☰ open Loading... 19 April 2024|  

संचारकर्मीहरु पेशाप्रति मर्यादित र जनउत्तरदायी हुनुपर्छ : कानुन मन्त्री भण्डारी
  | १४ मंसिर २०७५, शुक्रबार १८:४६

सुर्खेत । कर्णाली प्रदेश राजधानीमा रहेको संचारमाध्यम र संचारकर्मीहरु पेशाप्रति मर्यादित र जनउत्तरदायी हुनुपर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । पत्रकार महासंघ सुर्खेतको समन्वयमा प्रेस काउन्सिल नेपालले शुक्रवार सुर्खेतमा गरेको पत्रकार आचारसंहिता तथा मिडियाप्रतिको जनगुनासो कार्यक्रममा मन्त्री भण्डारीले नागरिकले गुनासो गर्ने खालको पत्रकारिता नभएको दावी गर्दै कहीं कतै भएका नकारात्मक प्रवृत्ति पनि हटाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रदेश सरकारले पत्रकार स्वास्थ्य वीमा कार्यक्रम लागू गर्ने तयारी गरेको, आमसंचार प्रतिष्ठानको गठन, लामो समय योग्दान पु¥याउने पत्रकारलाई सम्मानलगायतका कामहरु गर्न लागेको भण्डारीले जानकारी दिए ।

कार्यक्रममा काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले काउन्सिलमा उजुरी कम पर्नुले कर्णाली प्रदेशमा आचारसंहिताको पालना राम्रो रहेको देखिएको बताए ।

उनले आचारसंहिताको पालनाबाट संचार माध्यमहरुको विश्वसनीयता बढ्ने हुँदा त्यसतर्फ सजग रहन सुझाव दिए । काउन्सिलका अर्का सदस्य ईश्वरी ओझाले प्रदेश सरकारलाई मिडियामैत्री कानुन बनाउन जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी प्रमुख एसपी बसन्त रजौरे, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले मिडिया जनउत्तरदायी हुनुपर्ने सुझाव दिदैं आचारसंहिता पालना गरेर कलम चलाउने सुझाव दिएका थिए ।

सो अवसरमा प्रेस काउन्सिल नेपालमा गत आर्थिक बर्षदेखि चालु आवको कात्तिकसम्म १४५ वटा उजुरी परेको जनाइएको थियो । कर्णाली प्रदेशबाट ३ वटा उजुरी परेको र त्यो पनि फछ्र्यौट गरिसकेकेको जानकारी काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले दिएका थिए ।

यसैविच, प्रेस काउन्सील नेपालको टोली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा काउन्सीलका वोर्ड सदस्य खिलवहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमहरुको अवस्था, पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था र प्रेस काउन्सीलको प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको छ ।


भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडिया तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका थिए ।

स्वतन्त्र मिडियाको विकासले मात्रै लोकतान्त्रिक पद्धति संस्थागत हुने वताउदै प्रेस स्वतन्त्रताको प्रत्याभुति र मिडियाको सर्वाङ्गीन विकासको लागि आवश्यक नीति तथा कार्यक्रम वनाएर अगाडि बढने जानकारी दिए ।

मुख्यमन्त्री शाहीले पत्रकारको क्षमता विकास र पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थालाई सुदृढ गर्न प्रदेश सरकारले आवश्यक वजेट विनियोजन गरेको पनि बताए ।