☰ open Loading... 25 April 2024|  

बैतडीमा असिनापानीले बालीनालीमा क्षति
  | ९ बैशाख २०७६, सोमबार १२:१६

बैतडी : आइतबार दिउँसो परेको असिनाले बैतडीका विभिन्न स्थानमा गहुँबाली,तरकारीबाली र फलफूल खेतिमा क्षति पुर्‍याएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकाका विभिन्न स्थानमा असिनाले क्षति पुर्‍याएको किसानले बताएका छन् । लगातार एक डेढ घण्टा परेको असिनाले पाक्नै लागेको गहुँबाली नष्ट गरेको किसानले बताए।

असिनाले खेतमा लगाएको गहुँबाली नष्ट गरेको दशरथचन्द नगरपालिका १ का किसान देवदत्त भट्टले बताए। उनले भने, ‘यो वर्ष समयसमयमा हिउँदे वर्षा भएकाले बालीनाली सप्रेको थियो। तर, असिनाले सबै सखाप पारेको छ।अलिअलि केही दिन अघि परेको असिनाले बाली नष्ट गरेको थियो भने आइतबार परेको असिनाले पुरै सखाप पारेको छ।’

असिनाले रुखका बोक्रा समेत निकालेको दशरथचन्द नगरपालिका-१ का किसान कृष्णदत्त भट्टले बताए। उनले भने, ‘तरकारीका बेर्नाहरु पूर्णरुपमा नष्ट भएका छन्।फर्सी, काक्रो, लौका,घिरौलालगायतका तरकारीका बिरुवा हुर्कनै लागेका बेला परेको असिनाले सबै सखाप पारेको छ। यसले हामी तरकारी खेतिमा लागेका किसानलाई ठूलो क्षति पुर्‍याएको छ।’
किसान देवदत्त भट्टले हिउँदे फलफूलका बेर्ना छरेका थिए। भर्खर बोट उर्मन लागेका थिए। तर आइतबारको असिनाले सबै सखाप पारेपछि उनी चिन्तित बनेका छन्।रोजीरोटी नै फलफूल नर्सरी भएको तर असिनाले सबै बेर्ना नष्ट गरेपछि आउँदो वर्ष फलफूलका बिरुवा नै नहुने भएका छन्।’

दशरथचन्द नगरपालिका- १ गुरुखोलाका १८ वटा निजी नर्सरी किसानले राखेको बेर्ना असिनाले नष्ट गरेको किसान वीरबहादुर टेरले बताए।यस्तै पाटन नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली,फलफूल र तरकारी खेतीमा व्यापक क्षति पुर्याएको स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए।

आँपका दानाहरु पुरै असिनाले सखाप पारेको छ। गहुँ र तरकारीमा पनि व्यापक क्षति पुर्‍याएको छ।’आइतबार पानीसँगै असिना आएपछि सवारी साधन केही समय प्रभावित भए।