☰ open Loading... 18 April 2024|  

मुख्यमन्त्री कप भलिबलकाे उपाधि रुकमपश्चिम र कालिकोटले जित्याे
  | ५ फाल्गुन २०७५, आईतवार १८:२३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री कप भलिवल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालीकोटले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालिकोटले उपाधि जितेका हुन् ।


पुरुषतर्फ भएको फाइनल खेलमा रुकुमपश्चिमले सल्यानलाई ३ शून्यले हराउँदै एक लाख रुपैयाँ नगद र टर्फी जितेको छ । रुकुमले सल्यानसंग समूह चरणमा भोगेको हारको बदलालिँदै उपाधि जित्यो । पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६,२५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचाल्यो ।

उपविजेता बनेको सल्यानले ७५ हजारमामा चित्त बुझायो । घरेलु टोली सुर्खेत भने ५० हजार पाउदै तेस्रो बन्यो । समुह चरणको खेलबाट लगातार जित हातपार्दै शिर्षस्थानमा रहँदै आएको सल्यान फाईनलमा हार भोगेको हो । शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यानले अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिरियो ।

यस्तै महिलातर्फ कालीकोटले रुकुम पश्चिमलाई ३–० ले हराउँदै उपाधिसंगै एकलाख रुपैयाँ हात पारेको छ । उपविजेता रुकुमपश्चिमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ रुकुमपश्चिमका डायण्ड खड्का र महिलातर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान ३ हजार ७ सय रुपैया पुरस्कार जितेका छन् ।

प्रतियोगिताका लागि कर्णालीका दश जिल्लाबाट खेलाडीहरु सहभागी भएका थिए । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

समापन कार्यक्रममा पुगेका कर्णालीका आर्थिक मामिला तथा योजाना मन्त्री प्रकाश ज्वालाले कर्णालीको खेलकुदको विकासका लागि खेलुकुदमा लगानी गर्नमा सरकार कटिवद्ध रहेको बताए ।

सीमित स्रोत र साधनका बिच पनि कर्णालीमा खेलकुद अब्बल रहेको भन्दै उनले खेलमैदानको विस्तार गर्नमा सरकारले लगानी गर्ने जानकारी दिए । सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अब भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताए ।

‘आफहुरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेकाले आगामी आर्थिक बर्षदेखी अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगिता संञ्चालन गर्ने तयारीमा सरकार लागेको छ’ मन्त्री रावलले भने ।