☰ open Loading... 20 April 2024|  

केपिएल टी–२० को दोस्रो संस्करण बैशाखमा
  | १९ फाल्गुन २०७५, आईतवार २१:२३

सुर्खेत । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि केपीएल क्रिकेट प्रतियोगिता हुने भएको हो ।

खासै क्रिकेटका गतिविधिहरु नहुने कर्णाली प्रदेशमा बन्धु विकास बहुउद्देश्यी केपीएलको पहिलो संस्करण गतवर्ष आयोजना गरेको थियो । सोही आयोजनालाई निरन्तरता दिदै टी–२० राष्ट्रिय टुर्नामेन्ट प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने भएको हो । कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेट च्याम्पियन बनाउने र यस प्रदेशबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सिजन–२ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जीवन शाहीले बताए ।

‘आफ्नै खेल मैदानसहित कर्णाली क्रिकेट एकेडेमीको स्थापना र कर्णाली प्रिमियर लिगलाई संस्थागत गरि लैजानु मुख्य उद्देश्य हो’ उनले भने,‘कर्णाली प्रदेशका १० वटै जिल्लामा निकट भविश्यमै एकेडेमी विस्तार गर्नुछ ।’ सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा आयोजना हुने यस प्रतियोगितामा देशका प्रतिष्ठत आठ वटा क्लवहरु सहभागी हुनेछन् । राष्ट्रिय स्तरका ख्यातिप्राप्त गरिसकेका खेलाडीहरुको सहभागितामा हुने यो प्रतियोगिता अहलिेसम्मकै सर्वाधिक धनराशीको हुने उनले उल्लेख गरे ।

‘प्रतियोगिता सञ्चालनको तयारीमा टिम जुटेको छ’ उनले भने,‘पुरस्कार राशी कति दिने भन्नेबारेमा छलफल हुन बाँकी छ, तर हिजोका दिनहरुमा भन्दा यस पटक बढी हुन्छ।’ केपीएल संस्करण–२ प्रतियोगिता सञ्चालनका लागि करिव ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

१० दिनसम्म सञ्चालन हुने खेलमा २ जनासम्म विदेशी खेलाडी सम्म सहभागि गराउन सकिने छ । प्रतियोगिता आयोजनाका लागि जिल्ला क्रिकेट संघ सुर्खेतले प्राविधिक सहयोग गर्ने भएको छ भने, जिल्ला खेलकुद विकास समिति, सुर्खेत, प्रदेश खेलकुद परिषद् कर्णालीले सहयोग गर्ने बताइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि खर्च जुटाउन कठिनाइ भएको आयोजकले जनाएको छ । खेल क्षेत्रमा सरकारले प्रयाप्त लगानी गर्न नसक्दा समस्या भएको खेलाडीहरुले गुनासो गरेका छन् ।