☰ open Loading... 24 June 2019|   सोमवार, असार ९, २०७६

भेरी–बबई बहुउद्देश्यीय आयोजनाकाे सुरुङ चैत्र मसान्तमै सकिने

  |

सुशील खंड्का
सुर्खेत । देशका ठुला आयोजनाहरु अलपत्र परिरहेको अवस्थामा राष्टिूय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण एक वर्ष अगावै सम्पन्न गर्न लागिएको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ले यहीँ महिनाभित्रै सुरुङ ‘ब्रेक थु्र’ गर्न लागेको हो ।


२०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले तोकिएको समय अवधि भन्दा एक वर्ष पहिले नै सुरुङ खन्ने काम सक्दै छ । काम सुरु गरेको ३४ महिनामा १२ हजार २१० मिटर सुरुङमध्य आयोजनाले ११ हजार ९ सय ४४ मिटर सुरुङ खनिसकेको छ । बाँकी २ सय ६६ मिटर सुरुङ चैत मसान्तभित्र सक्ने आयोजनाका निर्देशक सञ्जिव बरालले जानकारी दिए ।

२०७३ कात्तिकदेखि टिबिएम मेसीनले काम सुरु गरेको आयोजनाको टनेल निर्माणको जिम्मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड कोभेकले लिएको छ । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना निर्माण सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड रुपियाँ खर्च लाग्ने भएको छ । आयोजनाको टनेल निर्माणका लागि हालसम्म सात अर्ब रुपैयाँ खर्च भैसकेको निर्देशक बरालको भनाई छ । २०२० भित्रमा आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउने बरालको दावी छ । आयोजनाको गुरुयोजना अनुसार भेरीको पानी बबईमा खसाल्न् सुर्खेतको चिप्लेमा एक सय १४ मिटर लामो १४ मिटर अग्लो ६ गेजसहितको ब्यारेज निमार्ण समेत गर्नेछ ।

राष्टिूय गौरवको आयोजना सम्झौता अगावै सम्पन्न हुने भएपछि कर्णाली प्रदेश सरकारले विकासको ढोका खुल्ने बताउँदै आएको छ । भौगोलिक विकटता रहेको कर्णाली प्रदेशमा विकास निर्माणका ठुला आयोजनाहरु निर्माण गर्न नेपालमै पहिलो पटक भित्रिएको टिविएम मेसिन कर्णालीको अन्य विकासका आयोजनाहरु निमार्ण गर्न प्रयोगमा ल्याईने समेत जनाएको छ । आयोजना समय अगावै सम्पन्न हुने अवस्थाले कर्णाली प्रदेश सरकारलाई चुनौति र अवसर दुबै थपिएको कर्णाली प्रदेशका भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसी बताउँछिन् ।

आयोजनामा सुरुङ निर्माणका लागि करिब सात सय जना नेपाली र ८० जना चिनियाँ कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् । आयोजनाको वाकी नौ सय मिटर सुरुङ निर्माणको कामसंगै टनेल एक्जिटका लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण समेत सम्पन्न गरिसकेको छ । टनेल निर्माणको काम सम्पन्न भएपछिको तीन महिना फिनिसिङसँगै विद्युतगृह ,पावरहाउस ,बाँध र ड्यामको निर्माणको कामलाई तीव्रता दिने आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १३, २०७५     4:50:41 PM
error: Content is protected !!