☰ open Loading... 20 April 2024|  

वीरेन्द्रनगरका एनालग टेलिभिजन बन्द
  | ८ पुष २०७५, आईतवार १४:५३

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएका एनालग टेलिभिजन सरकारले बन्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले सुर्खेतमा सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगरेको बन्दै सेवाप्रदायकलाई अनुगमन गरी बन्द गरेको हो ।


वीरेन्द्रनगरमा रहेका सिद्धार्थ र डिजिट केवल नेटवर्कले प्रशारण गरिरहेको सबै च्यानलहरु शनिवारदेखी बन्द गराएको सूचना तथा सञ्चार मन्त्रालयका योजना शाखाका शाखा अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । उनले सरकारको नीति अनुसार नै वीरेन्द्रनगरमा रहेका एनालग प्रविधिका दुई केबलका च्यानल बन्द गरेको बताए ।

‘पहिला नै हामीले पत्र पठाएर जानकारी गराइसकेका थियौं’ आचार्यले भने, ‘लामो समयसम्म सुर्खेतका केवल प्रदायकलाई समय दिएका थियौं । उहाँहरु अझै पनि डिजिटल प्रविधिमा नगएको देखिएपछि एनालग प्रविधि बन्द गरेका हौं ।’ मुचुल्का उठाएर एनालग प्रविधि बन्द गरिएकाले नियमको उल्घंन गरे कानूनी कारवाही थाल्ने उनले चेतावनी दिए ।

‘एनागल प्रविधि अब सूचारु हुँदैन् । तत्काल उहाँहरुले सेटअप बक्समार्फत सेवा दिनुपर्छ ’ आचार्यले थपे, ‘सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि स्तरोन्नतीमा ध्यान दिएर सेवा उपभोग गर्न आग्रह गर्दछु ।’

सञ्चार मन्त्रालयले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि स्तरोन्नती नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइरहेको छ ।

‘निर्धारित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराएकोह हो’ उनले भने, ‘अब अनुगमन टोलीले सेवा बन्द गराउँदा किन बन्द गरियो भन्ने प्रश्न कुनै सेवा प्रदायकले गर्न पाउनेछैन ।’ मन्त्रालयको टोलीले छिन्चुमा रहेको केबलको प्रशारण समेत बन्द गर्ने तयारी थालेको छ ।

यता, सिद्धार्थ केबल नेटवर्कका प्रवन्धक निर्देशक ललित गाहाले प्रविधि डिजिटल प्रविधिमा गएकाले सेटअप बक्स बाड्ने काम शुरु गरिएको जानकारी दिए । ‘प्राविधिक काम भएकाले तयारी गर्न नै समय लाग्यो’ गाहाले भने, ‘अब आफ्ना ग्राहकहरुलाई सेटअप बक्स वितरण शुरु गर्न थालेका छौं ।’

उनले एनालगबाट रूपान्तरण भएर डिजिटलमा जाँदा तत्काल केही च्यानलहरू अवरुद्ध हुने जानकारी दिए ।

उनले नयाँ प्रविधि भएकाले ग्राहकहरुलाई सिकाउँदै सेटअप बक्स जोड्नु पर्ने बाध्यता रहेको बताए । डिजिट केवल नेटवर्कका सञ्चालक दिलिप सिंह ठकुरीले भने सेटअप बक्स वितरण शुरु गरेको जानकारी दिए ।

‘हालसम्म हामीले एकहजार पाँचसय सेटअप बक्स बाडिसकेका छौं’ ठकुरीले भने, ‘केही प्राविधिक समस्याले ढिलाई भएकाले अब सेटअप बक्स वितरणलाई तिव्रता दिन्छौं ।’ डिजिटले दैनिक ५० ओटा सेटअप बक्स वितरण गर्दै आएको छ ।

के हो एनालग ?

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा गुर्नपर्ने बाध्यता आएको हो ।

नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो ।

सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरूलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ । ‘एनालग भन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटी आउँछ । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजश्व पनि पाएको छैन ।

एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ ।

एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेटअप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भएपनि सेटअप बक्सका कारण ग्राहकलाई आर्थिक भार भने पर्नेछ ।

एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ ।

यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतले समेत एनालग प्रविधि हटाइसकेका छन् ।

नेपालमा अहिले डिस मिडिया नेटवर्कको डिसहोम, सुविसु केवल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभीलगायतले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् ।