☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

संघले संकलन गरेकाे राहत सामाग्री हस्तान्तरण

  |

सुर्खेत पौष १६ । कालीकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा संकलन गरेको राहत सामाग्री आइतबार हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष धनबहादुर रावतसहितको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १ लाख २० हजार रुपैयाँको चेक तथा करिव ३ लाख रुपैयाँ बराबरको जिन्सी सामानहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले सिंगो कर्णाली प्रदेशको आर्थिक समृद्धिसंग संगै आपतविद्मा पनि निजी र सरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सम्भावित प्राकृति प्रकोप तथा अन्य भबितब्यका लागि प्रदेश सरकारले दरिलो कोष बनाउने योजना बनाएको जानकारी दिंदै उहाँले त्यसमा निजी क्षेत्रले मन खोलेर सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

निजी क्षेत्र बलियो भए मात्र, प्रदेश र सिंगो देश बलियो हुने उल्लेख गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रलाई बलियो बनाउन कुनै कसर बाँकी नराखिने प्रतिवद्धतापनि जनाए ।

निजी क्षेत्र धराशायी भई देश नै धराशायी हुने बताउँदै उहाँले निजी क्षेत्रलाई डण्डा लगाएर तर्साउने नभई परिपूरकका रुपमा हातेमालो र सहकार्य गर्दै समृद्धिको गन्तब्यमा पुग्नुपर्नेमा जोडदिए ।

थोरैपनि अभाव, कमी र असहयोग प्रदेश सरकारबाट हुँदैन, मुख्यमन्त्री शाहीले भने, ‘निजी क्षेत्रको आवश्यक्ता पहिचान गर्नुहोस् प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

अभाव र कठिनाईको पर्याय बनेको कर्णाली प्रदेशमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी दुबै गहन रहेको औंल्याउँदै उहाँले विगतका तिक्तता र कुविचार त्यागेर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले प्राकृति प्रकोप तथा अन्य भबितब्यमा परेकाहरुको राहतका लागि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै संघले अलगै कोष सञ्चालन गरेको उल्लेख गरे ।

व्यवसायीहरु नाफामुखी मात्र हुँदैनन, सेवामुखी र परोपकारी हुन्छन् । अध्यक्ष रावतको भनाई छ, ‘व्यवसायीले आफ्नो मुनाफाको निश्चित रकम समाजसेवा र परोपकारमा पनि लगाई रहेका छन ।’

प्रदेशको आर्थिक समृद्धिका लागि उद्योग व्यवसाय मैत्री नीति नियम बनाउनुपर्ने, प्रदेशस्तरको औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउनुपर्ने, सुर्खेत नेपालगञ्ज सडक दुई लेनको बनाउनुपर्नेमा अध्यक्ष रावतले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

नीतिगत तथा भौतिक पूर्वाधार एवं संरचनाहरु प्रदेश सरकारले बनाए राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि संघले हरसम्भव प्रयास गर्ने उनको भनाई छ ।

यस्तै, संघका महासचिव लक्ष्मण कंडेलले विकासको भोक निजी क्षेत्रलाई पनि उत्तिकै रहेको भन्दै त्यसको नेतृत्व गर्न मुख्यमन्त्री शाहीलाई आग्रह गरे ।

हामीपनि प्रदेशको समृद्धिका लागि आतुर छौं, उहाँले भन्नुभयो, त्यसका लागि प्रदेश सरकारसंग सहकार्य गर्न निजी क्षेर सदैव कटिवद्ध रहेको छ ।

प्रकाशित मितिः सोमवार, पुस १६, २०७५     6:06:18 PM
error: Content is protected !!