताउँछन् ।

प्रहरीले यो अभियान अन्तरगत हालसम्म सुर्खेतका नौं वटै स्थानीय तहमा कार्यक्रम जारी राखेको छ । अहिलेसम्म जिल्लाका २५ स्थानमा एक हजार ८१ ओटा कार्यक्रम गरेको एसपी रजौरेको भनाई छ ।

उनले टोल टोलमा प्रहरी अभियान कार्यक्रमबाट जिल्लाका दुइहजार पाँचसय बढी नागरिकहरुलाई समाज हुने विभिन्न प्रकारका अपराधका विषयमा शिक्षा दिएको उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा मातहत प्रहरी कार्यालयहरुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दैनिक जसो कार्यक्रम गर्दै आएको छ ।

समाजमा घट्ने बिभिन्न प्रकारका अपराधहरुमा बाल बिबाह, बहु बिबाह, घरेलु हिंसा, महिला हिंसा, जबरजस्तीकरणी, मानब बेचबिखन तथा ओसारपसार तथा मदिरा उत्पादन तथा बिक्रिबितरण बिरुद्ध नागरिकहरुमा प्रहरीले सचेतना फैलाउने काम गरेको एसपी रजौरेको कथन छ ।

‘जिल्ला प्रहरी कार्यालय मातहतका २८ ओटा प्रहरी चौकीले नागरिकलाई सचेतना जगाउने कामलाई जारी नै राखेका छन्’ एसपी रजौरेले थपे, ‘कम्तीमा नागरिकहरुलाई समाजमा हुने अपराधका बारेमा बेलैमा सजकता अपनाउन भविष्यमा त्यस्ता घटनाहरु न्युनिकरण गर्न सहज हो भन्ने हाम्रो लक्ष्य हो ।’

यो अभियानले जिल्लामा विष्फोटक प्रदार्थ ओसार पसारमा रोक लगाउने, लागु औषधलाई निरुत्साहित गर्ने, साईबर अपराध तथा सवारी दुर्घटना रोक्नमा टेवा पुग्ने प्रहरीको विश्वास छ ।

‘कतिपय नागरिकहरु अझै पनि प्रहरी भनेपछि डराउनुहुन्छ’ एसपी रजौरे भन्छन्, ‘प्रहरी र नागरिकहरुविचको सम्वन्धलाई नङ मासुजस्तै बनाउनमा समेत यस्ता अभियानले सहयोग पुग्ने भएकाले हामीले सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिइरहेका छौं ।’

समाज हुने हरेक घटनाको पहिलो सूचक नागरिक भएकाले त्यस्ता सूचना संकलन गर्नमा यो अभियानले सहयोग पुग्नेमा एसपी रजौरेको विश्वास छ । प्रहरीले थालेको यो अभियानले स्थानीय नागरिकहरु समेत उत्साहित भएर सहभागी हुने गरेको लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले जानकारी दिए ।

प्रहरीसंग स्थानीय तहले समेत हातेमालो गर्दै शान्त र अपराधरहित समाज निर्माणमा समन्वय गरिरहेको उनको भनाई छ । प्रहरीले प्रदेश राजधानीमा बढ्दो सवारी चापका कारण हुनसक्ने सवारी दुर्घटना रोक्न सवारी चालक र मालिकहरुलाई समेत सचेतना जगाइरहेको छ ।

सडक सुरक्षा अन्तगर सवारी चालकहरुलाई ओभरटेक र सवारी क्रस गर्दा इन्डिकेटर तथा लाइट सम्बन्धी जानकारी दिँदै आएको एसपी रजौरेले जानकारी दिए ।

सवारी दुर्घटना न्युनिकरण गर्न राजमार्गमा चेकिङ्गलाई तिव्रता दिएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, तोकिएको भाडाभन्दा बढी लिन नदिने, मादक पदार्थ सेवन गरी सवारी चालउने र ट्राफिक नियम उलघंन गर्नेलाई कारवाही समेत गर्दै आएको सुर्खेत प्रहरीको भनाई छ ।