☰ open Loading... 18 April 2024|  

बाँके र बर्दिया कर्णालीमा गाभ्न सुर्खेतलाई नेतृत्व गर्न आग्रह
  | ६ माघ २०७५, आईतवार १८:००

सुशील खड्का
सुर्खेत । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सुर्खेतका व्यापारीहरुलाई अगुवाई गर्न बाँकेका व्यापारीहरुले आग्रह गरेका छन् । अध्ययन अवलोकनका लागि भारत हिडेको सुर्खेत उद्योग बाणिज्य संघलाई नेपालगञ्जमा स्वागत गर्दै बाँकेको व्यापारीहरुले यस्तो आग्रह गरेका हुन् ।


बाँके उद्योग बाणिज्य संघले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नुनदेखी चामल र रोटी–बेटीको सम्बन्ध रहेको बाँके र बर्दियालाई कर्णालीमा गाभ्नु पर्ने बताए ।

‘संघीयताका कारण ठूलो क्षती बाँके र बर्दियालाई भएको छ’ श्रेष्ठले भने, ‘अब कर्णालीमा गाभ्नका लागि सुर्खेत उद्योग बाणिज्य संघले यसको अगुवाई गर्नुपर्ने बेला आएको छ । यतिबेला कर्णालीलाई बाँके–बर्दिया र बाँके–बर्दियालाई कर्णालीको जरुरी छ ।’

पुर्खादेखीको सम्बन्ध रहेको राप्ती, कर्णाली र भेरीलाई संघीयताले विचल्लीमा परेको श्रेष्ठको भनाई छ । ‘पहिलेदेखी नै बाँके र बर्दिया कर्णालीबाट अलग हुनुहुँदैन भन्ने हाम्रो तर्क थियो’ श्रेष्ठले थपे, ‘विषम परिस्थितिमा उक्त मुद्दालाई निष्कर्षमा पु¥याउन सकेनौं । अहिले अधिकाँशको धारणा कर्णालीमा गाभ्नु पर्ने रहेकाले सुर्खेतलाई यसको नेतृत्व गर्न आग्रह गर्दछु ।’

बाँके र बर्दियको सम्बन्ध वर्षौदेखी रहेकाले अझैपनि एकै प्रदेशमा जानु पर्नेपर्छ भन्ने धारणा आफूहरुको रहेकोा बाँके उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

उनले अहिले कर्णालीमा गाभ्ने विषय सतहमा आएकाले यसको अगुवाई सुर्खेतलाई गर्न आग्रह गरे । ‘व्यापारिकदेखी धार्मिक सम्बन्ध नै कर्णालीसंग वर्षौदेखी जोडिएको हो’ वैश्यले भने, ‘अझै पनि हामी कर्णालीमा समाहित हुन बलिदान दिन तयार छौं । अब बाँके र बर्दियालाई कर्णालीसंग जोडर उत्तरदेखी दक्षिणसम्मका नाका जोड्न जरुरी छ ।’

संघिय संरचनाबाट हामी ठगिएको बताएका उनले कर्णालीविना बाँके–बर्दिया र बाँके–बर्दियाविना कर्णालको समृद्धि नहुने भएकाले दबावमुलक अभियान जरुरी रहेको उल्लेख गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका वरिष्ठ सल्लाहकार ईश्वर पोखरेलले अहिले कर्णालीसंग अलग रहेर बाँके बर्दियाको व्यवसाय अघि बढ्न नसक्ने बताए ।

सरकारी उद्योगलाई धरासाही बनाएको सरकारले अन्तत औद्योगिक नगरी बाँकेका नीजि उद्योगलाई समेत तहसनहश पार्ने योजनामा लागेको उनले दुखेसो पोखे ।

उदेश्य प्राप्तीका लागि अभियान जारी राख्नु पर्ने भन्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बाँकेका व्यापारीहरुको साथ र समर्थन रहे नेतृत्व लिन आफूहरु तयार रहेको बताए ।

‘प्रदेश प्राप्तीमा पनि सुर्खेतबासीले ज्यानै दिएको सबैलाई थाहै छ’ रावतले भने, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्न आफूहरुले बहस र पैरवी जारी राखेकाले साथ र समर्थनमा एक भएर लाग्न आवश्यक छ ।’

प्रदेशकाे पाँचकाे राजधानी दाङ वा नेपालगञ्ज हुने संकेत देखिएपछि पछिल्लाे पटक बाँके र बर्दियालार्इ कर्णालीमा गाभ्न बाँकेका व्यापारीहरूले अभियान नै सञ्चालन गरिरकेका छन् ।

अध्ययन अवलोकन भ्रमणका भारत हिडेको सुर्खेत उद्योग बाणिज्य संघको टोलीले तीन वर्षे कार्ययोजना बनाएर फर्किने महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । संघलाई व्ययभार पर्ने भएकाले पदाधिकारीहरुले व्यक्तिगत खर्च उठाएर अवलोकन भ्रमणमा निस्केको पनि बताए ।